६ दशकको विरासत

६ दशकको विरासत

ललितपुर : व्यावसायिक रूपमा कपडा उत्पादन गर्न यहाँ तान भित्रिएको ६ दशक नाघ्यो । यसैले त हजुरबाले सुरु गरेको व्यवसायको विरासतलाई अहिले नाति पुस्ताले निरन्तरता दिइरहेको छ । उपत्यकामा व्यावसायिक कपडाको उत्पादन लुभु (ललितपुर)बाट सुरु भएको हो, तर लुभुबाट सिकेको थैव सिकाउने गुरुभन्दा अघि छ । थैवको उद्योगमा प्रयोग भएको आधुनिक प्रविधि लुभुका उद्योगमा सायदै प्रयोगमा आएका छन् । हाते तान (लुम)बाट कपडा उत्पादन थालेको थैव स्वचालित हुँदै अहिले दु्रत गतिको ‘वाटर जेट मेसिन'को प्रयोगसम्म पुगेको छ । उद्योगमा प्रयोग हुने मेसिन भारत, चीन, जापान, इटालीलगायत देशबाट आयात भएका छन् । यहाँ घण्टामा १० मिटरसम्म कपडा उत्पादन गर्न सक्ने मझौला क्षमताका मेसिनको बाहुल्य छ । लुभु अन्तर्राष्ट्रिय बजारमा चिनिएको छ, थैव घरेलु आवश्यकताको सर्टिङ-सुटिङ उत्पादनमै रमाएको छ ।

 

नवप्रभात टेक्सटायलका सञ्चालक प्रभाकर प्रधानको अनुमानमा देशमा खपत हुने सर्टिङ-सुटिङमा ३० प्रतिशतजति बजार अंश घरेलु उत्पादनको छ । ‘यसमा एकतिहाइ त थैवले आपूर्ति गर्छ होला', उनी भन्छन् । थैवमा भएका उद्योग पूरा क्षमतामा चले महिनामा नौ लाख मिटर कपडा उत्पादन हुन्छ । तर धेरैजसो उद्योग पूरा क्षमतामा चलेका छैनन् । यसैले महिनामा दुई लाख मिटरजति मात्र उत्पादन भइरहेको छ । उपत्यकामा स्कुल÷कलेजका थुप्रै विद्यार्थीको ड्रेस थैवकै हो भनेर अनुमान लगाउँदा धेरैको हकमा मिल्न सक्छ ।

हाते तथा साना उद्योगको त कुरा छोडौं, थैवमा अहिले दर्ता भएका उद्योग नै ७८ वटा छन् । सञ्चालनचाहिँ ३० वटाको हाराहारीमा छन् । आयातित र देशकै कपडा उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा कतिपय बन्द भए । सञ्चालनमा रहेका उद्योग पनि पूरा क्षमतामा चलेका छैनन् । अहिले चौबीसै घण्टा चल्ने उद्योग दुई-तीनवटामात्र छन् । ‘स्थानीय उद्योगलाई सरकारको संरक्षण छैन', उनी थप्छन्, ‘चीन र भारतका सस्ता उत्पादनसँग प्रतिस्पर्धा गरेर टिक्न गाह्रै छ ।' एक त विदेशमा कपडाको उत्पादन लागत कता हो कता सस्तो छ, ती उत्पादन न्यून बीजकीकरण र भन्सार छलेर भित्रिएपछि प्रतिस्पर्धा गर्न थप गाह्रो भएको हो । ‘यहाँका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय उत्पादनजस्तो भएन', उनी थप्छन्, ‘तर टिक्नै गाह्रो भएपछि गुणस्तर बढाउन पनि त सकिन्न नि ।' स्थानीय उत्पादन विदेशमा समेत रुचाइएर निर्यात पनि भएको छ । तर त्यस्ता उत्पादनले घरेलु बजार लिन सकेका छैनन् । सस्तै छ भने पनि नेपाली भनेपछि नाक खुम्च्याउने प्रवृत्ति उपभोक्तामा छ ।


हाते तान (लुम)बाट कपडा उत्पादन थालेको थैव स्वचालित हुँदै अहिले दु्रत गतिको ‘वाटर जेट मेसिन'को प्रयोगसम्म पुगेको छ । उद्योगमा प्रयोग हुने मेसिन भारत, चीन, जापान, इटालीलगायत देशबाट आयात भएका छन् ।

