राखेप च्याम्पियनसिप पूर्वनिर्धारित मितिमा नहुने

राखेप च्याम्पियनसिप पूर्वनिर्धारित मितिमा नहुने

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलोपटक आफ्नै नाममा आयोजना गर्न लागेको ‘राखेप च्याम्पियनसिप’ पूर्वनिर्धारित मितिमा नहुने भएको छ । च्याम्पियनसिपको पर्याप्त गृहकार्य नभएकाले कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको च्याम्पियनसिप केही समय पर सार्न लागिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए ।

सदस्यसचिव विष्टले च्याम्पियनसिपमा समावेश गरिएका खेलका संघ र विभिन्न उपसमितिले तदारूकताका साथ काम गर्न नसकेका कारण च्याम्पियनसिपको मिति पर धकेलिएको बताए । ‘च्याम्पियनसिप पूर्वनिर्धारित समयमै आयोजना गर्न सम्बन्धित खेल संघले पर्याप्त चासो दिएनन् । प्रतियोगितालाई व्यवस्थित र सफलतापूवर्क सम्पन्न गर्न गठन गरिएका उपसमितिहरू पनि क्रियाशील नहुँदा आन्तरिक तयारी राम्रो भएन । त्यसैले च्याम्पियनसिप केही समय पर सार्न लागिएको हो’, सदस्यसचिव विष्टले भने ।

 

च्याम्पियनसिपमा दुई हजार पाँच सयजना खेलाडी सहभागी हुने भनिए पनि सम्बन्धित संघको सुस्तता र उपेक्षाका कारण खेलाडी संख्या र पदकको टुंगो लगाउन नसकिएको उनले बताए । ‘संघहरूले कुन–कुन विधामा खेल सञ्चालन गर्ने, कति खेलाडीले प्रतिस्पर्धा गर्ने र पदक संख्या कति हुने भन्ने कोटा अझै निर्धारण गर्न सकेका छैनन् । संघहरूले कोटा निर्धारण गर्न नसक्दा पदकको संख्या पनि टुंगो लाग्न सकेको छैन । सोही कारणले पदक बनाउन पनि सकेका छैनौं’, विष्टले भने ।

प्रतियोगिता सञ्चालनका लागि गत असोज २१ गते सदस्यसचिव विष्टको अध्यक्षतामा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो । समितिको बैठकले कात्तिक १५ गतेदेखि च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राखेपले विभिन्न सातवटा उपसमिति पनि गठन गरेको थियो । च्याम्पियनसिपको मस्कटका रूपमा मयुरलाई प्रयोग गर्ने निर्णयसमेत गरिएको थियो ।

च्याम्पियनसिप वार्षिक कार्यक्रममा परिसकेको भए पनि चौथो चौमासिकमा मात्रै बजेट स्वीकृत भएकाले कात्तिक महिनामा गर्न समस्या परेको सदस्यसचिव विष्टले बताए । ‘च्याम्पियनसिप अबदेखि हरेक वर्ष आयोजना हुन्छ तर, यो वर्ष प्रतियोगिताको बजेट चौथो चौमासिकमा मात्रै स्वीकृत भएको छ । त्यसैले पनि प्रतियोगिता केही समय पर सार्न लागिएको हो’, उनले भने ‘परिषद्को आन्तरिक तयारी र सम्बन्धित संघले पनि खेलाडी संख्या र कोटा निर्धारण नगरिसकेकाले १०÷१२ दिनपछि मात्र च्याम्पियनसिप आयोजना हुनेछ ।’

सदस्यसचिव विष्टले आगामी वर्षदेखि कार्यविधि र निर्देशिका बनाएर प्रतियोगिता बृहत् रूपमा आयोजना गरिने पनि बताए । उनले च्याम्पियनसिपको नयाँ मिति शुक्रबार बस्ने बैठकले टुंगो लगाउने बताए । उनले पहिले १५ दिनभित्र प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने प्रावधान राखिए पनि अब दुई महिनाको म्याद तोकिने जानकारी पनि दिए ।

राखेपको अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले भने च्याम्पियनसिपको मिति पहिले कहिले घोषणा गरियो र अहिले किन पर सार्न लागिएको हो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘च्याम्पियनसिप वार्षिक कार्यक्रममा परे पनि त्यसको टुंगो बोर्ड बैठकले बनाउनुपर्ने हो तर, च्याम्पियनसिपको विषयमा अहिलेसम्म बोर्ड बैठक पनि बसेको छैन र मन्त्रालयसँग सल्लाह पनि भएको छैन’, मन्त्री केसीले भने ।

अर्को वर्ष इन्डोनेसियाको जकार्तामा हुने १८औं एसियाली खेलकुद (एसियाड) लाई ध्यानमा राखी च्याम्पियनसिपमा विभिन्न २७ वटा खेल समावेश गर्ने निर्णय गरिएको थियो । च्याम्पियनसिपमा गल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो खो, बक्सिङ, स्क्वास, उसु, टेबुलटेनिस, ह्यान्डबल, फुटबल, भलिबल, कराँते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की र फेन्सिङ खेल समावेश गर्ने निर्णय गरिएको थियो ।

‘आगामी नौ महिनापछि इन्डोनेसियामा आयोजना हुने एसियाडमा खेलाडी सहभागी गराउन च्याम्पियनसिप आयोजना गर्न लागिएको हो’, सदस्यसचिव विष्टले भने । उनले सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सहभागी गराइने बताए । उनले च्याम्पियनबाट छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने जानकारी दिए । उनले छनोट भएका खेलाडीलाई सुरुको ६ महिना नेपालमै प्रशिक्षण दिने र त्यसपछि वैदेशिक प्रशिक्षण पठाइने बताए ।

पहिले २७ खेल समावेश गर्ने निर्णय भए पनि १८औं एसियाडमा सफ्ट टेनिससमेत समावेश गरिएकाले च्याम्पियनसिपमा २८ वटा खेल समावेश हुने जानकारी पनि सदस्यसचिव विष्टले दिए । उनले चिसो मौसम सुरु भएकाले पौडीको च्याम्पियनसिप सम्पन्न भइसकेको बताए । उनका अनुसार, च्याम्पियनसिप राखेप आफैंले नगरी सम्बन्धित राष्ट्रिय संघले सञ्चालन गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि बजेट भने परिषद्ले उपलब्ध गराउनेछ । च्याम्पियनसिप आयोजनाका लागि चार करोड ३२ लाख रुपैयाँ बजेट रहेको सदस्यसचिव विष्टले बताए । उनले च्याम्पियनसिप वार्षिक कार्यक्रममा समावेश भइसकेकाले बजेटको अभाव नहुने र बजेट विनियोजन भइसकेको बताए । ‘राखेप च्याम्पियनसिप वार्षिक कार्यक्रममा समावेश भइसकेको प्रतियोगिता हो । यसका लागि चार करोड ३२ लाख रुपैयाँ विनियोजन भइसकेको छ’, विष्टले अन्नपूर्ण पोस्ट्सँग भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.