धुलो व्यवस्थापन सुस्त : राजधानीमा वायु प्रदूषण बढ्दो

धुलो व्यवस्थापन सुस्त : राजधानीमा वायु प्रदूषण बढ्दो

 

काठमाडौं : धुलो व्यवस्थापन सुस्त हुँदा जाडो बढेसँगै उपत्यकामा वायु प्रदूषणको दर बढेको छ । तत्काल व्यवस्थापन गर्न उच्च तहले पटक-पटक निर्देशन दिए पनि सम्बन्धित कार्यालयले व्यवस्थापनमा ढिलाइ गर्दा प्रदूषण बढेको हो ।

गत वर्ष राष्ट्रिय योजना आयोगले अनुगमन गरी धुलो व्यवस्थापन तत्काल गर्न निर्देशन दिएको थियो तर त्यसमा चासो नदिँदा उपत्यकावासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । डेढ महिनादेखि प्रधानमन्त्री कार्यालयले पहल गरे पनि प्रभावकारी रूपमा धुलो व्यवस्थापन हुन सकेको छैन । उपत्यकामा वायु प्रदूषणको मुख्य कारक बनेको धुलो व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।

काठमाडौं महानगर र सडक विभागसँग सहकार्य गरेर धुलो व्यवस्थापन गर्न लागिपरे पनि भनेजस्तो काम गर्न नसकेको द्रुत एक्सन टिमका संयोजक नारायण रेग्मीले बताए । सफा उपत्यका बनाउन सम्बन्धित कार्यालयलाई उत्साहित गरेर कार्ययोजना बनाउने लक्ष्यसहित काम सुरु गरेको उनले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले भने तत्काल उपत्यकाका सबै ठाउँ र देशभरि नै धुलो उठाउन लागिपर्ने जनाएको छ ।

धुलो व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिँदा उपत्यकावासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।

योजनाबिना जथाभावी मर्मत र मेलम्चीको पाइप गाड्न भन्दै सडक खनिएपछि धुलो बढेको पाइएको छ । भत्काउनुअघि नै कार्ययोजना बनाएर मात्र काम अघि बढाउनुपर्ने द्रुत एक्सन टिमको सुझाव छ । उपत्यकाको अवस्थालाई हेरेर सडकको धुलो उठाउनुपर्ने, भत्काइएका सडक तत्काल कालोपत्रे गर्नुपर्ने रेग्मीको भनाइ छ ।

चार वर्षयता काठमाडौंको वायु प्रदूषण विकराल बन्दै गएको छ । राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म वायु प्रदूषण हुने गरेको तथ्यांक छ । महानगरले डेढ महिनादेखि ११ सय ९४ टन धुलो संकलन गरी टेकुमा व्यवस्थापन गरिसकेको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

सुन्धारा, न्युरोड, रत्नपार्क, जमल, लैनचौर, भद्रकाली, सहिदगेट, सिंहदरबार, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, सिंहदरबार परिसर क्षेत्रमा धुलो उठाइसकेको महानगरका वातावरण व्यवस्थापन विभाग कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले बताए । तर टेकु, कलंकी, जोरपाटीलगायत क्षेत्रमा भने धुलो व्यवस्थापन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.