सहज बन्दै महिनावारी

सहज बन्दै महिनावारी

तम्घास : गुल्मीको दुर्गम मदाने गाउँपालिका–२ बाँझकटेरीकी अपेक्षा विक पहिलोपल्ट महिनावारी (रजस्वला) हुँदा गोठमा बसिन्। अहिले १९ वर्षकी उनी पहिलोपल्ट महिनावारी हुँदा ११ वर्षकी थिइन्। बुवाआमाले विकलाई विद्यालय नपठाएर ७ दिनसम्म गोठबाट बाहिर निस्कन दिएनन्। चिसोमा कष्टपूर्ण दिन बिताउन उनलाई धेरै सकस पर्‍यो। कलिलै उमेरमा महिनावारी हुँदा आफूले धेरै समस्या भोग्नुपरेको उनी सम्झन्छिन्।

गाउँका अधिकांश किशोरीले महिनावारी भएका बेला एक साता गोठ र छिमेकीका घरमा सुत्ने बस्ने गर्नुपथ्र्यो। ‘सुरुमा धेरै दुःख पाइयो', विकले विगत सम्झँदै भनिन्, ‘अहिले १२ कक्षामा पढ्छु, महिनावारी बार्दैनौँ।' विगतको तुलनामा हिजोआज गाउँभरिका किशोरीको अवस्था फेरिएको छ। महिनावारीका बेला अहिले कोही पनि गोठमा बस्दैनन्। अभिभावकको सोचमा सकारात्मक परिवर्तन आउन थालेपछि छोरीहरूको सास्ती घट्दै गएको छ।

पहिलो र दोस्रो महिनावारी हुँदा गोठमा बस्ने जिल्लाको दुर्गममा पर्ने सिर्सेनी, वाग्ला, मलागिरी, पुर्कोट, भनभने, अर्खावाङ, ह्वाङदी, नेटा, दर्लिङ, छापहिले, अर्जै, अमरपुर, दोहोली, दर्लामचौर, हस्तौचौरलगायत गाउँका किशोरीले आजभोलि महिनावारी बार्न छाडेका छन्। गाउँगाउँमा सुरक्षित महिनावारी स्वास्थ्यसम्बन्धी कार्यक्रम हुन थालेपछि किशोरी र अभिभावकको विचार परिवर्तन हुन थालेको हो। ‘पहिले पहिले महिनावारी हुँदा छोरीहरूलाई गोठमा बस्न भन्यौं', इस्मा गाउँपालिका–५ दोहोली गुल्मीकी ज्ञानकुमारी कार्कीले भनिन्, ‘आजभोलि उनीहरू महिनावारी भए नभएको थाहै हुँदैन।' महिनावारी हुँदा आफ्नो स्वास्थ्यमा ध्यान दिन सल्लाह दिने गरेको उनले बताइन्।

गाउँगाउँमा रहेका विद्यालयमा महिनावारी स्वास्थ्यबारे छात्राहरूलाई जानकारी गराएपछि महिनावारी सहज बन्दै गएको पाइएको छ। विद्यालयमै छात्राहरूलाई यसबारे जानकारी गराएपछि उनीहरूले खुलेरै आफ्ना समस्या अभिभावक र शिक्षकसामु राख्ने गरेका छन्। विद्यालय तहमै शिक्षा पाएपछि छात्राहरूको पठनपाठनमा समेत सुधार हुँदै आएको जिल्ला शिक्षा कार्यालय दोहोली स्रोत केन्द्रका स्रोत व्यक्ति लालबहादुर कुँवरले बताए। ‘पहिलो महिनावारी हुँदा छात्रा विद्यालय नआउने समस्या थियो', उनले भने, ‘५÷६ वर्ष अघिदेखि यो समस्या हटेको छ।' सेवा सञ्चार गुल्मीले विद्यालयमा सुरक्षित महिनावारीसम्बन्धी जानकारी दिन थालेपछि छात्रा र अभिभावकको सोचाइमा परिवर्तन आएको उनले बताए।

५ वर्षदेखि जिल्लामा सुरक्षित महिनावारीसम्बन्धी सचेतना कार्यक्रमले तीव्रता पाउँदै आएका छन्। बैतडी, सुर्खेत र पाल्पामा समेत छात्रालाई जानकारी गराइरहेको गुल्मीका अशोककुमार खड्काले बताए। जिल्लाका धेरैजसो स्थानीय तहले महिनावारी स्वास्थ्य शिक्षा प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएका छन्। इस्मा गाउँपालिकाका विद्यालयमा कार्यक्रम गरेपछि छिट्टै गाउँपालिकालाई नै महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त घोषणा गर्ने तयारी गरिएको कार्यकारी अधिकृत सरोजकुमार पोख्रेलले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.