नैनीतालमा नेपाली विद्यार्थी मृत्युको तीन वर्ष : प्रिन्सिपल दोषी, कारबाही नै भएन
काठमाडौं: भारतको उत्तराखण्डस्थित नैनीतालको सेरउड कलेजमा तीन वर्षअघि नेपाली विद्यार्थी सान प्रजापतिको रहस्यपूर्ण मृत्युको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै शनिबार माइतीघर मण्डालामा परिवारजन र आफन्तले प्रदर्शन गरेका छन् ।
जस्टिस फर सान लेखिएको प्लेकार्डसहित सयौं शुभेच्छुक जम्मा भएर दोषीमाथि कारबाही माग गरेका हुन् । प्रदर्शनमा नेपाली सिने क्षेत्रका स्थापित कलाकार, खेलाडी, बैंकर, व्यासायी र मृतककी आमा नीना श्रेष्ठसहित सर्वसाधारण सहभागी भए ।
उक्त मृत्यु प्रकरणमा सेरउड कलेजका प्रिन्सिपल अमनदिप सिंह सन्तु र दुई कर्मचारीलाई दोषी ठहर गर्दै प्रहरीले तयार गरेको चार्जसिट नैनीताल हाइकोर्टमा दर्ता छ । त्यसको सुनुवाई अब चाँडै हुने वकिलहरुले बताएका छन् ।
निर्दोष नेपाली विद्यार्थीमाथि लापरबाही भएको भन्दै संलग्नमाथि कारबाहीका लागि दबाब दिन कलेजका पूर्वविद्यार्थीले तीन वर्षदेखि 'जस्टिस फर सान' अभियान चलाइरहेक छन् । जसको नेतृत्व सेरउड कलेका पूर्व विद्यार्थीसमेत रहेका समाजसेवी तथा राप्रा प्रजातान्त्रिकका केन्द्रीय सदस्य उज्ज्वल विक्रम थापाले गरेका छन् ।
‘भारतीय न्यायिक प्रणालीमा चार्ज सिटेट भइसकेको व्यक्तिलाई केबल क्वान्टम अफ पनिसमेन्ट (अर्थात्, सजाय कुन प्रकारको दिने) भन्ने मात्रै बाँकी हो’ संयोजक थापाले भने, ‘भारतमा स्वतन्त्र र निस्पक्ष न्याय पाउने वा नपाउने यो समस्त नेपालीको चासोको बिषय हो ।’
कक्षा ९ मा अध्ययनरत सानको २०७१ कात्तिक २७ गते रहस्यमय मृत्यु भएको थियो । सामान्य ज्वरो आएर बान्ता भएको अवस्थामा उनलाई न्यूनतम मानीय व्यवहारसमेत नगरी उपचारमा लापरबाही गर्दा मृत्यु भएको थियो । सान विरामी भएको भन्दै तारन्तार आमा निना श्रेष्ठलाई खबर भयो तर निना नयाँ दिल्ली पुग्दा सानको शब ल्याइएको थियो ।
प्रहरीले सन् २०१६ जनवरी २० अर्थात् आजकै दिन कलेज प्रशासनको लापररबाहीबाट सानको मृत्यु भएको किटानीसहितको विस्तृत अनुसन्धान अदालतमा बुझाएको थियो । त्यसपछि सानकी आमा नीनाका तर्फ प्रिन्सिपल अमनदिप सिंह सन्तदु, कलेजका नर्स र हाउस मास्टरविरुद्ध मुद्दा दर्ता भइसकेको छ । उक्त कलेज ‘चर्च अफ नर्थ इन्डिया’को आगरा डायसिस (शाखा)द्धारा सञ्चालित छ ।
‘प्रहरीको अनुसन्धानमा दोषी ठहर भइसकेका प्रिन्सिपल अमनदिपलाई पदबाट बर्खास्त नगर्दा कलेजको आर्थिक श्रोत र सामाजिक शक्ति प्रयोग गरेरर निर्दोष बालकको मुद्दा प्रभावित हुन सक्ने सम्भावना उत्तिकै छ', अभियानका संयोजक थापाले भने, 'प्रहरी छानविनमा दोषी ठहर भइसकेको प्रिन्सिपललाई अहिले पनि कलेजमा अध्ययनरत ८ सय विद्यार्थीको जिम्मा दिइनु कदापि न्यायोचित छैन ।'
भारतीय न्यायिक प्रणालीमा चार्ज सिटेट भइसकेको व्यक्तिलाई केबल क्वान्टम अफ पनिसमेन्ट (अर्थात्, सजाय कुन प्रकारको दिने) भन्ने मात्रै बाँकी छ । भाजपा नेता तथा सांसद् अनुराग ठाकुर, मोनिका गान्धी (सोनिया गान्धीकी देउरानी), सञ्जय गान्धीका छोरा भाजपा सांसद वरुण गन्धी, भारतीय कंग्रेसका सांसद सत्यव्रत चतुर्वेदी, भारतीय र नेपाली सञ्चारमाध्यमले सानको मृत्युमा संलग्नमाथि कारबाही हुनुपर्ने बताउँदै आएका छन् । घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा पनि जानकार रहेको थापाले बताए ।