डायरी: एभरेस्ट बेस क्याम्प, तेन्जिङ हिँडेको बाटो
बिहानै वाइफाई खोल्नासाथ भाइबरमा एउटा मेसेज आयो— टिङटिङ । मेसेज स्कुले सहपाठी विनीता शाक्यको थियो, जो अमेरिकामा इन्जिनियरिङ पेसामा आबद्ध छिन् । उनले लेखेकी थिइन्, ‘म दसैंअघि नेपाल आउँदैछु, फेरि एकपटक एभरेस्ट बेस क्याम्प जाने प्लान छ ।
के छ तिम्रो विचार ?', दुई वर्षअघि पनि उनले यसैगरी सोधेकी थिइन्, आएकी थिइन् र बेस क्याम्प गएकी थिइन् । त्यति बेला मैले अन्तिम समयमा विशेष काम आइपरेर ‘एभरेस्ट यात्रा’ रद्द गरेको थिएँ । त्यो मेसेज देखेपछि केही नसोची ‘जाने नि किन नजाने ?' भनेर जवाफ फर्काएँ । अब पनि नजानु भनेको म स्वयंको लागि एक चुनौती र कालान्तरमा हीनताबोधको सिकार हुनु थियो ।
गत वर्ष अमेरिकाकै ओहायो विश्वविद्यालयमा छोटो अध्ययनका लागि जाँदा त्यहाँका प्रोफेसर बबले आफ्नो छोरा एभरेस्ट बेस क्याम्प पुगेको बताएका थिए । उनी त्यही कारण पनि मसँग आत्मीय भएका थिए । हामी नेपाली विदेश जाँदा कुन देशबाट आएको भनेर सोध्दा ‘एभरेस्टको देश’, ‘बुद्ध जन्मेको देश’ भनेर फूर्ति लगाउँछौं । त्यसो भनिसकेपछि उनीहरूले प्रतिप्रश्न गर्छन्, ‘डिड यो क्लाइम्ब इट ? हाउ इज इट ?' धेरैजसो विदेशीलाई लाग्दोरैछ, अधिकांश नेपालीले त एभरेस्ट चढिसकेका होलान् । तर, विडम्बना यो छ कि अधिकांश नेपाली एभरेस्टको फेदसम्म पनि पुगेका छैनन् । एकफेर त ‘जसरी पनि पुग्नुपर्छ’ भन्ने हुटहुटी मनमा लागिरहन्थ्यो । जाने भन्दैमा कहिल्यै समय मिल्दैनथ्यो ।
त्यसको दुईतीन दिनपछि मेलमा बीस दिन लामो भ्रमण तालिका आयो । दसैंको टीकाको दिन बिहानै गाडी समातेर दोलखा लाग्नुपर्ने थियो र जिरी वा शिवालयबाट अर्को दिन हाम्रो हिँडाइ सुरु हुन्थ्यो । पहिलोपटक तेन्जिङ र हिलारीले सोही बाटो भएर सगरमाथाको चुचुरो छोएको हुनाले ‘हामी पनि के कम हिँडौं न’ भनेर विनीताले सो रुट बनाएकी रैछिन् ।
भन्दाभन्दै जाने दिन आयो । निर्धारित तालिकाअनुसार, बिहान ८ बजेतिरै दसैंको टीका लगाएर घरबाट निस्किएँ । अमेरिकी नागरिक लउरा, विनीता, उसको भाइ रोहित र मलाई पुर्याउन विनीताका बुवाआमा गाडी लिएर आउनुभएको थियो । साँझ ५ बजेतिर हामीलाई रामेछापको शिवालय पुर्याएर उहाँहरू फर्कनुभयो र हामी त्यो दिन शिवालयमै बास बस्यौं ।
