रसुवागढी जलविद्युत् आयोजनाको काम ४० प्रतिशत पूरा

रसुवागढी जलविद्युत् आयोजनाको काम ४० प्रतिशत पूरा

त्रिशूली: रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत पुरा भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे तथा थुमनको सिमानामा 'रन अफ रिभर' प्रकृतिको १११ मेगावाट क्षमताको सो आयोजनाको डयाम साइडमा बाँध, भूमिगत पानी थिग्राउने पोखरीको निर्माण, भूमिगत विद्युतगृह निर्माण र मुख्य सुरुङमार्गको काम एकै साथ भइरहेको हो।

 

आयोजना प्रमुख छवि गैरेले अधिकांश संरचना भूमिगत रहेको सो आयोजनाको सिभिलतर्फको निर्माण चिनियाँ ठेकेदार कम्पनी 'चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन' ले गरिरहेको बताए।

हालसम्म आयोजनाको निर्माण ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको गैरेले बताए।गत २०७० माघदेखि सुरु भएको निर्माण कार्य भूकम्प र नाकाबन्दीका कारण सोही समयमा स्थगित भएको थियो।

रसुवागढी जलविद्युत् कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरण संस्थापक सेयरधनी रहेका छन्।आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको उनले बताए।

भोटेकोसी नदीमा रसुवागढीभन्दा चार सय मिटर तल बाँध बाँधेर ४ हजार २ सय मिटर लामो मुख्य सुरुङ तथा ३ सय १३ मिटर लामो 'पेनस्टक पाइप' बाट ३ वटा टर्वाइनमार्फत १११ मेगावाट विद्युत् उत्पादन हुनेछ।

सन् २०१९ को अन्तिममा तीनवटै टर्वाइनबाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख गैरेको भनाई छ। भूकम्प र नाकाबन्दीको चपेटामा परे पनि आयोजनाको लागत भने नबढ्ने उनले दाबी गरे। 'समग्रमा आयोजनाको भौतिक प्रगति सन्तोषजनक छ,' प्रमुख गैरेले भने। त्यस्तै आयोजना स्थलमा पहिरो गएपछि सुरक्षाको कारण देखाउँदै गत वर्ष साउनमा ठेकेदार कम्पनी काम छोडेर हिँडेको थियो।

रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी प्रमुख माधव कोइरालाका अनुसार चिनियाँ कम्पनीसँग वार्ता र छलफलपछि उनीहरू काममा फर्केका छन्। उनले भने, 'अहिले निर्माण कार्यले तीव्रता पाएको छ।'
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीहरूले निर्माण सुरु गरेका आयोजनाहरूमध्ये रसुवागढी जलविद्युत् आयोजना सबैभन्दा ठूलो हो।

चिलिमेले रसुवागढी १११ मेगावाट, सन्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४ दशमलव ८ मेगावाट र मध्य भोटेकोसी १०२ मेगावाटमा लगानी गरेको छ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत लगानी छ । उक्त आयोजनामा रसुवावासीको १०, कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९, ऋणदाता संस्थाका कर्मचारीको १, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३ दशमलव ५ र सर्वसाधरणको १५ प्रतिशत लगानी रहनेछ।

रसुवागढी जलविद्युत् आयोजनाबाट वार्षिक ६१३ दशमलव ८७ गेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सबा करोड आम्दानी हुने जनाइएको छ।

दु्रत गतिमा अगाडि बढिरहेको आयोजना स्थलमा ट्राफिक जामले समस्या सिर्जना भएको छ। ट्राफिक समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत राजनीतिक दलहरूसँग पहल भइरहेको प्रमुख गैरेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.