बालुवाले छोपेर गोलिया तस्करी
चन्द्रपुर : काँचो रुखका गोलिया ट्याक्टरमा बालुवा भित्र राखेर तस्करी हुने गरेको पाइएको छ । गस्ती टोलीले शनिबार जंगलसैया इलाका वन क्षेत्रबाट काँचो सखुवाका तीन थान गोलियासहित ट्याक्टर बरामद गरेको हो ।
पछिल्ला दिनमा ट्याक्टरमा बालुवा, गिटी बोकेको बहानामा सखुवाका गोलिया तस्करी गर्ने गरिएको खुल्न आएको छ । एकमहिना अघि पनि सोही वन क्षेत्रबाट बालुवामै छोपेर काठ लैजाँदै गरेको अवस्थामा ट्याक्टर बरामद गरिएको थियो ।
तस्करले बहुमुल्य प्रजातिका सखुवा, खयर, जामुन लगायतका काठ रौतहटका जंगलबाट तस्करी गरी बारा, सर्लाही तथा जिल्लाकै विभिन्न बजार र सिमावर्ती भारतीय वस्तिमा समेत पुर्याउँदै आएका छन् ।
धन्सार, गैँडाटार, जंगलसैया, मैढा, रंगपुर, वृन्दावन वनक्षेत्रबाट बढी मात्रामा काठ तस्करीहुने गरेको बताइएको छ । गएको आर्थिक वर्षमा जिल्ला वन कार्यालय रौतहटले काठ चोरी तस्करीमा प्रयोग भएका ६ टायरगाडा, आठ ट्याक्टर, तीन जीप, चार मोटरसाइलक र २९ वटा साइकल बरामद गरेको थियो ।
गएको ६ महिनामा मात्रै पाँच वटा ट्याक्टर आधा दर्जन बढी मोटरसाइकल, करिब एकसय साइलक र सयौं क्यूफिट काठ बरामद गरिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ ।
अवैधरुपमा काँचा रुख काटेर लैजाने गरिएको र त्यसलाई नियन्त्रण गर्न सबैैको सहयोग आवश्यक रहेको रौतहटका डिएफओ दिर्घनारायण कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस !