तापक्रम निरन्तर ओरालो
विराटनगर : विराटनगरमा वर्षकै कम तापक्रम मापन भएको छ । हावापानी फिल्ड कार्यालय विराटनगरले आइतबार न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको जनाएको छ । यहाँको अधिकतम तापक्रम १० डिग्री मापन भएको छ । ‘शनिबार न्यूनतम तापक्रम ७.५ डिग्री मापन भएको थियो’, कार्यालय प्रमुख विकास देउजाले भने, ‘शनिबार १०.६ डिग्री अधिकतम तापक्रम थियो ।’
देउजाका अनुसार केही दिनदेखि बाक्लो हुस्सु लागेर चिसो हावासँगै शीतलहर चल्न थालेपछि तापक्रम निरन्तर ओरालो झर्ने क्रम जारी छ ।अझै केही दिन यस्तो अवस्था रहने पूर्वानुमान गरिएको छ । एक सातायता बढेको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
विराटनगरको लाइफगार्ड अस्पतालले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाइदिएको छ । चार ठाउँमा आगो ताप्नका लागि दाउराको व्यवस्था गरिदिएको अस्पतालका प्रमुख डा. कैलाश श्रेष्ठले जानकारी दिए । भने, ‘विभिन्न ठाउँका लागि अस्पतालले १० क्विन्टल दाउरा वितरण गरेको छ ।’
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले चिसोबाट सर्वसाधारणलाई बचाउनका लागि दाउरा व्यवस्थापनको काम भइरहेको जानकारी दिए । भने, ‘आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहले वन कार्यालयसँग दाउरा माग गरिसकेका छन्।’
केही दिनयता निरन्तर शीतलहर चल्न थालेपछि बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा चहलपहल कम हुँदै गएको छ। सडकमा सवारी साधनको चाप पनि कम छ । चिसोले घरबारविहीन भएका र जाडोमा न्यानो कपडा किनेर लगाउन नसक्ने समस्यामा परेका छन्।
विद्यालयमा पाँच दिन बिदा
चिसो अत्यधिक बढेपछि मोरङका विद्यालयले पाँच दिन बिदा दिएका छन् । जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आइतबार गरेको हो । सोमबारदेखि लागू हुने गरी पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले बताए । भने, ‘थेग्नै नसक्ने गरी चिसो बढेको छ । विद्यार्थीको संख्यामा पनि कमी हुँदै गएकाले तत्कालका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो।’ उनले चिसो यही अवस्थामा रहे वा चिसो थप बढेर विद्यार्थीलाई विद्यालय जाने सहज वातावरण नबने बिदा लम्बिन सक्ने पनि बताए।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जाडोका कारण विद्यालय जाने बालबालिकालाई समस्या हुन थालेपछि बिदा दिने विषयमा तत्काल निर्णय लिन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएका थिए । मोरङमा पाँच सय ९६ सामुदायिक र तीन सय ८४ निजी विद्यालय छन्।
कतिपय निजी विद्यालयमा अहिले परीक्षा सञ्चालन भइरहेको छ । शिक्षा समितिले बिदा दिने निर्णय गरेपछि निजी विद्यालयले पनि पछि परीक्षा गर्ने गरी तत्कालका लागि बन्द गर्ने भएका हुन् । ‘चिसो केही कम हुन्छ कि भनेर पर्खेर बसेका थियौं’, कट्टेलले भने, ‘एक सातायता चिसो बढ्दै गएपछि विद्यालय नै बन्द गर्नुको विकल्प देखिएन।’
विपन्नलाई घुरको सहारा
जितेन्द्रनारायण ठाकुर
विराटनगर : तराई-मधेसका विपन्न परिवारका लागि बाक्लो हुस्सुसँगै शीतलहरको कहरबाट जोगिने माध्यम घुर बनेको छ ।
आर्थिक रूपमा विपन्न परिवारले घुरको सहाराले शीतलहर र चिसो स्याँठबाट जोगिनुपर्ने बाध्यता छ । बाढीले घरमा भएका लत्ताकपडा सखाप पारेकाले विराटनगर रामपुरका विपन्न परिवारलाई चिसोबाट जोगिन निकै सकस परेको छ । स्थानीय अयोधीलाल साहले भने, ‘तीन दिनदेखि घामसमेत नलाग्दा चिसोले ज्यान जोगाउनै कठिन भएको छ । वृद्धवृद्धा र केटाकेटीलाई त झनै समस्या भएको छ ।’ अहिले घुर तापेरैै शीतलहरबाट जोगिने गरेको उनले बताए ।
बाढीले लुगाफाटा बगाएका अनि घरमा केही नहुनेको दैनिकी निकै कष्टकर बनेको छ । घुर बाल्न दाउरासमेत नभएकाले विपन्नले कचरा, प्लास्टिकमा आगो बालेर ताप्ने गरेका छन् । केही दिनयता चिसो हावा चल्नुका साथै कुहिरो लाग्दै आएकाले विपन्नले सामूहिक रूपमा घुर ताप्ने गरेका छन् ।
रामपुरका ६४ वर्षीय अरफी कामतले न्यानो कपडा नहुँदा घुरको आगो तापेर ज्यान जोगाएको बताए । भने, ‘घुरका लागि दाउरासमेत किन्न सक्ने अवस्था छैन । फोहोरमा भएका प्लास्टिक ल्याएर सामूहिक रूपमा घुर ताप्ने गरेका छौं ।’
स्थानीय घुरनी सहनीले लुगा नभएकाले आफूहरूको बिजोग भएको सुनाए । लक्ष्मण सहनी पनि आफ्नो झुपडीमा पराल बिछ्याएर शीतलहरबाट जोगिने गरेका छन् । विपन्न बाढीपीडितलाई यति बेला निकै सकस भएको उनले सुनाए । भने, ‘मजदुरी गरेर खाने हामीलाई यो जाडो त कालजस्तै हो ।’
प्रतिक्रिया दिनुहोस !