त्रिवि दीक्षान्तमा विद्यार्थी विकर्षण

त्रिवि दीक्षान्तमा विद्यार्थी विकर्षण

काठमाडौं : नेतृत्व तहमा रहेकाहरूको व्यवस्थापकीय कमजोरीका कारण विद्यार्थी आकर्षण घटिरहेको मुलुककै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा पनि विद्यार्थी विकर्षण बढेको छ।

त्रिविले हरेक वर्ष आयोजना गर्ने दीक्षान्त समारोहका लागि योग्य भएका विद्यार्थी संख्या र समारोहमा उपस्थित विद्यार्थीको तथ्यांकलाई तुलना गर्दा यस्तो देखिएको हो। दीक्षान्तमा उपस्थित भएका विद्यार्थी र अभिभावकका लागि पनि यस्ता समारोह गाउन लगाउने, फोटो खिच्ने र लाम लागेर प्रमाणपत्र लिने काममा मात्र सीमित देखिएको छ।

अन्य प्रायः विश्वविद्यालयको दीक्षान्त समारोहमा विद्यार्थीको साथमा अनिवार्य रूपमा अभिभावक पनि उपस्थित हुन्छन्। तर, त्रिविको दीक्षान्तमा अभिभावक मात्र होइन, विद्यार्थीसमेत उपस्थित हुन छाडेका छन्। पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पस परिसरमा आइतबार आयोजित दीक्षान्त समारोहमा पनि स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी उपाधिप्राप्त आठ हजार दुई सय ६७ जना विद्यार्थी मात्र उपस्थित भए। जबकि त्रिविका आंगिक ६० वटा र सम्बन्धनप्राप्त एक हजार ८५ वटा क्याम्पसबाट यी तह उत्तीर्ण गर्ने विद्यार्थी ६८ हजार दुई सय ९२ जना थिए।

गत वर्ष पनि यस्तै अवस्था थियो। चारै वटा तह उत्तीर्ण गरेका ८३ हजार चार सय २५ जना विद्यार्थी गत वर्षको ४२ औं दीक्षान्तमा सहभागी हुन योग्य भएकोमा नौ हजार सात सय ३४ जना मात्रै समारोहमा सहभागी भई प्रमाणपत्र लिएका थिए। दीक्षान्त समारोहमा सहभागी हुन चाहनेले आफूले प्राप्त गरेको शैक्षिक उपाधिको प्रमाणपत्रसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा निश्चित रकम बुझाएर निवेदन दिनुपर्छ। यसरी निवेदन दिने विद्यार्थी संख्या वर्षभरिमा उत्तीर्ण भएका कुल विद्यार्थी संख्याको १५ प्रतिशत हाराहारी मात्रै हुने गरेका छन्। यसले त्रिविको आम्दानीसमेत घटाएको छ।

‘स्नातकमा सहभागी भइसकेपछि स्नातकोत्तर तहमा किन आउनुपर्‍यो र भन्ने विद्यार्थी धेरै होलान्। त्रिविप्रति आकर्षण घटेर दीक्षान्तमा नआएको भन्ने विश्लेषण गर्न नमिल्ला।' - सुधा त्रिपाठी, शिक्षाध्यक्ष, त्रिवि

विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डा. सुधा त्रिपाठीले एकपटक समारोहमा सहभागी भइसकेपछि फेरि पनि किन सहभागी हुनुपर्‍यो र भन्ने सोचाइका कारण विद्यार्थी नआएको दाबी गरिन्। ‘स्नातकमा सहभागी भइसकेपछि स्नातकोत्तर तहमा किन आउनुपर्‍यो र भन्ने विद्यार्थी धेरै होलान्', त्रिपाठीले भनिन्, ‘त्रिविप्रति आकर्षण घटेर दीक्षान्तमा नआएको भन्ने विश्लेषण गर्न नमिल्ला।'

आइतबार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा प्रवाह गर्नु त्रिविका लागि चुनौती रहेको बताए। ‘विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वसमाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु विश्वविद्यालयका लागि चुनौती हो', उनले भने।

दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा आएका भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. एम जगदीश कुमारले दीक्षित भएका विद्यार्थीलाई विश्वका हरेक मुलुकमा गएर क्षमता प्रदर्शन गर्न सक्छु भन्ने आत्मविश्वास निर्माण गर्न सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.