ब्यान्डविथ खपतमा नेपाल सार्कमै कमजोर
काठमाडौं : आईसीटी विकासमा नेपाल सार्क राष्ट्रको पाँचौं स्थानमा भए पनि ब्यान्डविथ खपतमा नेपाल सबैभन्दा कमजोर देखिएको छ। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सार्वजनिक गरेको ‘मेजरिङ दी इन्फर्मेसन सोसाइटी रिपोर्ट' का अनुसार नेपाल सार्क राष्ट्रमध्ये ब्यान्डविथ खपतमा सबैभन्दा कमजोर देखिएको हो।
आईटीयूले सार्वजनिक गरेको तथ्यांकअनुसार सार्क राष्ट्रमध्ये नेपाल इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी(आईसीटी) विकासमा मध्यभागमा देखिए पनि अन्तर्राष्ट्रिय ब्यान्डविथ खपतका हिसाबले सार्क मुलुककै कमजोर देखिएको हो। आईटीयूले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये वार्षिक प्रतिव्यक्ति ३८८५.६४ बिट प्रतिसेकेन्डका दरले इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको छ। यो संख्या सार्क राष्ट्रमध्ये सबैभन्दा न्यून हो।
सार्क राष्ट्रमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने देशमा श्रीलंका छ। श्रीलंकामा इन्टरनेट प्रयोगकर्तामध्ये वार्षिक प्रतिव्यक्ति २२ हजार ३८ बिट प्रतिसेकेन्डका दरले इन्टरनेसनल ब्यान्डविथ खपत हुने गरेको उल्लेख छ। आईटीयूले २०१६ मा सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने मालदिभ्समा वार्षिक प्रतिव्यक्ति ५९ हजार ६ सय ६९ बिट प्रतिसेकेन्डका दरले इन्टरनेसनल ब्यान्डविथ खपत हुने गरेको छ। तर पछिल्लो रिपोर्टमा मालदिभ्सबाट कुनै तथ्यांक नआएको भनि आईटीयूले उल्लेख गरेको छ।
त्यस्तै सन् २०१७ को तथ्यांकको आधारमा सार्क राष्ट्रमध्ये दोस्रो नम्बरमा भुटान छ। भुटानमा वार्षिक प्रतिव्यक्ति १८ हजार ७७ बिट प्रतिसेकेन्डका दरले इन्टरनेसनल ब्यान्डविथ खपत हुन्छ। तेस्रो र चौथो स्थानमा क्रमशः पाकिस्तान र भारत छन्। पाकिस्तानमा वार्षिक प्रतिव्यक्ति १६ हजार ६ सय ३६ र भारतमा वार्षिक प्रतिव्यक्ति १५ हजार नौ सय ५६ बिट प्रतिसेकेन्ड इन्टरनेसनल ब्यान्डविथ खपत हुने तथ्यांकले देखाएको छ। त्यस्तै पाँचौ र छैटौं स्थानमा क्रमशः अफगानिस्तान र बंगलादेश छन्। अफगानिस्तानमा वार्षिक प्रतिव्यक्ति ११ हजार नौ सय ६७ र बंगलादेशमा वार्षिक प्रतिव्यक्ति नौ हजार एक सय ५४ बिट प्रतिसेकेन्ड अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुने आईटीयूले उल्लेख गरेको छ।
आईसीटीको क्षेत्रमा नेपालमा ठूलो विकास भइरेहको उल्लेख गर्दै आएको सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई यो तथ्यांकले घच्घचाएको छ। यसले नेपालमा अझै पनि इन्टरनेटको पहुँच विस्तार गर्नु पर्ने देखाएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार अन्य सार्क देशको तुलनामा नेपालको हरेक क्षेत्रमा इन्टरनेटको पहुँच अभिवृद्धि गर्नुपर्ने अवस्था छ। उनले भने, ‘प्राधिकरणले इन्टरनेट विस्तारको काम गरिरहेकै छ, यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम खर्च गरेर गाउँस्तरमा इन्टरनेट पुर्याउने काम भएको छ। तर सँगसँगै सबै सरकारी निकायमै पनि इन्टरनेटको प्रयोग नहुनु यसको मुख्य कारण हो।' यसको विकासका लागि अझै पनि आधिकारिक निकायले ठूलो गृहकार्य गर्नु पर्ने उनको भनाइ छ।
नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ट निर्देशक आनन्दराज खनालले त तथ्यांकमै केही गडबढ भएको हुन सक्ने बताउँछन्। उनले भने, ‘हामीले लिएको अन्तर्राष्ट्रिय ब्यान्डविथको सही तथ्यांक आईटीयूमा नपुगेको हुन सक्छ। भारत, पाकिस्तान, अफगानिस्तान जस्ता धेरै जनसंख्या भएका देशका तुलनामा नेपाल यो क्षेत्रमा पछि पर्नु अस्वभाविक हो।'
उनका अनुसार तथ्यांकको संकलन एनटीएको सहकार्यमा भएको भए यस्तो हुने थिएन। सदस्य संस्था अर्थात नेपालको सूचना तथा सञ्चार मन्त्रालयले समयमा तथ्यांक नबुझाएको खण्डमा आईटीयूले आफ्नै मापन सूचकका आधारमा पनि यो तथ्यांक निकाल्ने भएकाले यसमा केही तलमाथि भएको हुन सक्ने उनको भनाइ छ। उनले भने, ‘आईटीयूले तथ्यांक नबुझाएको खण्डमा जीडीपी र विकासक्रमलाई आधार मानेर यो तथ्यांक निकाल्ने गरेको छ।' तर यथार्र्थमा नेपालमा प्रतिव्यक्ति अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत राम्रो भइसेकेको उनको दाबी छ।
उनका अनुसार मन्त्रालयले तथ्यांक पठाउने भएकाले यो मन्त्रालयबाट भएको समस्या पनि हुन सक्छ। तर कतिपय कुरामा सही तथ्यांक संकलन नहुनु पनि यसको मुख्य कारण हो। एनटीएसँग अहिले नेपालमा कति अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ भन्ने यकिन तथ्यांक छैन। उनले भने, ‘एनटीसीबाहेकका अन्य कम्पनीको ब्यान्डविथका लागि पैसाको सिफारिस गर्ने काम एनटीएले गरिरहेको छ।
तर नेपाल टेलिकमले सिधै राष्ट्र बैंकमार्फत पैसा तिर्ने भएकाले नेपाल टेलिकमले कति अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग गरिरहेको छ भन्ने एनटीएसँग एकिन तथ्यांक छैन।' नेपाल टेलिकमजस्तो सबैभन्दा ठूलो कम्पनीले प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथको सही तथ्यांक नहुनु पनि यसको समस्या हो। यसका लागि एनटीएले काम अघि बढाइसकेको खनालले बताए।
प्राधिकरणसँग भएको तथ्यांकअनुसार अहिले नेपालमा एक सय १० जीबीको हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ विभिन्न नेटवर्क सर्भिस प्रोभाइडरमार्फत आएको छ। तर इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) ले दिएको तथ्यांक हेर्ने हो भने नेपालमा एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको छ। अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेट प्रयोग भइरहेको छ। प्राधिकरण र आईएसपीको फरक तथ्यांकले पनि यसको यथार्थतालाई दर्शाएको छ।
प्रतिक्रिया दिनुहोस !