हामी सहमतिकै बाटो हिँडेका छौं :  ओली

 हामी सहमतिकै बाटो हिँडेका छौं :  ओली

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी वाम गठबन्धन अगाडि आयो ?

हाम्रा नीति, हाम्रा राष्ट्रिय दृष्टिकोण र घोषणापत्र कार्यक्रमका साथै हाम्रा व्यवहारका कारण यति धेरै स्थानमा जित हासिल गरेका हौं। यो स्वाभाविक परिणाम हो।

अब कसरी अगाडि बढ्नुहुन्छ ?

हामीले संविधान जारी गरिसकेका छौं। राज्यमा संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापना गरेका छौं। संविधानले त्यो प्रणाली कसरी चलाउने भन्ने राजनीतिक र प्रशासनिक संरचनागत पक्षहरू निर्दिष्ट गरेको छ। यो निर्वाचनले पूरा गर्ने हामी अन्तिम चरणमा छौं। संघीय संरचना निर्माणका लागि अहिले निर्वाचन पनि भएको छ। मत पनि प्राप्त भइसकेको छ। यी संरचना भइसकेपछि यिनले संविधानअनुसार आफ्ना काम गर्छन्। संसद्मा कोही आकारमा अलि बढी र कोही अलि कम प्रतिनिधित्व होला।

सरकार बन्छ। प्रतिपक्ष हुन्छन्। ती संवैधानिक व्यवस्था र हैसियत हुन्। केही मान्छेलाई यस्तो लागेको छ कि हिजो चुनावको दौरान आरोप र प्रत्यारोपको कुरा भए। ती कुरा अब पनि रहिरहन्छ कि भन्ने लागिरहेको छ। चुनावी प्रतिस्पर्धाको कुरा खेलमैदानमा बल खोस्नका लागि कहिलेकाहीँ दौडँदै जाँदा अलिक नजानिँदो धक्का पनि दिएको हुन सक्छ। यता, ठोक्काएको पनि हुन सक्छ। खेलमैदानमा मात्रै ती कुरा हुन्छन् खेल सकिएपछि ती कुरा हुँदैनन्। हामीले पनि त्यसै गर्नुपर्छ। यो लोकतान्त्रिक अभ्यासलाई त्यही सीमामा राख्नुपर्छ। अब अगाडिको चुनौतीलाई पनि मिलेर सामना गर्नुपर्छ।

निर्वाचनको समयमा तपाइँले विपक्षीप्रति निकै तीतो व्यवहार गर्नुभयो अबचाहिँ कस्तो व्यवहार हुन्छ ?

निर्वाचनको समयमा एउटा शब्द पनि झुटो बोलेको छैन। चुनावको दौरान सत्य प्रकट गर्दा अलिक सोझै प्रकट गरेको हुन सक्छ। अब त्यस रूपमा पनि प्रकट गर्न आवश्यक हुँदैन। हामी सदनभित्र छौं। अर्काे पक्षले हामीमाथि अधिनायकवादी शासन ल्याउँछ भन्ने झुटा आरोप लगाएपछि हामीले त्यसको प्रतिवाद गरेका हांै। त्यो अवस्था समाप्त भएपछि त्यस्तो व्यवहार गर्नुपर्ने आवश्यकता रहेन।

हिजोको गलत प्रवृत्तिको विरोध गर्दा कसैलाई घच्चा लागेको हुन सक्छ।

गोरखाको चुनावी सभामा तपाइँले शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नुभयो। त्यस्तै, चुनावी कार्यक्रम सुरु नहुँदै स्थानीय तहदेखि केन्द्र र प्रदेशमा एमालेको सरकार हुन्छ भनेर भविष्यवाणी गर्नुभएको थियो। त्यो के आधारले गर्नुभएको हो ?

हाम्रा नीति, विचार, अडान र कामकाज नै हुन्। तर, योभन्दा हामीमा अन्योल र भ्रम फैलाउन केही पक्ष सक्रिय भए। त्यसले गर्दा केही ठाउँमा त्यसको असर पनि परेको छ। तैपनि त्यो भ्रम चिरिएको छ। मैले स्थानीय तहको निर्वाचन सकिएसँगै कांग्रेसले यति धेरै सिट कसरी ल्यायो भनेको थिएँ। त्यस कुरालाई हामीले केही सच्यायौं। हामीले तथ्यमा आधारित भएरै विश्लेषण गरेका थियौं। मैले मनगढन्ते भनेको होइन। मैले हिजो के बोलेँ त्यसको जवाफदेही म छु। गलत प्रवृत्तिको विरोध गर्दा कसैलाई घच्चा लागेको हुन सक्छ।

वाम गठबन्धन बनेका कारण आज तपाइँहरू दुई तिहाइ नजिक हुनुहुन्छ ? तपाइँ एमाले एक्लै चुनावमा गएको भए अझ राम्रो हुन्थ्यो भन्ने हृदयको कुनै कुनामा सोच्नुभएको छ कि ?