रातभर ठूलो पानी पर्यो । भोलि बिहान कसरी हिँड्ने होला ? मनमा कुरा खेलिरह्यो । अक्टोबर १ का दिन बिहान उठ्दा पनि सिमसिम पानी परिरहेकै थियो । ‘लामो यात्रामा हिँडेको मान्छे, सानातिना झरीमा अल्मलिन हुन्न’, यस्तै सोच आयो । प्लास्टिक ओढेरै हामी शिवालयको उकालो उक्लिन थाल्यौं । असोजको दिन भए पनि पानी पर्न छोडेन । पानी परेपछि बाटोमा जुका सक्रिय हुने भइहाले । कतिले टोक्न भ्याउँथे, कतिलाई टिपेर फ्याँक्न भ्याइन्थ्यो । लउरालाई अघिल्लै दिनदेखि अलिअलि रुघा लागेको थियो ।
हामी सबैको पिठ्यूँमा १० देखि १५ किलोको झोला थियो । गाउँलेलाई सोध्दा तीन घन्टामा पुगिन्छ भनेको देउराली भन्ने ठाउँमा पुगेर खाना खाने हाम्रो लक्ष्य थियो । लउरा ५५ वर्षकी थिई र अलि बिरामी पनि भएकाले उसलाई हिँडन गाह्रो भइरहेको थियो । उसलाई पर्खंदैपर्खंदै यात्रा जारी थियो । झन्डै तीन घन्टा हिँडेपछि पुगिन्छ भनेको देउरालीको डाँडा पारिपट्टि देखियो । हाम्रो अनुमानमा त्यहाँ पुग्न अझै दुई घन्टा लाग्ने थियो । त्यहाँसम्म जाने एउटा कच्ची मोटर बाटो जुन लामो थियो र अर्को जंगलको छोटो बाटो थियो । हामीले छोटै बाटो रोज्यौं । लउरा बिस्तारै हामीलाई पछ्याइरहेकै थिई । जंगलको बीचमा पुगेपछि एउटा तल झर्ने र अर्को मास्तिर उक्लिने बाटो भेटियो ।
टुप्पोमा जाने भएपछि उक्लिने बाटो नै त होला नि भनेर हामी मास्तिर लाग्यौं । लउरालाई बेलाबेलामा आवाज दिँदै हामी अघिअघि हिँड्थ्यौं । झन्डै आधा घन्टा हिँडेपछि थाहा भयो— हामी गलत बाटो आयौं । मान्छे हिँड्नेजस्तो बाटो नै सक्कियोे । झारपात समात्दै उकालो उकालो लाग्यौं । बल्लबल्ल माथि टुप्पोमा मोटर बाटो देखियो । बाटो त देखियो तर लउराको अत्तोपत्तो छैन । अलि अघिसम्म ‘आई एम कमिङ’ भनेर कराउने लउराको आवाज नै सुनिएन । आउली–आउली भन्दाभन्दै नामोनिशान छैन । ‘लउरा’ ‘लउरा’ भनेर जति कराए पनि उसको आवाज कतै नसुनिएपछि मनमा चिसो पस्यो । कतै भीरबाट खसी कि वा बाघभालुले पो भेट्यो कि !
हामी निकै माथि पुगिसकेर आधा घन्टा कुर्दा पनि लउरा नआएपछि म ‘लउरा लउरा आर यु दियर ?' भनेर कराउँदै जंगलैजंगल तलतिर झरेँ । झन्डै १५ मिनेट तल झरिसकेँ तर पनि उसको कुनै जवाफ आएन । आफ्नै मन आत्तिन थालिसक्यो, लउरा ज्यान गए जवाफ फर्काउन्न । मैले कराउन छाडिनँ । बल्ल–बल्ल हेल्लो–हेल्लो भनेर कता कता कोही बोलेजस्तो लाग्यो । म त्यो आवाज पछ्याउँदै, झाडी पन्छाउँदै तलतल झरिरहेँ । म लउराछेउ पुग्दा ऊ चार हात टेकेर घुँडा धसार्दै थिई । ऊ एकदम अत्तालिएकी थिई, मलाई देखेर खुसी भई र खोज्न आएकोमा धन्यवाद भनी । मैले उसको झोला बोकिदिएँ र बिस्तारै हिँड्दै मेरो पछि लाग्न आग्रह गरेँ । धन्य प्रभु फेला परी भनेर सन्तोषको सास फेर्दे देखिएको कच्ची बाटो समात्न उक्लियौं । देउराली पुगेर थुक्पा खान पाउँदा आँत भरिएर आयो । त्यहाँबाट तीन घन्टा हिँडेपछि थकित–गलित हुँदै ‘भण्डार’ भन्ने ठाउँमा पुगियो, साँझ पर्नै लाग्दा । त्यहाँ पुगेर बास बसेपछि बल्ल आनन्द महसुस भयो ।
पहिलो दिनको यात्रामा झोला बोकेर हिँड्न गाह्रो भएपछि लउराले दोस्रो दिन भरिया खोज्न आग्रह गरी । हामीले बास बसेको लजको साहुनीलाई भनेर भरियाको व्यवस्था मिलायौं । एकजना १७ वर्षीय भाइ केशव खड्का मागेबमोजिम पारि श्रमिक र सुविधा दिने सर्तमा भारी बोकेर नाम्चेसम्म जान तयार भए । उसले लउरा र साथीको एक झोला बोकिदियो । मैलेचाहिँ आफैं बोकें । काँध मेरा पनि गलेकै थिए । तर, हिम्मत गलेको थिएन । खाली हात भएपछि लउरा र रोहित अघिअघि लागे । किन्जा खोला र लिखु खोलाको दोभान पुग्नै लाग्दा बल्ल हामीले उनीहरूलाई भेट्यौं । लउरा अझै निको भएकी चाहिँ थिइन । सायद यो यात्रा उसले सोचे र आँकेभन्दा कठिन थियो । यो पुरानो बाटो भएकाले अचेल त्यतिसारो पर्यटक नहिँड्ने रैछन् । हामीले लामो र कठिन बाटो रोजेका थियौं । किन्जा खोलाले रामेछाप र सोलुखुम्बुलाई छुट्याउने रैछ । त्यहाँ पुग्दा फेरि पानी पर्न थाल्यो । त्यहीँ हामीले खाना खायौं र करिब एक घन्टा आराम गर्यौं । साँझको बास बास्न सेते पुग्ने योजना थियो ।
किन्जा कटेर तीन घन्टा उकालो चढेपछि बल्ल सेते पुगिन्थ्यो । अलिकति उकालो चढ्न पाएको छैन, मुसलधारे पानी पर्न थालिहाल्यो । धेरै अलमल गरे रात पथ्र्यो । गाउँलेले भनेको भन्दा एक घन्टा समय त जहिले पनि बढी लाग्थ्यो । रुझ्दै रुझ्दै भए पनि हामी हिँडिरह्यौं र लउरालाई पनि बिस्तारै हिँडिरहन आग्रह गर्यौं । मेरो मनमा चाहिँ लउराले यो यात्रामा पक्कै दुःख दिन्छे, खासै हिँड्न सक्लीजस्तो छैन भन्ने लाग्न थालिसक्या थियो । हामीलाई जसरी पनि उसलाई बास बस्ने ठाउँसम्म त पुर्याउनु नै थियो । फरक ठाउँका उकालो ओरालो हिँडनुको मज्जा र व्यथा पनि बेग्लाबेग्लै हुन्थ्यो । जिन्दगीमा उकालो मात्र हिँडछु भने पनि पाइन्न रैछ, ओरालो मात्र झर्छु भने पनि पाइन्न रैछ । उकालो आयो भनेपछि एकछिनमा ओरालो आइहाल्थ्यो । अहा ! ओरालो आयो भनेर रमाउन नपाउँदै उकालो आइहाल्थ्यो । सम्मैसम्म बाटो त कसले पो हिँड्न पाउँदो रैछ र जिन्दगीमा ?
बास बस्ने ठाउँ नपुग्दै झमक्क साँझ पर्यो । लउरा र म पछिपछि थियौं । मेरो हेडलाइट भएको क्यामराको झोला रोहितले बोकेको थियो । आफैंलाई गाह्रो हुन थालिसक्या थियो । दिउँसो त हिँड्न गाह्रो भएकी लउरालाई साँझमा हिँड्न पक्कै गाह्रो हुने नै भो । अलिकति हिँड्न नपाई ‘प्लिज वेट, प्लिज वेट’ भन्थी । अगाडि लम्केका साथीहरू देखिन छाडिसकेका थिए । फोन गरेको पनि लागेन । मोबाइलमा चार्ज हेर्छु, जम्मा २० प्रतिशत मात्र छ । एकछिन त मोबाइलमा बत्ती बल्छ भन्ने पनि बिर्सेछु । बल्ल शुद्धि आयो । मोबाइलको बत्ती बालेँ ।
एकातिर जुका लागेको लाग्यै छन् । अँध्यारोमा टिपेर साध्य नै भएन । वास्तै गर्न छोडिदिएँ । लउरालाई ‘बत्तीको अघिअघि हिँड’ भन्दा पनि हिँड्न सक्दिन, पछि पनि हिँड्न सक्दिन । तलतिर गुडियो भने बेपत्ता भइएलाजस्तो भीर छ । कुन जुनीको ऋण खाएछु नि भनेजस्तो भो बेलाबेला । उसको माया पनि लागिरह्यो । केही सीप नलागेपछि ‘ल मलाई समातेर सँगै हिँड’ भनेँ, त्यो पनि सकिन । हे भगवान् के गरौं ! आई वान्ट टु क्राई भन्छे ! बरु मलाई यही भीरबाट गुडाइदे भन्छे । मैले ‘अहिलेचाहिँ हिँड, अहिले पुगेपछि सँगै रोऊँला’ भनेर हिँडाइरहेँ । साथीहरू कहाँ कता पुगे अत्तोपत्तो छैन । मोबाइलको मसला सक्किन लागिसक्यो ।
बल्लबल्ल परबाट कसैले बत्ती देखाएर कुरेको देखियो । हाम्रो पोर्टर भाइ केशव रहेछ । विनीता र रोहित अघि बढिसकेका थिए । अलि अघि बढेपछि बल्ल हामीले बस्ने भनेर सोचेको लज देखियो । धन्न आइपुगियो भन्ने भयो । साथीहरू यहीँ बसे होलान् भनेको त लजको ढोकै बन्द छ । यहीँ किन नबसेका होलान् भनेर रिस उठ्यो । जति बोलाए पनि भित्रबाट कोही बाहिर निस्केन । फोन पनि लाग्दैन । हे भगवान् ! दुःख सक्केको रैनछ, कहाँ गएका होलान् यहीँ नबसी भनेर भुत्भुताउँदै फेरि अगाडि बढ्यौं ।
पाँच मिनेटजति हिँडेपछि बल्ल घरहरू भएको ठाउँमा पुगियो । हामी आएको देखेर विनीताले हत्त न पत्त मेरो छेउमा आएर हल्ला नगरी चुप लागेर आऊ है भनेर कानमा साउती गरिन् । सिमसिम पानी परेका कारण प्लास्टिक ओढिराखेकै थिएँ । खोलेर हेर्दा त स्याउँस्याउँ जुका नाचिरहेका । चुप लागेर लजको कोठामा पुगेपछि बल्ल थाहा पाइयो, अनेक अनुनय विनयपछि बल्ल बास बस्नसम्म दिएका रैछन् । कुरा बुझ्दा लजका मालिक रक्सीले टिल्ल परेका थिए र अन्य केहीसँग विवाद परिरहेको रैछ । बास माग्दा तथानाम गाली गरेको र राति कहाँ जाने अर्को लज पनि छ कि छैन भन्ने भएपछि सबै गाली सहेर हात जोड्दै विनीताले बास मागेपछि लजको रक्स्याहा मालिककी निरीह छोरीले केही हल्ला नगरी चुप लागेर बस्नुहोला भन्दै बस्नसम्म दिएकी रैछिन् । भोकले चुर भइएको छ तर खान नपाइने भयो । रक्सी खाएर हल्ला गरेका छन् । नबोल्नु भन्ने उर्दी छ । बोतलमा पानीसमेत छैन । पानी माग्ने हिम्मतसम्म पनि आएन । बाहिर निस्केर हेरौं, रक्सी खाएर बस्या छन् । लजको कोठाबाहिर दुइटा ठूलाठूला बन्चरा थिए । केही सोधिहाले रक्सी खाएको सुरमा हानी पो हाल्ने कि हुन् कि भन्ने डर लाग्यो ।
