राष्ट्रियसभा चुनावमा माओवादीबाट १४ पदमा ६ दर्जन आकांक्षी

राष्ट्रियसभा चुनावमा माओवादीबाट १४ पदमा ६ दर्जन आकांक्षी

काठमाडौं : एमालेसँग चुनावी तालमेलका आधारमा राष्ट्रियसभाको १४ सिटमा उम्मेदवारी दिन लागेको माओवादी केन्द्रमा ६ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्। पार्टी हेडक्वार्टरले सकभर सहमति, नभए बढीमा तीन जनाको नाम सिफारिस गर्न आग्रह गरे पनि कतिपय प्रदेश कमिटीले एउटै सिटका लागि १० जनासम्म नाम पठाएका छन्।

सर्वसम्मत रूपमा कसैको पनि नाम सिफारिस नआएको माओवादीले जनाएको छ। सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी शीर्ष नेता र प्रदेश इन्चार्जको बैठकमा सातवटै प्रदेशका इन्चार्ज/संयोजकहरूले आ-आफ्नो प्रदेशमा पार्टीको भागमा परेको सिटमा उम्मेदवार सिफारिस गरेको ६ नम्बर प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए। ‘प्रदेश कमिटीले हेडक्वार्टरलाई सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ, अब शीर्ष नेताहरूले टुंगो लगाउनुहुन्छ,' उनले भने।

माओवादीले प्रदेश १ मा महिला एक सिट, प्रदेश २ मा महिला एक सिट, प्रदेश तीनमा खुला एक र महिला एक सिट, प्रदेश ४ मा खुला एक र दलित एक सिट, प्रदेश ५ मा महिला एक, खुला एक र अल्पसंख्यक एक सिट, प्रदेश ६ मा महिला एक, खुला एक र अल्पसंख्यक एक सिट तथा प्रदेश ७ मा महिला एक र खुला एक सिटमा मात्र पार्टीका तर्फबाट उम्मेदवार उठाउँदै छ। अन्य सिटमा भने उसले एमाले उम्मेदवारलाई सहयोग गर्नेछ।

दुई पार्टीबीच कुल ५६ सिटमध्ये ४३ सिट जित्ने आकलनसहित एमाले-माओवादीले सिट भागबन्डा गरेका थिए। प्रदेशले सिफारिस गरेका उम्मेदवारको नाम मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बसेर टुंगो लगाउनेछन्। राष्ट्रियसभा चुनावका लागि बुधबार दलहरूले मनोनयन दर्ता गर्नु पर्नेछ।

रामबहादुर थापा चुनाव लड्ने

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका वरिष्ठ नेता रामबहादुर थापा राष्ट्रियसभामा भने उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रले एमालेसँगको तालमेलका आधारमा प्राप्त गरेको प्रदेश ३ को खुलातर्फ थापा उम्मेदवार बन्न लागेका हुन्। प्रदेश कमिटीले थापासहित लीलामणि पोखरेल र कृष्णप्रसाद सापकोटाको नाम खुलातर्फकै उम्मेदवारका लागि सिफारिस गरेको छ। मंगलबार उनीसहित बस्ने तीन शीर्ष नेताको बैठकले अनुमोदन गरे उनी राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बन्नेछन्।

थापाका अतिरिक्त दीनानाथ शर्मा, कालिबहादुर मल्ल, मायाप्रसाद शर्मा, विमला सुवेदी, देवराज रेग्मीलगायतको नाम पनि सिफारिसमा परेका छन्। त्यस्तै, चन्द्रकुमारी बस्नेत, बीना पोखरेल, नरमाया भट्टराई, गंगा पराजुली, सरीता महर्जन, गजाधर सापकोटा, पार्वती दुलाल, लालिराम लोहार, महेशकुमार महरा, जनक जोशी, बालकृष्ण चौधरी, जीवन बुढा, निमबहादुर बुढाथोकी, ललिता रेग्मी, प्रतिमा केसी, गुटल लामालगायतको नाम पनि सूचीमा छ।

सबैभन्दा बढी प्रदेश ७ को खुला सिटमा १० जना सिफारिस भएका छन्। ‘जिल्लाबाट सिफारिस भएका सबैको नाम केन्द्रलाई नै छान्न सिफारिस गरेकाले संख्या धेरै देखिएको हो,' प्रदेश ७ का संयोजक लक्ष्मणदत्त जोशीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.