मेरो बानी नै विचार गरेर काम गर्ने छ। काम गरेपछि त्यसो नगरेको भए हुन्थ्यो भन्नेमा म जान्नँ। जे भयो त्यो ठीक छ। अनुमान लगाउँदा पनि एमालेले राम्रै सिट जित्थ्यो। नतिजा ल्याउनु मात्रै ठूलो कुरा होइन। त्यस पछाडिका थुप्रै कुरा हुन्छन्। त्यसकारण पनि चुनावको सहकार्यको अर्थ हुन्छ। भावनात्मक रूपमा कसरी गएका छौं भन्ने कुरा महत्वपूर्ण हो।

हामीले अन्तरिम सरकारको बेलादेखि नै सहमति र सहकार्यको कुरा गर्दै गयौं। तर, त्यो बाटो भत्काउँदै जाने काम भयो। लोकतान्त्रिक प्रक्रियाअनुसार जान सकिन्छ तर त्यसका लागि पनि सहमति र सहकार्य आवश्यक पर्छ। त्यो कुरा स्वीकार गरिएन। भत्काउने काम भयो। अब हामी नभत्काउने। पछाडि फर्केर हेर्ने होइन अगाडि बढ्ने हो। एक्लै भए पनि जितिन्थ्यो होला। सहमतिमै हामी तालमेल गरेर अगाडि बढेका छौं।

 अगाडिको चुनौतीलाई पनि मिलेर सामना गर्नुपर्छ।
अब आरोप/प्रत्यारोपको राजनीति समाप्त भएको छ।

त्यो ठीक छ। जुन बाटो हिँडिरहेका छौं। भवितव्य र अन्जानले त्यहाँ पुगेको होइन। हामीले त कांग्रेससँग पनि तालमेल गरेर अगाडि बढौं भन्दै आएका हौं। अब एउटा चरण सकिएको छ। कांग्रेसले दुई पार्टी एक ठाउँ बस्नुहुँदैन भनेर पटक-पटक भन्यो। पूर्वसहमतिलाई तोडेर एउटा सिद्धान्त तय गर्‍यो। ठूला पार्टी मिल्नु हुँदैन। मलाई प्रधानमन्त्रीबाट हटाउने बेला त्यही भन्यो। दुई ठूला पार्टी प्रतिस्पर्धा गर्नुपर्छ। कांग्रेसले देखाएको बाटोमै हामी हिँडेका हौं।

वाम तालमेलपछि सफलता पनि प्राप्त गर्नुभयो। पार्टी एकता भन्नेचाहिँ अलि जटिल पनि हुन्छ। दुई फरक-फरक ग्राउन्डबाट आएका पार्टी कसरी एकता गर्नुहुन्छ ?

हामी एउटै ग्राउन्डबाट आएका हौं। २००६ सालमा पुष्पलालहरूले बनाएका कम्युनिस्ट पार्टी नै तेस्रो महाधिवेशन पछि फुटेको हो।

तपाइँहरू जनताको बहुदलीय जनवादमा विश्वास गर्दै अगाडि बढ्नुभएको छ, माओवादी केन्द्र हिजो सशस्त्र संघर्ष गरेर आएको पार्टी हो। तपाइँहरूबीच तारतम्य कसरी सम्भव छ ?

बाटो कहाँबाट आयो भन्ने मुख्य कुरा होइन। कुन भङ्गालो कहाँबाट आयो भन्ने महत्वपूर्ण कुरा होइन। एउटै खोलामा बग्ने एउटै नीतिमा हिँड्ने भनेपछि ऊ लोकतान्त्रिक प्रणालीमा छ। शान्तिपूर्ण बाटोमा छ। हामीले स्थानीय तहको निर्वाचनमा फरक-फरक नीति र कार्यक्रम लिएर जानु उपयुक्त होइन भनेका थियौं। तर, फरक-फरक नीतिकासाथ पनि जान सकिन्छ भन्यौं र हामीले अहिले त साझा घोषणापत्र बनाएर गयौ‌। लोकतन्त्रमा मिल्नुहुँदैन भनेर पाठ कांग्रेसले पढायो। उसले पढाएको कुरा हामीले गरेका छौ।

अब सरकार निर्माण अगाडि कि एकता ?

सरकार तुरुन्त आइहाल्यो नि ! एकताका लागि केही समय लाग्छ। करिब तीन महिनाजति लाग्ला।

अब प्रधानमन्त्री को ?

वाम गठबन्धनबाटै हुन्छ त्यो कुरा स्पष्ट छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको प्रधानमन्त्री केपी शर्मा ओली भन्नुभएको छ। उहाँले अब दुईवटा कार्यकारी हुन्छ भन्नुभएको छ, यसलाई कसरी बुझ्ने ?

दुईवटा कार्यकारी हुन्छन् भनेको के त ? हाम्रो संवैधानिक व्यवस्था जे छ त्यही भनेको होला।

पार्टी अध्यक्ष एउटा र प्रधानमन्त्री अर्को बन्ने हो ?

हामीबीच त्यस्तो समझदारी भएको छैन। यो एक/दुई नेताले निर्णय गर्ने विषय पनि होइन। पार्टी एकता भएपछि सबै यसको हकदार हुन्छन्। एकता हुनुभन्दा अगाडि यो कुरा गरियो भने समस्या पैदा गर्छ। त्यसैले हामीले त्यसको चर्चा गर्दैनौं। अर्को अध्यक्ष हुनुपर्‍यो भने दुई पार्टी राखे भइहाल्यो किन एकता गर्नुपर्‍यो ? हामीले अध्यक्ष होइन, एकता खोजेका हौं। पदको कुरै होइन। मिलेर देशलाई अगाडि बढाउन खोजेका हौं। जे आवश्यकता पर्छ पछि छलफलबाट त्यो गर्छौं।

तपाइँ प्रधानमन्त्री, पुष्पकमल दाहाल राष्ट्रपति र अध्यक्ष एमालेको अर्को कोही नेता हुने सम्भावना छ कि ?

राजनीतिमा सम्भावना रहन्छ। त्यसलाई नकार्न सकिन्न। एउटैले सबै पद लिन मिल्दैन। सम्बन्धित र सान्दर्भिक पद मात्रै लिइन्छ। अहिले पार्टी अध्यक्षको प्रश्न महाधिवेशनमा आउला। एकीकरणमा आउला। पार्टी एकीकरणमा अध्यक्षको विषय गौण हो। प्रधानमन्त्री पार्टी अध्यक्षसँग जोडिएको विषय हो र ?

संयुक्त महाधिवेशनपछि मात्रै यी कुरा निक्र्योल हुन्छ भन्नुभएको हो ?

संयुक्त महाधिवेशन वा अरू कुनै कुरा बन्छ होला नि ! नेतृत्वको विषय कुनै संरचना बनाएर टुंगिन्छ।

तपाइँको पार्टीकै नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यो निर्वाचनमा पराजित हुनुभएको छ। यसलाई तपाइँले कसरी लिनुभएको छ ?

राष्ट्र निर्माणमा सहमति र सहकार्य आवश्यक छ।

उहाँहरू पराजित हुनु हुँदैन थियो। चुनावमा कहिलेकाहीँ यस्तो हुन्छ। त्यसलाई तीतो अनुभवका रूपमा लिनुपर्छ।

अन्त्यमा, तपाइँ सबैभन्दा ठूलो पार्टीको नेता हुनुभएको छ, देश र जनताका लागि केही भन्नुहुन्छ ?

जनतालाई धन्यवाद भन्छु। एमाले र माओवादी केन्द्रबीचको तालमेलप्रति विश्वास गरेर जनताले जिम्मेवारी सुम्पिएका छन्। त्यसलाई अत्यन्त शालीनतासाथ लिन्छौं। लोकतन्त्रको रक्षा, स्वाभिमान, राष्ट्रिय एकताको अभिवृद्धि, शान्ति एवं समृद्धिको प्रयासमा अगाडि बढ्ने हो ढिलो गरी होइन त्यसका लागि म सबैलाई आग्रह गर्छु। कतिले चुनाव जितियो, कतिले हारियो तर देश निर्माणका लागि निर्वाचनमा हार्दैमा कोही रिटायर्ड हुने त होइन नि ! जित्दा र हार्दा भूमिकामा केही फरक पर्ने मात्र हो। तर, हामी सबैले देश निर्माण गर्नु छ। यसका लागि सबैलाई अग्रसर हुन म आग्रह गर्दछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.