आगलागी भएको डीप बोरिङको अवस्था बुझ्न आएनन् कर्मचारी

आगलागी भएको डीप बोरिङको अवस्था बुझ्न आएनन् कर्मचारी

भक्तपुर : गएको चैत ५ गते भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटारमा खानेपानीको लागि गरिएको डीप बोरिङबाट ग्यास निस्किएर आगलागी भएको थियो। ‘आगलागी भएको डीप बोरिङको अवस्था कस्तो छ भनेर अहिलेसम्म कुनै पनि सरकारी कर्मचारी फर्केर पनि आएका छैनन्', चापाखर्क खानेपानीका सचिव सुरज मिश्रले भने, ‘मन्त्री नै आएर हेरेर जानुभएको थियो।

मन्त्रीले नै हामी सबैसामु भूगर्भ तथा खानी विभागका कर्मचारीलाई फोकल पर्सन तोक्नुभएको थियो। तर उहाँ अहिलेसम्म दोहोर्‍याएर आउनुभएको छैन।' डीप बोरिङको लागि पाइप जोड्न वेल्डिङ गर्ने क्रममा निस्किएको झिल्कोले ग्यास टिपिएर आगलागी भएको थियो।

सिरुटारस्थित चापाखर्क खानेपानी तथा उपभोक्ता समितिले खानेपानी समस्या समाधान गर्न उक्त डीप बोरिङ गराएको थियो।आगलागी नियन्त्रणमा लिएको दुईदिनपछि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशी, उद्योगराज्यमन्त्री कञ्चनचन्द्र बादे उद्योगसचिव, भूगर्भ तथा खानी विभागका उच्च पदस्थ कर्मचारी साथमा लिएर डीप बोरिङबाट ग्यास निस्केको स्थान पुगेका थिए।

माटो र बालुवाले छोपे पनि त्यसबेलासम्म ग्यास चुहिरहेकाले त्यस वरपरका सर्वसाधारण त्रसित थिए। त्यसैले उद्योगमन्त्री जोशीले सर्वसाधारणलाई सुरक्षित गर्ने उद्देश्यले तत्काललाई ग्यास उत्सर्जन रोक्ने सुरक्षित उपाय अपनाउन भूगर्भ तथा खानी विभागलाई निर्देशन दिएका थिए।

BKT-Khanepani-Agalagi-2

डीप बोरिङमा भएको आगलागी ।तस्बिर: ईश्वरकाजी खाइजू

मन्त्रीको निर्देशनअनुसार मन्त्रीसँगै आएका भूगर्भ तथा खानी विभागका उपसचिव पृथ्वीलाल श्रेष्ठ त्यसको फोकन पर्सन तोकिएको थियो। फोकल पर्सन श्रेष्ठले उक्त बेला अन्नपूर्णसँगको कुराकानीमा डीप बोरिङ गरिएको क्षेत्रमा मिथेन ग्यास भण्डारण भए नभएको पुष्टि गर्न कम्तीमा एकसय मिटरको फरकमा चार ठाउँमा ड्रील गर्नुपर्ने र त्यसको लागि सिरुटारवासीसँग सहकार्य र समन्वय गरिने बताएका थिए।

तर दुर्भाग्य डीप बोरिङमा आगलागी भएको एघार महिना पूरा हुँदासम्म कुनै सरकारी कर्मचारी दोहोर्‍याएर सिरुटार पुगेका छैनन्। सिरुटारवासीहरुलाई भने अहिले पनि सरकारी कर्मचारी आउनेछन् र पुरिएको डीप बोरिङ क्षेत्रमा उत्खनन् गरी भए ग्यास नभए खानेपानी नै पाउने आशा लिएर बसेका छन्।

मन्त्रीले फोकल पर्सन तोकेका व्यक्तिबारे समितिका पदाधिकारीलाई जानकारी नभएको र विभागबाट पनि कुनै सोधखोज नगरिएको उनको भनाइ थियो।
सरकार परिवर्तन, निर्वाचनले गर्दा विभागका कर्मचारीहरु पनि व्यस्त भएकाले दोहोर्‍याएर आउन नपाएको हुनसक्ने उनले अनुमान गरे।

‘कर्मचारीबारे जानकारी नहुँदा हामीले पनि ताकेता गर्न पाएका छैनौं’, सचिव मिश्रले थपे, ‘सरकारर परिवर्तन, तीन तहको निर्वाचनले गर्दा उहाँहरु पनि व्यस्त हुनुभयो होला। हामीहरु उहाँहरु आउने प्रतिक्षामा छौं।'

खानेपानीको जोहो गर्ने उद्देश्यले गरिएको डीप बोरिङ पुर्नुपरेपछि सिरुटारवासी खानेपानी समस्यामै रहन बाध्य भए। यहीं बीच समितिका अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ पनि बिते। यसले गर्दा पनि पुरिएको डीप बोरिङको विकल्प खोज्न समस्या भयो।

तैपनि चरम खानेपानी समस्याबाट पार पाउन डीप बोरिङको लागि अर्को ठाउँको व्यवस्था हुँदै गर्दा स्थानीयबाटै अवरोध भएको सचिव मिश्र सुनाउँछन्। ‘सिरुटारकै एक दानीले खानेपानीको लागि डीप बोरिङ गर्न जग्गा उपलब्ध गराएका थिए', उनले भने, ‘तर पहिलेकै जस्तै घटना हुने डरले स्थानीयबाटै अवरोध भयो। जसले गर्दा डीप बोरिङ पनि गर्न पाइएन, खानेपानी पनि पाइएन।'

अझै अस्थायी तारबार
त्यस्तै सरकारी कर्मचारीमात्रै फर्केर नआएका होइनन्, डीप बोरिङ गरिँदा आगलागी भएको क्षेत्रसमेत अहिलेसम्म पूर्ण सुरक्षित छैन। डीप बोरिङ गरिएको क्षेत्रलाई सामान्य तारबारले घेरिएको छ। स्थानीयका अनुसार अहिले पनि कहिलेकाहीं ग्यास चुहिएर गन्ध आउँछ।

त्यस बेला डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय भक्तपुरले पक्की पर्खाल लगाएर शिल्डबन्दी गर्ने भनेको थियो। तर उक्त कामसमेत हुन सकेको छैन। बोरिङ क्षेत्र सुरक्षित बन्द नगरिँदा सँगैको निजी जग्गाधनी आफ्नो खेत उपभोग गर्न पाएका छैनन्।

‘डीप बोरिङ क्षेत्र सुरक्षित गरिदिन सँगैका निजी जग्गाधनीहरुले हामीलाई पटकपटक भनिसकेका छन्', सचिव मिश्रले भने, ‘तर हामीले केहीगर्न सकेका छैनौं। ठेकेदारलाई डीप बोरिङको पाइपमात्रै झिकिदिन आग्रह गर्दा पनि उनले मेसिन नभएको भन्दै टार्दै आएका छन्।'

उनले खानेपानी उपभोक्ता समिति चारैतिरबाट चेपुवा पर्दै आएको दुःखेसो पोखे। ‘खानेपानी जोहो गर कि गर भनेर उपभोक्ताले भनेको भनेयै छन्', उनले थपे, ‘यता निजी जग्गाधनीले पनि उनीहरुको जग्गा सुरक्षित गरिदिने भनेका भनेयै छन्। तर हामीसँग हात उठाउनेबाहेक अर्को विकल्प छैन।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.