शितलहरले तराईको जनजीवन अस्तव्यस्त

शितलहरले तराईको जनजीवन अस्तव्यस्त

जनकपुरधाम : लगातार बढ्दै गएको शीतलहर र बाक्लो हुस्सुले मधेसको जनजीवन अत्यधिक कष्टकर भएको छ। कुहिरोले ढाक्दा दिउँसै सडक अन्धकार बनेपछि सवारीको चाप पनि न्यून देखिन्छ। चिसो अत्यधिक बढेपछि साना बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। धनुषामा शीतलहरको प्रकोपबाट बालबालिकालाई जोगाउन जिल्ला शिक्षा कार्यालयले तीन दिन सामुदायिक विद्यालय बन्द गरेको छ।

सम्पन्न परिवारमा चिसोको व्यवस्थापन गर्ने विभिन्न उपाय भएपनि विपन्न परिवारलाई ज्यान जोगाउनै धौधौ छ। चिसोबाट पीडितलाई जोगाउन धनुषामा जिल्ला दैवी प्रकोप उद्धार समितिको तर्फबाट केही काम भएको छैन। चिसोले धनुषा, महोत्तरी, सिरहा, सर्लाही र सप्तरीको जनजीवन निकै कष्टकर बनेको हो।

सर्लाहीको चक्रघट्टा ७ पटेर्वास्थित मुसहर बस्तीकी ३५ वर्षीया सुनितादेवी माझी चिसोबाट जोगिन न्यानो कपडा नहुँदा बाँच्ने आधार परालको आगो मात्र भएको सुनाउँछिन्।

सोही बस्तीकी ६० वर्षिया कुसमीदेवी माझी फुसको घरमा चिसोबाट बच्न भगवानको सहारा मात्र रहेको बताउँछिन्। मजदुरी गरेर परिवारको पेट पाल्दै आएकाले न्यानो लुगा सपना मात्र रहेको उनले बताइन्।

चिसोबाट प्रभावित भएकाको विषयमा जानकारी आए सहयोग गर्नका लागि सम्बन्धित नगरपालिका र गाउँपालिकाका प्रमुखलाई निर्देशन दिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए। हालसम्म कोही पनि पीडित सम्पर्कमा नआएको उनको भनाइ छ।

शितलहर प्रत्येक वर्ष प्राकृतिक विपतका रूपमै आउने गरेकाले यसबाट बच्न जिल्ला दैवीप्रकोप उद्धार समिति परिचालित हुनुपर्ने स्थानीय वैद्यनाथ जोशी बताउँछन्।

महोत्तरीमा पनि चिसोले जनजीवन प्रभावित भएको छ। न्यानो लुगाको अभावमा मुसहर, चमार, पासवान, डोम समुदायका मानिस ज्यादै पीडित छन्। चिसोले गर्दा सुत्केरी, बालबालिका, वृद्ध, असक्त, अपाङ्ग एवं दमका रोगीको अस्पतालमा चाप बढेको बर्दिबास सरकारी अस्पतालका जनस्वास्थ्य नीरीक्षक मिनबहादुर सेन ठकुरीले बताए।

जाडो छल्न ग्रामीण भेगमा गुर्इँठा र परालको जोहो गरेर आगो ताप्ने गरिएको छ। चिसोका कारण न्यानो, बाक्लो तथा उनीका कपडाको माग बढेको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले जनाए। शितलहरका कारण तेलहन, दलहन, आलु खेती पनि असर परेको छ। पशु चौपाया पनि चिसोले बिरामी पर्न थालेका छन्।

शितलहर बढ्दै गएपछि स्थानीयसँग समन्वय गरि जिल्लाका विभिन्न २५ स्थानमा आगो ताप्ने व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.