शीतलहरका कारण विद्यालय बन्द
कपिलवस्तु : तौलिहवा केही हप्तादेखि बढेको अत्याधिक चिसो र शीतलहरका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ। दिनप्रतिदिन बाक्लो हुस्सुसँगै चलेको शीतलहरले सबैभन्दा बढी सुत्केरी महिला, नबजात शिशु, बालबालिका, वृद्धवृद्धा र मजदुरी गरी दैनिकी चलाउँदै आएका मजदुर प्रभावित भएका छन्।
चिसोको कारण जिल्लाका सरकारी विद्यालय बन्द गरिएका छन्। भर्खरै अर्धवार्षिक परीक्षा सम्पन्न भएपछि सामुदायिक विद्यालय बन्द गरिएको हो। अत्याधिक बढेको चिसो र शैक्षिक क्यालेण्डर अनुसार नै जाडो बिदा गरिएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराईले जानकारी दिए। ‘कतिपय विद्यालयले आफ्नो आन्तरिक कार्यक्रम भएका कारण विद्यालय बन्द नगरेका हुन सक्छन् उनले भने, तर जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्।’
यता चिसोले जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, जीतपुर चानम्बर, चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगरलगायतका बजारमा सर्वसाधारणको चहल पहल घटेको छ भने साना सवारी साधन पनि कम मात्रामा चलेका छन्। सवारी साधन कम मात्रामा चल्दा सरकारी कार्यालय, संघसंस्थामा जाने सर्वसाधारणको संख्या घटेको छ। जिल्लाका रिक्सा चालकले पनि कमै मात्रामा रिक्सा चलाएका छन्। चिसोले गर्दा रिक्सा चलाउन नसकेको वाणगंगा ११ बरवाका रिक्सा चालक दुर्गा गौतमले बताए।

शीतलहर र बाक्लो हुस्सुले जनजीवन कष्टकर बन्दै। तस्बिर : अन्नपूर्ण
अहिले चिसोबाट बच्नको लागि चोकचोक तथा टोलटोलमा मुढा, दाउरा र परालको आगो बालेर ताप्ने गरिएको छ। चिसोले कोही पनि प्रभावित नहोऊन भनेर जिल्लाको बुद्धभुमी नगरपालिकाले सर्वसाधारणलाई दाउरा वितरण गर्न थालेको छ।
जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए। यस्तै चिसोबाट पशुचौपायालाई बचाउन सर्वसाधारणले बोरा र कपडा लगाइ दिने गरेका छन्।
उता चिसोका कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी, झाडापखला लगायत रोगका बिरामीको संख्यामा वृद्धि भएको स्वाथ्यकर्मीले बताएका छन। शितलहरबाट बच्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरि सबै नागरिकलाई सचेत रहन भनेको छ।
प्रतिक्रिया दिनुहोस !