भक्तपुर नपाले कक्षा ८ को परीक्षा लिने

भक्तपुर नपाले कक्षा ८ को परीक्षा लिने

भक्तपुर : स्थानीय सरकार सञ्चालन अभ्यासअन्तर्गत भक्तपुर नगरपालिकाले चालू शैक्षिक सत्रको कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ।
नगरस्तरीय परीक्षाको लागि भक्तपुर नपाले वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यको अध्यक्षतामा प्राविधिक समितिसमेत गठन गरिसकेको हो। उक्त समितिमा नगरमा क्रियाशील विद्यालयसँग सम्बन्धित संघसंगठनका प्रतिनिधिसमेत सदस्य रहेका छन्।

जिल्ला शिक्षा कार्यालय भक्तपुरका विद्यालय निरीक्षक रुद्र शर्मा पौडेल सदस्य सचिव रहेको उक्त समितिमा सरकारी एवं सामुदायिक विद्यालय आवद्ध तीनवटा समिति र निजी तथा संस्थागत विद्यालयहरु आवद्ध तीनवटा संगठनका प्रतिनिधिहरु सदस्य रहेका हुन्।

जसअनुसार सरकारी एवं सामुदायिक विद्यालयतर्फ संयुक्त परीक्षा समितिको तर्फबाट वासु माविकी प्रधानाध्यापिका अम्बिका न्याइच्याई, सामूहिक परीक्षा समितिबाट मेधा माविका प्रअ गंगाधर हाडा र निमावि प्रावि संयुक्त परीक्षा समितिबाट नवीन निमाविका प्रअ तुल्सीराम ग्वाछा सदस्य रहेका छन्।

त्यस्तै प्याव्सनको तर्फबाट इस्ट प्वाइन्ट स्कुलका प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठ, एन प्याव्सनको तर्फबाट पारागन एकेडेमीका प्रिन्सिपल पुण्यराम कवां र इसानको तर्फबाट हिमालयन ग्लोरीका प्रिन्सिपल कृष्णराम त्वानावासु सदस्य रहेका छन्।

उक्त समितिले परीक्षा दिने विद्यार्थीहरुको फारम भर्नेदेखि परीक्षा सञ्चालन भएपछि परीक्षाफल प्रकाशन गर्नेसम्मको करिब २४ वटा कार्य गर्ने भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनका अनुसार विद्यार्थीहरुलाई फारम भर्ने, प्रवेशपत्र दिने, प्रश्नपत्र निर्माण गर्ने, परीक्षा केन्द्र निर्धारण गर्ने, परीक्षा सञ्चालन गर्ने, उत्तर पुस्तिका परीक्षण गर्ने, परीक्षाफल प्रकाशन गर्नेदेखि लब्धांकपत्र वितरण गर्ने कार्यसम्म उक्त समितिले गर्नेछ।

‘आधारभूत तहसम्मको शिक्षा नगरपालिकालाई आएको आधारमा हामीले चालू आवको कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्ने भएका हौं’, नगर प्रमुख प्रजापतिले भने, ‘यसका लागि प्राविधिक समिति गठन गरी परीक्षाको लागि सम्पूर्ण तयारी गर्ने जिम्मेवारी दिइसकेका छौं।’उनले सरकारले कक्षा १० को एसईई परीक्षासमेत सञ्चालन गर्ने अधिकार दिए उक्त परीक्षा सञ्चालन गर्न पनि भक्तपुर नपा तयार रहेको दावी गरे।

बाँकी नपाको परीक्षा जिशिकाले लिने
भक्तपुरका बाँकी तीनवटा नगरपालिकाको नगरस्तरीय परीक्षा भने जिल्ला शिक्षा कार्यालयले नै लिने भएको छ। जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले आफूहरुसँग जनशक्ति नभएकाले शिक्षा कार्यालयलाई नै परीक्षा सञ्चालन गरी दिन बाँकी तीन नगरपालिकाले अनुरोध गरेको जानकारी दिए।

‘भक्तपुर नगरले मात्रै कक्षा ८ को नगरस्तरीय परीक्षा आफैले गर्ने भयो’, जिशिअ रायमाझीले भने, ‘मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले हामीलाई परीक्षा सञ्चालन गरिदिन आग्रह गरेका छन्।

सोहीअनुसार यस वर्ष जिल्ला शिक्षा कार्यालयले नै परीक्षा सञ्चालन गर्छ।’उनका अनुसार यी तीन नगरपालिकाको नगरस्तरीय परीक्षा चैत ४ गतेदेखि गर्ने र चैत २४ गते परीक्षाफल प्रकाशित गर्ने तालिकासमेत बनाइसकेको छ। संघीयता कार्यान्वयनमा आएसँगै आधारभूत शिक्षाको दायित्व स्थानीय निकायको तोकिएको छ। सोहीअनुसार कक्षा ८ को परीक्षासँगै विद्यार्थीहरुको लब्धांकपत्रसमेत सम्बन्धित नगरपालिकाको नाउँमा जारी हुन्छ। यस व्यवस्थाअनुसार शिक्षा कार्यालयले सञ्चालन गर्ने भक्तपुरका तीन नगरपालिकाको लब्धांकपत्र भने सम्बन्धित नगरपालिकाकै नाउँमा जारी हुने जिल्ला शिक्षा अधिकारी रायमाझीले जानकारी दिए।

गएको वर्ष कक्षा ८ को परीक्षा सञ्चालन गर्न सरकारले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रतिव्यक्ति एकसय दस रुपैयाँ बजेट निकासा गरेको थियो। त्यस्तै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरुसँग जिल्ला शिक्षा कार्यालयले प्रतिव्यक्ति एकसय १० रुपैयाँ शुल्क लिएको थियो।

तर यस वर्ष सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि ९० रुपैयाँ थप आउने भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। जसअनुसार प्रतिव्यक्ति दुई सय रुपैयाँको दरमा आउने रकम सम्बन्धित नगरपालिकालाई नै उपलब्ध गराइने जिल्ला शिक्षा अधिकारी रायमाझीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.