आज भाग्यमा यस्तै लेखेको रैछ भनेर चकलेट खाएर सुत्यौं । घाँटी सुक्यो, भिक्स चकलेट खायौं । लउरालाई वस्तुस्थितिको जानकारी गरायौं र एउटा औषधिचाहिँ खाएर सुत्न सुझायौं । चर्पी कहाँ छ भनेर सोध्ने आँट पनि आएन । बल्लबल्ल आँखा लागेका थिए । त्यस्तै ११ बजेको हुँदो हा,े अचानक ढ्वांग गर्दै कोठाबाहिर ‘यहाँ को–को छ’ भन्दै रक्सीले टिल केटाहरू एउटी केटीसहित आए । मैले बाहिर निस्केर नम्र भई ‘हामी छौं यो–यो कोठामा’ भनेँ । कुरा बुझ्दा उनीहरू सुत्ने कोठा खोज्दै थिए । उनीहरू खाली नदेखेसी फेरि बाहिर निस्के । अब आउन्नन् होला भनेर फेरि सुत्न गएँ र त्यहाँ आउने मुख्य ढोकामै चुकुल लगाइदिएँ । निद्रा भंग भइहाल्यो । न राम्ररी बोल्न पाइएको छ न खान पाईएको छ, प्यास लागेको छ । निकाल्ने हुन् कि पिट्ने हुन्, त्रास भइरह्यो ।
बिरानो ठाउँमा गएपछि आफूसँग आँट र बल भए पनि केही लाग्दो रैनछ । दिनको कुरा भए बेग्लै हुन्थ्यो, रातको भर लागेन । मनमा कुरा खेलाउँदा खेलाउँदै फेरि आँखा लाग्न लागेको रैछ, बाहिर फेरि ढकढक गरेर ‘किन ढोका लगाएको’ भनेर कराए । मैले हत्त न पत्त गएर चुकुल खोलिदिएँ र उनीहरूले चुकुल नलगाउनू, हामी फेरि बाहिर गएर आउन सक्छम् भने । त्यसपछि हामी भएतिरचाहिँ आएनन् तर छेउकै एक भण्डार कोठामा बसेर हल्ला गर्ने, बाहिरभित्र ओहोरदोहोर गर्ने गरिरहे । अलिअलि लोलाउँदै फेरि बिउँझँदै गरेर बल्लबल्ल बिहान भयो । उज्यालो भएपछि जुरुक्क उठेर हिँडिहाल्ने हाम्रो सल्लाह थियो । चर्पी पत्ता लगाएर नित्यकर्म सकेर हामी सातै बजे निस्कियौं । हामीले चिया पनि नखाई कोठा भाडा हजार रुपैयाँ तिरेर धन्यबाद भन्दै त्यहाँबाट निस्कियौं । त्यो दिन हामीलाई त्यहाँबाट हजार मिटर अग्लो लमजुरा पास पार गर्नुपर्ने थियो । भोको पेट भए पनि ज्यान जोगिएको खुसीमा हामी उक्लँदै गयौं ।
त्यो रात के कुराको ज्ञान भयो भने जब ज्यानको सुरक्षाको कुरा आउँछ, भोक र निद्रा भन्ने कुरा गौण हुँदो रैछ । झन्डै दुई घन्टा उकालो उक्लेपछि डाक्चु भन्ने ठाउँमा एकजना ८० वर्षीय दम्पतीले कटेरोमा होटल राखेका रैछन् । हामीले चाउचाउ बनाइदिन अनुरोध गर्यौं । लेकको हरियो रायो हालेर बनाइदिएको चाउचाउको सुप जिन्दगीमै खाएको सबैभन्दा मीठो चाउचाउ थियो । आँत भरिएर आयो, ज्यानमा स्फूर्ति आयो ।