महँगो मोलमा आयातित कपडा किनेर ढुक्क हुने मानसिकता आम उपभोक्तामा छ । भूकम्प र त्यसपछि सुरु भएको नाकाबन्दीले पनि थैवका उद्योगलाई शिथिल पारेको व्यवसायीको भनाइ छ । प्रधानका अनुसार भूकम्पअघि जतिसुकै उत्पादन गरेर थुपारे पनि सिजनमा बेचेर सकिन्थ्यो, अहिले त्यस्तो अवस्था रहेन । जस्तो, प्रधानले भूकम्पअघि महिनामा ५ देखि ६ लाख मिटर कपडा उत्पादन गर्थे, अहिले दुई लाख मिटरमा खुम्चिएका छन् ।

उद्योगमा ८० वटा मेसिन छन्, चलेका २० वटा छन् । कामदार ३० जनाबाट कटौती गरी २० मा झारिएको छ । रेडिमेड लुगाका आकर्षणले पनि थैवलाई मर्का परेको छ । कपडा किनेर सिलाउन दिने चलन खुम्चिँदै छ, सुटजस्तो सीमित पोसाकमा मात्र उपभोक्ता यस्तो झन्झट बेहोर्न चाहन्छन् । अहिले मान्छेसँग समय छैन, तुरुन्तै किनेर लगाउन छाडेर कसले पर्खिने ? ‘म आफै सर्टिङ-सुटिङका कपडा उत्पादन गर्छु । तर मैले लगाउने घेरैजसो कपडा रेडिमेड नै छन्, अरूलाई के भन्नु ? ', लाखे सुनाउँछन् । उनका अनुसार थैवमा उत्पादन हुने कपडाको थान काठमाडौंको इन्द्रचोकमा रहेका थोक बिक्रेतासम्म पुग्ने हो, यसको अन्तर्राष्ट्रिय बजार छैन । इन्द्रचोकमा रहेका थोक बिक्रेतामार्फत यहाँको उत्पादन देशभरि पुग्छ ।

न्यू एरा टेक्सटाइल उद्योगका सञ्चालक शंकरसन लाखेका अनुसार पस्मिना चलेको बेला टेक्सटायल उद्योग गज्जबले चलेका थिए । तर कुनै जानकारी नभएकाले पनि लुम राखेर पस्मिना उत्पादन गर्न थाले । यस्तो प्रवृत्तिले बजार बिगार्‍यो, नेपाली उत्पादनको गुणस्तरमा प्रश्न खडा भयो । यसैले बजार बिस्तारै खस्कियो । आठ वर्ष भयो, कपडाको मूल्य बढेको छैन, बरु घटेको छ । उत्पादन लागत बढेको बढ्यै छ । अहिले पनि ७० रुपैयाँ मिटरमा सर्टिङ र एक सय ७० रुपैयाँमा सुटिङका कपडा बिक्री भइरहेको लाखे बताउँछन् । तीन वर्षअघिसम्म लाखे उद्योगबाट मासिक ९० हजार मिटर कपडा उत्पादन हुन्थ्यो । त्यो पनि शनिबारलाई छाडेर । अहिले घटेर ४० हजार मिटर उत्पादन भएको छैन ।

अब स्थानीय टेक्सटायल र धागो उद्योगको विकास गर्न निजीक्षेत्र आफै तात्न लागेको र यसमा सरकारी सहयोग अपरिहार्य भएको धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान बताउँछन् । उनका अनुसार यसका लागि उपभोक्ताको ध्यान घरेलु उत्पादनतिर तान्न ब्रान्डिङको अभियान सञ्चालन गरिनेछ । स्थानीय उत्पादन मूल्यअनुसार गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन प्रयास गरिनेछ । यसका साथै थैवजस्ता प्रशस्त टेक्सटायल उद्योग भएको ठाउँमा त्यही उत्पादनका लागि विशेष क्षेत्र मानेर प्रचारप्रसार गरिनेछ । ‘उत्पादनका साथै ठाउँको ब्रान्डिङ गर्ने योजना छ । सरकारले त्यसैअनुसारको नीति निर्माणका साथै निजीक्षेत्रसँग हातेमालो गरी ब्रान्डिङमा सघाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.