निर्वाचन रक्तपातविहीन युद्ध होः अशोक राई
फिदिमः संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण राजनीति गर्नेहरुले निर्वाचनलाई युद्धको रुपमा लिने गरेको बताएका छन्। पाँचथर सदरमुकाम फिदिममा पार्टीका कार्यकर्ताहरुसँगको अन्तरक्रिया कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै नेता राईले आफ्नो पार्टी रक्तपातविहीन युद्धमा होमिएको बताए।
उनले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। ‘पार्टीले गरेको निर्णय बमोजिम कार्यकर्ताहरु लाग्नुपर्छ,' राईले भने ‘निर्वाचनले नै देशमा परिवर्तनको खाता कोर्छ।'
आफ्नो पार्टीले नेपाली काँग्रेसँग लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा तालमेल गरेको उनको भनाई थियो। ‘काँग्रेससँग समग्रमा तालमेल हुन सकेन,' राईले भने ‘प्राविधिक कारण काग्रेससँग समग्रमा तालमेल हुन नसकेपछि यो निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुलाई जिताउने हाम्रो अभियान हो।'
लोकतान्त्रिक शक्ति र पहिचानसहितको संघियता चाहने शक्तिहरुले दुई तिहाई बहुमत पुर्याए संविधानका त्रुटिहरुलाई संशोधनमार्फत सच्याइने राईको भनाई छ। संविधानका त्रुटिहरुलाई सच्याउनकै लागि लाभका आधारमा लोकतान्त्रिक गठबन्धसँग सिट बाँडफाट गरिएको उनले बताए।