शीतलहरले जनजीवन कष्टकर, विद्यालय थप चारदिन बन्द
वीरगन्ज : शीतलहरको कहर बढ्दै गएपछि पर्सा, बारा, रौतहटसहितका जिल्लामा स्थानीयको जनजीवन निक्कै कष्टकर बनेको छ। एक साता यता तीन जिल्लामा घाम लागेको छैन भने बिहान र बेलुकको समयमा बाक्लो हुस्सु लाग्ने गरेको छ। दिनभर चिसो सिरेटोसहितको शीतलहर बढेका कारण बजार र सडकमा मानिसको चहल पहल निक्कै पातलिएको छ।
पर्सा र बारामा एक सातायता तापक्रम पनि निक्कै झरेको छ। बाराको सिमरामा रहेको मौसम विभागको फिल्ड कार्यालयका अनुसार एक सातायता बारा र पर्सा आसपासको तापक्रम सुन्दर न्युनतम २ दशमलव ६ र अधिकतम १० डिग्री सेल्सियस मात्र रहेको छ। शनिबार पनि न्युनतम तापक्रम दुई दशमलव ७ र अधिकतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको मौसम विभागको फिल्ड कार्यालयका प्रमुख केशवराज खरेलले जानकारी दिए।
बढ्दो चिसो र शीतलहरका कारण वीरगन्जको बजारमा रिक्सा र ठेला तान्नेका साथै खुल्ला आकाश मुनि दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएका गरिब तथा विपन्नलाई सबै भन्दा बढी सास्ती भएको छ।
चिसो झन बढ्दै गएपछि पर्सा र बारामा रहेका विद्यालय थप चार दिनका लागि बन्द गरिएको छ। चिसो बढेर विधार्थीलाई विद्यालय जान अप्ठयारो भएपछि पर्सा र बाराका सामुदायीक तथा निजी विद्यालय यसअघि पुष १७ गतेदेखि २१ गतेसम्म बन्द गरिएको थियो। तर, चिसो कम हुनुको सट्टा थप बढ्दै गएपछि पर्सा र बाराका सबै विद्यालयमा पुष २६ गतेसम्म विदा थप गरिएको हो। पुष २७ गते बिहीबार पृथ्वी जयन्तीको सार्वजनिक बिदा, २८ गते शुक्रबार र २९ गते शनिबार परेकाले अब पुष ३० गते आइतबार मात्रै विद्यालय खुल्ने पर्साका जिल्ला शिक्षा अधकारी बरखुप्रसाद रजकले जानकारी दिए।
जिल्ल शिक्षा कार्यालय पर्साका अनुसार पर्सामा रहेका सामुदायिक तथा निजी गरी पाँच सय १२ विद्यालयमा एक लाख सात हजार विद्याथीहरु अध्ययनरत रहेका छन्। यस्तै बारामा रहेका सामुदायिक तथा निजी गरी पाँच सय ४८ विद्यालयमा ८० हजार विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालय बाराले जनाएको छ।
चिसो र शीतल बढ्दै गएपछि वीरगन्ज महानगरपालिका कार्यालय महानगरका चोक चोक दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका कार्यालयले पनि जितपुर र सिमराका चोक चोकमा आगो ताप्नका लागि निशुल्क दाउरा उपलब्ध गराएको छ।
जिल्ला वन कार्यलय र निजगढस्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिसँग समन्वयय गरी उपमहानगरको कार्यलयमा ल्याइएका दाउरा वडा कार्यलयमा पठाइएको नगर प्रमुख डा.कृष्ण पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !