बार्सिलोनाको जितमा ड्युलोफु बने नायक

बार्सिलोनाको जितमा ड्युलोफु बने नायक

बार्सिलोना : जेरार्ड ड्युलोफुले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा जित हात पारेको छ । बार्सिलोनाले तेस्रो डिभिजनको टोली मुर्सियालाई ३-० गोलले हरायो । जितसँगै बार्सिलोनाले प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । दोस्रो लेग खेल बार्सिलोनाको मैदानमा हुनेछ ।

मुर्सियाविरुद्धको खेलमा बार्सिलोना लियोनल मेसी, आन्द्रेस इनिएस्टा, लुइस स्वारेज लगायतका स्टार खेलाडीबिना नै मैदानमा उत्रिएको थियो । ड्युलोफुले पहिलो गोलका लागि उत्कृष्ट अवसर सिर्जना गर्दै एकल प्रयासमा अर्को गोल पनि गरेपछि बार्सिलोनाको सहज जित सम्भव भएको थियो । बार्सिलोनालाई ४४औं मिनेटमा पाको अल्कासरले पहिलो गोल गरे । उनले ड्युलोफुको क्रसमा हेडिङ गोल गरेका थिए । यो सिजन स्ट्राइकर अल्कासरले गरेको पहिलो गोल हो।

 

चार वर्षपछि फेरि बार्सिलोनामा आबद्ध भएका ड्युलोफुले ५२औं मिनेटमा एकल प्रयासमा अर्को गोल थपे । उनले विपक्षीका तीनजना डिफेन्डरलाई छक्याउँदै गोल गरेका थिए । ५६औं मिनेटमा रिजर्भ टोलीका स्ट्राइकर जोसे आर्नाइजले आफ्नो ‘डेब्यु’ खेलमै गोल गरेपछि बार्सिलोनाको जित ३-० ले पक्का बनेको थियो । बार्सिलोनाका प्रशिक्षक अर्नेन्टो भालभर्डीले युवा स्ट्राइकर आर्नाइजको प्रशंसासमेत गरे । ‘उनी केही गर्नसक्ने क्षमताका खेलाडी हुन् । डेब्यु खेलमै गोल पनि गरेका छन् । उनले भविष्यमा अझ राम्रो प्रदर्शन गर्नेछन्’, प्रशिक्षक भालभर्डीले भने ।

अर्को खेलमा सेभिलले पनि जित हात पारेको छ । सेभिलले तेस्रो डिभिजनकै क्लब कार्ताजेनालाई ३-० गोलले पराजित गर्‍यो । जितसँगै पछिल्लो तीन खेलको पराजयको शृंखलालाई तोडेको सेभिलले प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

सेभिल यसअघि स्पेनिस ला लिगामा भ्यालेन्सियासँग ४-०, एथलेटिक बिल्बाओसँग १-० र च्याम्पियन्समा स्पार्टक मस्कोसँग ५-१ गोलले पराजित भएको थियो । अन्य खेलमा भ्यालेन्सिया र डेपोर्टिभो आल्भेसले पनि जित हात पारे । मालागा भने दोस्रो डिभिजनको टोली न्युमान्सियासँग २-१ गोलले पराजित भयो । भ्यालेन्सियाले रियल जारागोजालाई २-० र डेपोर्टिभो ला कोरुनाले गेटाफेलाई १-० गोलले पराजित गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.