डेरा खोज्दै सांसद

डेरा खोज्दै सांसद

बुटवल/हेटौंडा : शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो- डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन्।

‘बुटवलमै दुई-चारवटा फ्ल्याट हेरेँ, निकै महँगो रहेछ’, सोमबार प्रदेश प्रमुखको कार्यालयमा भेटिएका बलालले भने, ‘नयाँ गाउँ÷बेलबासतिर गएर फ्ल्याट लिँदै छु।’ संसद् बैठक सुरु भएपछि केही दिन बिदा नमिल्ने भएकाले पनि बाहिरी जिल्लाका सांसदलाई आवास अनिवार्य छ।

नवलपरासी, कपिलवस्तु र पाल्पासम्मका सांसद घरबाटै आउजाउ गर्नसक्ने सम्भावना भए पनि बुटवलमै बस्ने गरी डेरा खोज्दै छन्। बुटवलमा काठमाडौंमा जस्तो सहजै फ्ल्याट नपाइएको सांसदहरू बताउँछन्।

बुटवल अस्थायी मुकाम हो। संसद्को दुईतिहाइ मतले मात्रै स्थायी मुकामको टुंगो लाग्छ। तर, धेरैजसो सांसद अब स्थायी केन्द्र पनि बुटवलमै हुने विश्वाससाथ बसोवासको व्यवस्था गर्दै छन्। प्रत्यक्ष र समानुुपातिक गरी रुपन्देहीका २० जनाबाहेक ६७ जनाका लागि बुटवलमा डेरा आवश्यक छ।

‘दुई÷चार फ्ल्याट हेरेँ तर फाइनल भएको छैन’, अर्घाखाँचीकी समानुपातिक सांसद निर्मला क्षत्रीले भनिन्, ‘स्थायी बसोवास नभएकाहरू सबैले कोठा भाडामा लिनै पर्ने भो !’ फ्ल्याट खोज्दै हिँडेका सांसदले बुटवलका घरधनीले भाडा महँगो बनाएको बताएका छन्। बुटवलमा प्रतिकोठाको चार हजारसम्म भन्न थालेपछि सांसदहरू तिलोत्तमाको शंकरनगर, बुटवलकै नयाँ गाउँ÷बेलवासलगायत स्थानमा डेरा खोज्न थालेका छन्।

समानुपातिक सांसद जल्पा भुसाल पनि बुटवलमै बसोवासको व्यवस्था मिलाउने तयारीमा छिन्। आइतबार काठमाडौंबाट भैरहवा आउने विमान नउडेपछि शपथबाट छुटेकी उनले सोमबार मात्रै शपथ लिएकी छन्।

कार्यालय खोज्दै कर्मचारी

प्रदेश प्रमुखका लागि सचिवालय व्यवस्थापन भए पनि अन्य प्रशासनिक भवनको अझै टुंगो लागिसकेको छैन। जिल्ला प्रशासन, भवन डिभिजनलगायत कार्यालयका प्रमुखहरू प्रदेशका लागि आवश्यक पूर्वाधार जुटाउनमै व्यस्त छन्।

प्रदेश सचिव सनत डुवाडीले प्रदेश प्रमुखको आवाससहित थप कर्मचारी आएपछि कार्यालय व्यवस्थापन प्रक्रिया चलिरहेको बताए। ‘स्थानीय प्रशासनको सरसल्लाहमा भवनको व्यवस्थापन हुँदै छ’, उनले भने, ‘कर्मचारी आइपुग्दासम्म व्यवस्था मिल्छ।’

मुख्यमन्त्री र संसद्को कार्यालय व्यवस्थापन अझै भइसकेको छैन। प्रदेश प्रमुख उमाकान्त झाका लागि भने रुपन्देही व्यापार संघको भवन प्रयोग गरिएको छ तर आवास व्यवस्थापन भएको छैन। बुटवलमै रहेको सडक डिभिजनको अतिथि कक्षमा प्रदेश प्रमुख झा र सचिव दवाडी बसिरहेका छन्। पहिलो बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेल भने निजी निवासमै छन्।

प्रदेश मन्त्रालयका लागि ६ तले श्रम कार्यालय प्रयोग गर्ने तयारी छ। संसद् भवन र सचिवालय बुटवल उद्योग वाणिज्य संघको भवन नै हुने सम्भावना देखिएको छ। भवन डिभिजन रुपन्देहीका प्रमुख सुरेश ठाकुरले प्राविधिक समितिको सिफारिस तथा मन्त्रालयको समन्वयमा भवन व्यवस्थापनको काम चलिरहेको बताए।

