समूहमार्फत हिसाब खोज्दै महिला
सुर्खेत : बराहताल गाउँपालिका-५ सालघारीकी गीता आले घरायसी काममा सीमित थिइन्। छिमेकका अन्य महिलाहरू पनि घरायसी बाहेकका काममा चासो दिँदैनथे। सामाजिक चासोका सबै काम पुरुषहरूको जिम्मामा हुन्थे। गाउँपालिकाले महिलाकै नाममा छुट्याइएको बजेट पनि पुरुषहरूकै योजनामा खर्च हुन्थ्यो। महिलाहरू यसबारे अनभिज्ञ हुन्थे।
आजभोलि गीता आलेलगायत सालघारीका महिलाहरू आमा समूहमा आबद्ध भएका छन्। त्यसपछि भने उनीहरूले महिलाको नाममा आउने बजेटमा समेत पुरुषहरूकै हालिमुहाली हुने गरेको थाहा पाए। छलफल गर्दै जाँदा महिलाहरूले अब यस्तो हुन नदिने प्रण गरे। अचेल आफ्ना लागि आएको बजेटको हिसाबसमेत उनीहरूले खोज्न थालेका छन्। अहिले यहाँका महिलाहरूले आफ्ना लागि भनेर छुट्याइएको मात्र होइन, समग्र गाउँपालिका र वडाका हरेक योजनाका हिसाब माग्ने गरेका छन्।
महिलाहरूमा यो चेतना र परिवर्तन भने ‘सालघारी स्वावलम्बन आमा समूह'ले ल्याइदियो। ‘आमा समूहमा आबद्ध नभएको भए म यस्ता धेरै कुरा थाहा पाउनबाटै वञ्चित हुने रहेछु', गीताले भनिन्, ‘जब आमा समूहमा लागें, तब मेरा आँखा खुले।' गीता पाँच वर्षअघि गठन भएको सालघारी स्वावलम्बन आमा समूहको सदस्य बनिन्। २५ सदस्यीय यो समूहमा विभिन्न विषयमाथि छलफल हुने गर्छ। महिलाहरूका लागि बजेट हुन्छ र कतिसम्म आउँछ भनेर कसैलाई थाहा थिएन। महिलाहरू एकजुट भएर यसबारे खोजी गर्न थाले। अहिले उक्त आमा समूह सामाजिक विकासमा सक्रिय बनेको छ।
टोलटोलबाट महिलाहरूले योजना छनोट गरेर पठाए पनि पठाएका योजनामा बजेट नपरेपछि उनीहरू सामूहिक रूपमै सक्रिय हुन थालेका हुन्।
विगतका हरेक वर्ष गाविसबाट विभिन्न शीर्षकमा बजेट छुट्याइन्थ्यो। टोलटोलबाट महिलाहरूले योजना छनोट गरेर पठाए पनि पठाएका योजनामा कहिल्यै बजेट नपरेको उनीहरू बताउँछन्। ‘पहिले हामीलाई योजना बनाएर पठाउँदा बजेट परेन, किन परेन भनेर चासो पनि दिएनौं', गीताले भनिन्, ‘समूहमा बस्न थालेपछि बजेट हामीले पनि पाउने रहेछौं भन्ने लाग्यो, त्यसपछि खोजी गर्न थाल्यौं।' पहिला बजेट माग गर्दा नपाएको आमा समूहका अध्यक्ष कुमारी सारूले बताइन्। ‘पहिला हामीले बजेट माग गर्दा पाएनौं', उनले भनिन्, ‘एकपटक बालविवाह न्यूनीकरणका लागि भनेर बजेट मागेका थियौं, तर अन्तिममा कार्यक्रम गर्दा पाएनौं। पछि आफ्नै खर्चमा कार्यक्रम सम्पन्न गर्यौंम।' ‘मानिसहरू नेता समातेर बजेट आफ्नो टोलमा पार्ने गर्थे, तर हामी नेताको पछि लागेनौं', उनले थपिन्, ‘हामीले सामूहिक रूपमा आवाज उठायौं र अहिले आमा समूहको सामूहिक भवनको लागि दुई लाख बजेट छुट्याउन सफल भयौं।'
महिलाहरू एकजुट भएपछि आफूहरूले चाहेको योजना छनोट गर्न, बजेट विनियोजन गराउन र काम गर्न सजिलो भएको समूहकी सदस्य शारदा श्रेष्ठले बताइन्। यस्तै वीरेन्द्रनगर १४ निवासी टीका रोकाय पनि महिलाहरूका लागि छुट्याइएको बजेट पाउन ठूलै संघर्ष गर्नुपरेको बताउँछिन्। ‘महिलाका पैसा कहाँबाट आउँछ र कहाँ जान्छ भन्ने नै थाहा हुँदैन्थ्यो, महिलाका लागि बजेट छुट्याएको थाहा नै थिएन्', फूलबारी स्वास्थ्य आमा समूहकी अध्यक्ष टीका रोकायले भनिन्, ‘स्वास्थ्यका बारेमा मात्र छलफल गर्ने हाम्रो आमा समूहमा पछि महिलाका लागि छुट्टिने बजेटका विषयमा पनि छलफल गर्न थाल्यौं र बजेटको खोजी गर्यौं।' बराहताल गाउँपालिकाअन्तर्गत साविकका कुनाथरी, गढी र लेखगाउँमा गठन भएका २५ वटा स्वावलम्बन आमा समूहले गत वर्ष महिलाका लागि १९ लाख रुपैयाँ छुट्याउन सफल भएका थिए।
महिलालक्षित बजेट मात्र नभएर उनीहरू विकासका अन्य कामका लागि पनि बजेट छुट्याउन सफल भएका छन्। महिलाहरूकै पहलमा खानेपानी, बाटो र सिँचाइलगायत क्षेत्रमा पनि बजेट विनियोजन गरी आयोजना सम्पन्न भएका छन्।
फूलबारी आमा समूहमा आबद्ध महिला आपसमा छलफल गर्दै। तस्बिर : अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !