फेडेरर सर्वाधिक मूल्यवान् खेलाडी
लन्डन : स्विस टेनिस स्टार रोजर फेडेरर आफ्नो सक्रिय खेल जीवनको अन्त्यतिर पुग्दैछन् । यद्यपि अन्तर्राष्ट्रिय खेल जगत्मा उनी सर्वाधिक मूल्यवान् खेलाडी हुन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको रिपोर्टअनुसार फेडेरर अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सर्वाधिक मूल्यवान् खेलाडी बनेका हुन् ।
यो सूचीमा टेनिस खेलाडीले शीर्ष स्थान लिँदा बास्केटबल, एथलेटिक्स, फुटबल र गल्फका खेलाडी शीर्ष पाँचभित्र अटाएका छन् । अमेरिकन बास्केटबल खेलाडी लेब्रोन जेम्स दोस्रो, जमैकन धावक उसेन बोल्ट तेस्रो, पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो चौथो तथा अमेरिकन गल्फर फिल मिकेल्सन पाँचौं स्थानमा छन् । यी खेलाडीमध्ये सन् २०१७ मा फेडेररको ‘ब्रान्ड भ्यालु’ तीन करोड ७२ लाख अमेरिकी डलर छ ।
यस्तै सन् २०१७ मा लेब्रोनको ‘ब्रान्ड भ्यालु’ तीन करोड ३४ लाख अमेरिकी डलर छ भने बोल्टको दुई करोड ७० लाख अमेरिकी डलर, रोनाल्डोको दुई करोड १५ लाख अमेरिकी डलर र मिकेल्सनको एक करोड ९६ लाख अमेरिकी डलर छ । फोर्ब्सले खेलाडीले गरेको कमाइ र विज्ञापनदाताहरूले दिएको महत्वका आधारमा खेलाडीको ‘ब्रान्ड भ्यालु’ निकालेको जनाएको छ ।
मेसीभन्दा कोहली अघि
यो सूचीमा अर्जेन्टिनी फुटबलर लियोनल मेसीभन्दा भारतीय क्रिकेट कप्तान विराट कोहली अघि देखिएका छन् । कोहली सातौं नम्बरमा रहँदा मेसी नवौं नम्बरमा छन् । फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टअनुसार कोहलीको ‘ब्रान्ड भ्यालु’ एक करोड ४५ लाख अमेरिकी डलर छ भने मेसीको एक करोड ३५ लाख अमेरिकी डलर छ । कोहली मेसीभन्दा झन्डै १० लाख अमेरिकी डलरले अघि छन् । तर, उनी शीर्ष स्थानको फेडेररभन्दा दुई करोड २७ लाखले पछि परेका छन् ।
यो सूचीअनुसार कोहली क्रिकेटरमध्ये सबैभन्दा मूल्यवान् खेलाडी बनेका छन् । उनको कमाइ यो सूचीभित्र परेका शीर्ष १० क्रिकेटरको कमाइभन्दा पनि एक करोड ४५ लाखले बढी छ । यद्यपि कोहली यो सूचीको शीर्ष १० भित्र अटाउने पहिलो भारतीय क्रिकेटर होइनन् । उनीभन्दा पहिले पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि यो शीर्ष १० भित्र परिसकेका छन् । धोनी सन् २०१४ मा सर्वाधिक ‘ब्रान्ड भ्यालु’ भएका खेलाडीको सूचीको पाँचौं स्थानमा परेका थिए ।
त्यस बेला कोहलीको ‘ब्रान्ड भ्यालु’ दुई करोड थियो । सन् २०१३ मा टेस्ट क्रिकेट र कप्तानी छाड्दा समेत धोनीको ‘ब्रान्ड भ्यालु’ १० लाखले मात्रै घटेको थियो । उनी गत वर्षको यो सूचीमा पनि शीर्ष १० भित्रै थिए ।