दृष्टिविहीन बालबालिकालाई न्यानो लुगा
राजविराज : दृष्टिविहीन बालबालिकाले शुक्रबार न्यानो लुगा पाएपछि दंग परेका छन्। चिसो बढदै गएका बेला जाडोबाट जोगिन न्यानो लुगा पाएर सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयअन्तर्गत रहेको दृष्टिविहीन बालबालिका केन्द्रका बालबालिका दंग परेका हुन्।
केन्द्रमा रहेका दृष्टिविहीन तीन छात्र र तीन छात्रालाई जिल्ला बाल कल्याण समितिले भेस्ट, पेन्ट, कुर्ता सुरुवाललगायतका लुगा उपलब्ध गराएको हो। समितिका सदस्य केन्द्रमा पुगेर नै बालबालिकालाई लुगा तथा विद्यालयका शिक्षक वीरेन्द्र विश्वकर्मालाई एक थान कम्बल उपलब्ध गराएको समितिका कर्मचारी खडगनारायण चौधरीले जानकारी दिए।
जाडोमा लुगा पाएपछि निकै राहत मिलेको कक्षा ३ मा अध्ययनरत दिनेशकुमार रामले बताए।