पासोमा परेर मर्यो चितुवा
बैतडी: बैतडीको ग्वाल्लेक वन क्षेत्रमा पासो परेर मरेको चितुवा फेला परेको छ । दशरथचन्द नगरपालिका वडा नं ९ को ग्वाल्लेक वन क्षेत्रमा पासो परेर चितुवा मरेको जिल्ला वन कार्यालयका निमित्त अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए ।
‘घाँस काट्न जंगलमा गएका महिलाहरुले बिहीबार पासो परेको चितुवा देखेछन् । उनीहरुले वडा नं ९ का अध्यक्ष हरिश्चन्द्र जोशीलाई खबर गरेपछि अध्यक्षज्यूले हामीलाई बिहीबार साँझ खबर गर्नुभयो । शुक्रबार बिहान जाँदा चितुवा मरेको अवस्थामा फेला पार्यौं’, उनले भने ।
स्थानीयबासीले जंगली बदेल र अन्य जनावरका लागि थापेको पासोमा चितुवा परेको हुन सक्ने निमित्त जिल्ला वन अधिकृत चौधरीले बताए ।
४ फिट ७ इन्च लम्बाई र २ फिट उचाई भएको चितुवा ३,४ दिन अघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ । मरेको चितुवालाई जिल्ला वन कार्यालयमा ल्याएर पोष्टमार्टम गरी स्थानीय प्रशासनको रहोबरमा खाल्डोमा गाडिएको निमित्त जिल्ला वन अधिकृत चौधरीले जानकारी दिए ।