भोक मीठो कि भोजन मीठो महाराज भन्ने उखान यसरी बनेको रैछ भन्ने भयो । ल बाजे सय वर्ष बाँच्नुुुुस् है भन्दै हामी बिदा भयौं । लउराको हिँड्ने रफ्तार हामीसँग मिल्दैनथ्यो । त्यस दिनदेखि हामीले पोर्टर भाइ केशवलाई उसले देखिने गरी अघिअघि लाग्नू र हामी भेटिएनम् भने पनि फलानो ठाउँसम्म जसरी पनि बास बस्न ल्याइपुर्याउनु है भनेर जिम्मा लगायौं । समयमा पुगेन भने बास पाउन र खानै समस्या देखिएकाले त्यस्तो गर्नु परेको थियो । लामो यात्रामा हिँडिसकेपछि कुद्न नसके पनि हिँडिरहनचाहिँ सक्नुपर्ने रैछ । एक जनालाई केही भयो भने सबैको यात्रा बिथोलिन्थ्यो । पछाडि फर्केर जाने बाटो अत्यासलाग्दो छ भन्ने थाहा भएपछि बरु अगाडिको बाटो गतिलो होला भन्ने आश हुँदो रैछ ।
बाटोमा जो आउँदै गरेको भए पनि, जाँदै गरेको भए पनि हामी बोल्दै हिँड्थ्यौं । गोयाम कटेपछि हाम्रो पछिपछि झोला भिरेका एकजना मानिस आए । साथी विनीता बोलिहालिन्, ‘कता पुग्ने हो दाइ’ भन्दै । उनी पारिपट्टि गाउँका बरुण लामा रैछन् । सल्लेरी पुगेर भारी ल्याउन हिँडेका रैछन् । लमजुरा पुग्ने उकालो चानचुने थिएन । खासै मान्छे पनि नहिँड्ने एकलासको जंगल थियो । उनलाई भेटेपछि सजिलो भयो । अघि आउँदा बाटोमा भालु लखेटेर आएको सुनाए । पहिला यो चल्तीकै बाटो रैछ । ठाउँठाउँमा पुराना होटल लजका भग्नावशेष थिए ।
पहिले उनी पनि पर्यटकसँग भारी बोकेर धेरै हिँडेका रैछन् । पहिले आउँदा यहाँ बसेर रमाइलो गरेको, यो भीरबाट खसेर मान्छे मरेकोलगायत अनेक कहानी सुनाएर हिँडाइलाई रमाइलो बनाए । दाजुले काम गर्न नेपाल र भारतका अनेक ठाउँ चहार्दाचहार्दै बिहेचाहिँ गर्नै भ्याएनछन् । ‘अब त ४८ लागियो, कसले पत्याउँछ र’ भनेर हाँसो पनि गर्थे । कहिले भालुको मासु कस्तो मीठो हुन्छ, बाँदरको सुकुटी कस्तो मीठो हुन्छ भन्थे । मैले ‘बाँदरको सुकुटी बोक्नुभको होला नि त’ भनेर सोध्दा ‘ज्या बोकेको थियो तर तल गाउँमा पो छोडेर आएँ, सरहरू भेटिनुहुन्छ भन्ने नै भएन, म मंसिरमा काठमाडौं आएँ भने ल्याइदिन्छु ल’ भने । थाहा छैन मैले बाँदरको सुकुटी चाख्न पाउँछु कि पाउन्न । तर बरुण दाइका कुराको स्वादचाहिँ अझै पनि आइराखेको छ ।
कुरा गर्दागर्दै जब हामीले अघिल्लो रात सेतेमा खान नपाएर डराईडराई रात बिताएको कुरा भन्यौं तब उनको कुरा सुनेर आङ नै जिरिंग गर्यो । हामीले जुन लजको नाम लियौं र जो रक्स्याहा साहुजी थिए ती त ज्यानमारा पो रहेछन् । आफ्नै श्रीमतीलाई तातोपानी खन्याएर मारेका रैछन् । अर्को एकजनालाई पनि मारेको भन्ने सुनेपछि एकछिन त सातो गयो । हे प्रभु ! ज्यानमाराको घरमा पो बास माग्न पुगिएछ, धन्न ज्यान जोगियो भन्ने भयो । धन्न बन्चरोले हानेन, धन्न पानी मागिएनछ, कसो हामीलाई नि तातो पानी खन्याइदिएन भन्ने भयो ।