चिसोका कारण रौतहटमा पाँचको मृत्यु
गौर : शितलहर सँगै रौतहटमा अत्यधिक चिसो बढेपछि कठांग्रिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। शनिबार राति मात्र दुई जनाको मृत्यु भएको छ। शनिबार राति परोहा नगरपालिका २ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ बर्षिया मरठिया देवी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
साँझ खाना खाएर सुतेरका उनीहरु बिहान मृत अवस्थामा भेटिएका हुन्। चिसोकै कारण उनीहरुको मृत्यु भएको शव परीक्षण प्रतिवेदन प्रहरीलाई प्राप्त भएको रौतहट प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए।
गएको शुक्रबार राति राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १ समनपुर रहेको इँटा उद्योगका मजदुर सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलिको ज्यान गएको थियो। यस्तै गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम पनि चिसोका कारण ज्यान गएको प्रहरीको भनाइ छ।
एकसाता अघिदेखि शितलहर सँगै हावा चलेको र बाक्लो हुस्सु लागेकाले अत्याधिक जाडो बढेको छ। जाडोले सरकारी कार्यालयमा सेवाग्राहीहरु घटेका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा विभिन्न स्थानमा आगो बालेर ताप्ने व्यवस्था गरिएको स्थानीय प्रशासनले जनाएको छ। चिसो बाट अति पीडित दलित तथा गरिब बस्तीमा कम्वल वितरण गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिएका छन्।
जिल्ला वन कार्यालय रौतहटले स्थानीय प्रशासनको सिफारीसमा स्थानीय तहमा आगो ताप्नका लागि दाउरा वितरण गरेको रौतहटका डिएफओ दीर्घनारायण कोइरालाको भनाइ छ।
चिसो अझै बढेपछि जिल्लाका सामुदायिक विद्यालयमा चारदिन थप बिदा दिइएको छ। जाडोका कारण जिल्ला शिक्षा कार्यालयले पुस २१ सम्म दिएको विदा २६ गतेसम्म थपेको हो। प्रतिकूल मौसमका कारण विद्यालय संचालन गर्न कठिन भएकाले बिदा दिनु परेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले बताए।
चिसोका कारणले चन्द्रनिगाहपुर, गरुडा , गौर बजारमा चहल पहलमा कमी आएको छ। चिसोका कारण वृद्ध, असक्त, बालबालिका, दमका रोगी बढी पीडित भएका छन्। दमका रोगी, बालबालिका बढी उपचार गराउन आउने गरेको चन्द्रपुर अस्पताल प्रालिका डा. सुवासकुमार चौधरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !