रोकिएन बलात्कारका घटना

रोकिएन बलात्कारका घटना

बेसीसहर : आफ्नै छोरीमाथि पटक–पटक ‘बलात्कार’ गर्ने गरेको रहस्य खुलेपछि सुन्दरबजार नगरपालिका–४ बाट ३५ बर्से व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो । उनले अन्तिमपटक फागुन २६ गते छोरीमाथि बलात्कार गरेका थिए । छोरीमाथि ‘बलात्कार’ भएको रहस्य खुलेपछि आफ्नै पतिविरुद्ध पत्नीले प्रहरीमा उजुरी दिएपछि उनी चैत २१ गते पक्राउ परे ।

गत फागुन १ गते राइनास नगरपालिका–६ मा सुस्तमनस्थितिकी ११ वर्षीया बालिका बलात्कृत भइन् । उनलाई बलात्कार गर्ने बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका बस्ने ५६ वर्षका ज्ञानबहादुर लामा पक्राउ परे ।

साउन ६ गते दोर्दी गाउँपालिका वडा नं २ का ४६ वर्षीय सन्तबहादुर परियारले ५ वर्षीया नाबालिकालाई बलात्कार गरे । उनले बालिकालाई आफ्नै घरमा लगी करणी गरेको खुलेपछि परियारलाई प्रहरीले पक्राउ गर्‍यो ।

यी त प्रतिनधि घटना मात्र हुन् । लमजुङमा पछिल्लो समय बलात्कारको भयावह शृंखला देखिएको छ । साउनदेखि फागुनसम्म बलत्कारका ८ घटना भएका छन् । अधिकांश घटनामा नाबालिका तथा किशोरी परेका छन् । प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भएका सबै बलात्कारका घटनामा १६ वर्षमुनिका बालिका पीडित बनेका छन् । उमेर समूहका हिसाबले हेर्ने हो भने ७ वर्षमुनिका २ जना, ८ देखि १२ वर्षका तीन जना, १२ देखि १६ वर्षसम्मका ३ जना बालिका बलात्कारको सिकार भएका छन् । प्रहरीका अनुसार बलत्कार घटनामा संलग्न ७ जना पक्राउ परेका छन् भने एक जना फरार छन् ।

विगतका वर्षहरूलाई हेर्ने हो भने आव ०७३÷७४ मा बलात्कारका ११ वटा घटना भएका छन् । प्रहरी निरीक्षक बुद्धिसागर पुरीका अनुसार आव २०७१÷७२ र ०७२÷७३ मा ९÷९ वटा बलात्कारका घटना भएका छन् ।

किन बढे बलात्कार ?

जिल्लामा बलात्कारका घटना बढ्ने कारणबारे कुनै निकायबाट खोजी भएको देखिँदैन । प्रहरी अनुसन्धानले अभिभावक सचेत नहुनु, बढ्दो आधुनिकता, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोग र हातहातमा मोबाइल र इन्टरनेटलाई प्रमुख कारणका रूपमा लिएको छ । यस्तै, मदिरा सेवन तथा अश्लील फिल्मलगायत सामग्री हेर्ने लत पनि अर्को कारक भएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए ।

बलात्कार घटनाका अधिकांश पीडित नाबालिका भएकाले अभिभावक सचेत हुनु जरुरी रहेको लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । ‘यस्ता घटना न्यूनीकरण गर्न अभिभावकले आफ्ना बालबालिका वा छोराछोरीको गतिविधिमाथि निगरानी बढाउनुपर्छ’, अधिकारीले भने ।

बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा न्याय पाउन असहज हुनु, आर्थिक र राजनीतिक चलखेलका कारण आरोपी सहजै छुट्नुलगायत कारणले पनि बलात्कार गर्ने प्रवृत्ति हाबी हुँदै गएको महिला अधिकारकर्मीहरूको भनाइ छ । ‘बलात्कारका आरोपी छाडिँदै गए भने अपराधीको मनोबल बढेर झन् घटना हुन्छ’, महिला अधिकारकर्मी कमला केसी भन्छिन्, ‘न्याय सम्पादन गर्नेदेखि राज्य र समाजका हरेक संयन्त्र जिम्मेवार बन्नु जरुरी छ ।’

बेंसीसहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारीले गाउँस्तरमा सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको बताइन् । ‘गाउँस्तरमा सचेतना जगाउने गरी नगरपालिकाबाट कार्यक्रम बनाएर अघि बढ्छौं’, अधिकारीले भनिन्, ‘सचेतना जगाउन सबै पक्ष हातेमालो गनुपर्छ ।’

कुनै दबाब स्वीकार्य हुन्न

बलात्कारका घटना बढ्दै गएपछि यसको नियन्त्रणका लागि लमजुङ प्रहरी सक्रिय भएको छ । आइतबार जिल्लाका सरोकारवालाहरूसँग अन्तत्र्रिmया गरेको प्रहरीले साप्ताहिक रूपमा अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बलात्कारजस्तो जघन्य मुद्दामा कसैसँग सम्झौता गर्न नसकिने बताए । प्रहरी प्रमुख पदमबहादुर विष्टले पनि जघन्य अपराधका घटनामा भनसुन तथा कसैको दबाब स्वीकार नगर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘कसैको दबाब र भनसुनको प्रवाह गरिन्न ।’

प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले समाजका हरेक पक्ष आआफ्नो स्तरबाट यस्ता घटना न्यूनीकरणमा लाग्नुपर्ने बताए । बलात्कारका घटना मिलापत्र गराउन प्रत्यक्ष अप्रत्यक्ष दबाब आउने गरे पनि त्यसलाई कुनै महŒव नदिइने उनले बताए ।

के छ कानुनी व्यवस्था ?

मुलुकी ऐनको महल १४ (जबरजस्ती करणीको महल) अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई निजको मञ्जुरी लिई वा नलिई करणी गरे जबरजस्ती करणी गरेको ठहरिनेछ । यसमा थप स्पष्ट पार्दै मुलुकी ऐन भन्छ, ‘डर, त्रास देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।’ यस्तै ‘होस् ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरीलाई पनि मञ्जुरी मानिने छैन ।’

१० वर्षमुनिकी बालिकालाई जबरजस्ती करणी गरेको ठहरिए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका पीडित भए ८ देखि १२ वर्षसम्म कैद हुने प्रावधान छ ।

१४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ देखि १० वर्ष सम्म, १६ वर्षदेखि २० वर्षसम्म उमेर समूहकी महिला भए पीडकलाई ५ देखि ८ वर्षसम्म, २० भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको ठहरिए ५ देखि ७ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यसका अतिरिक्त हाडनाता करणी र कसैले गर्भवती, अशक्त, अपांगता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा रहेकी महिलालाई करणी गरेको ठहरिए थप सजायको व्यवस्थासमेत गरिएको छ ।

०००

बलात्कार घटना न्युनीकरणसम्बन्धी लमजुङ प्रहरीले गरेको अन्तक्र्रिया । नवीनराज कुइँकेल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.