काठमाडौंकी प्रदेश सांसद रमा आलेमगर आइतबार शपथ लिनेबित्तिकै हेटौंडा बजार निस्किन्, डेरा खोज्न।

‘हुप्राचौरनजिक एउटा घर हेरिसकें’, एमाले सांसद मगरले भनिन्, ‘घरबेटीसँग कुरा गरेर टुंगो लगाउन बाँकी छ।’ घरै भाडामा लिएर महिला सांसदहरू सँगै बस्ने योजना रहेको उनले सुनाइन्। ‘हामी त कम्युनिस्ट पर्‍यौं, सामूहिकतावादी, त्यसैले मिलेर भाडामा बस्ने सल्लाह गरेका छौं’, उनले भनिन्।

काठमाडौंकै सांसद न्हुच्छेनारायण श्रेष्ठ पनि हेटौंडामा कोठा खोज्दै छन्। ‘हेटौंडा-काठमाडौं ओहोर-दोहोर गरिरहन सम्भव छैन’, कांग्रेस सांसद श्रेष्ठले भने, ‘साथीलाई कोठा खोज्न भनेको छु।’ हेटौंडा-काठमाडौं छोटो बाटो भए पनि उनी डेरा लिएर बस्ने निर्णयमा पुगेका हुन्। संघीयता कार्यान्वयनको चरणमा रहेकाले नयाँ-नयाँ अनुभव गरिरहेको उनी बताउँछन्। ‘राजधानी जहाँ रहे पनि केही भएन तर राजधानी बाहिरको यात्रा र बसाइ नयाँ नै हुन्छ’, उनले भने।

काठमाडौंका पूर्वमेयरसमेत रहेका सांसद केशव स्थापित पनि हेटौंडामै कोठा लिएर बस्ने सोचमा छन्। ‘मैले कोठा खोज्न सुरु गरेको छैन तर अब खोज्नुपर्ला’, उनले भने, ‘पहिलोपटक संघीयताको अभ्यास गरेकाले नीति-नियम बनाउन महिनौंसम्म संसद् अधिवेशन बस्न सक्छ, त्यस्तो बेला होटलमा बसेर साध्य लाग्दैन।’

काठमाडौंबाट सांसद जितेर अन्य सहरमा कोठा खोज्नुपरेकोमा उनलाई दुखेसो छैन। ‘नयाँ ठाउँको विकास हुन्छ, चहलपहल बढ्छ’, उनी भन्छन्, ‘यसले राम्रै काम गरेको छ।’

नुवाकोटकी कल्पना नेपाली भने डेरा खोज्ने मामिलामा अन्योलमै छिन्। ‘अहिले नै के गर्ने भन्ने टुंगो छैन, साथीहरूसँग सल्लाह गर्दै छु’, उनले भनिन्, ‘हेटौंडा नै स्थायी राजधानी हुने भयो भने त लिनु नै पर्ला।’

केही सांसदले जिल्लास्थित पार्टी नेतालाई कोठा खोज्ने जिम्मा दिएका छन्। एमाले मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलले भनिन्, ‘केही माननीयले कोठा खोज्ने जिम्मा दिनुभएको छ। प्रदेशसभा सचिवालयबाट नजिकका स्थानमा कोठा हेर्दै छु।’ बाहिरका सांसदलाई हेटौंडा बसाइ सहज बनाउन सक्दो सहयोग गरिरहेको उनले सुनाइन्।

त्यस्तै जिम्मेवारी छ, कांग्रेस मकवानपुरका सभापति तथा प्रदेशसभा सांसद इन्द्र बानियाँलाई। ‘पार्टीका माननीयलाई हेटौंडा बसाइको निम्ति सहजीकरण गरिरहेको छु’, उनले भने, ‘होटलमा बसेर सम्भव नहुने भन्दै केही साथीले कोठा खोज्न भन्नुभएको छ।’ प्रदेश ३ मा १ सय १० सांसद छन्। तीमध्ये सबैभन्दा बढी काठमाडौंकै छन्। अस्थायी राजधानी रहेको मकवानपुरमा ८ जना सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.