आ-आफ्नैविरुद्ध खनिए कांग्रेसी

आ-आफ्नैविरुद्ध खनिए कांग्रेसी

काठमाडौं : संघ-प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै तनहुँ कांग्रेसले गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ। तर, जोशीका समर्थकले उल्टै वरिष्ठ नेता रामचन्द्र पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेलाई कारबाही गर्न पत्र पठाएका छन्। पौडेल पराजयमा अन्तर्घात जिम्मेवार रहेको कतिपय कांग्रेस नेताको विश्लेषण छ। पार्टी निर्वाचनमा अपेक्षित नतिजा नआएपछि कांग्रेसले देशभरबाट निर्वाचनमा भएको अन्तर्घातको रिपोर्टिङ गर्न निर्देशन जारी गरेको हो।

अन्तर्घातसम्बन्धी उजुरी संकलन गरिरहेको अनुशासन समितिका संयोजक रमेश रिजाल भन्छन्, ‘एउटै वडाबाट ७- ८ जनाविरुद्ध उजुरी आएको छ। आएको उजुरीमाथि एक चरणको स्पष्टीकरण सोधेको समितिले तीनै तहको निर्वाचनमा पार्टीभित्रैबाट व्यापक अन्तर्घात भएको प्रारम्भिक आकलन गरेको छ।’ रिजाल भन्छन्, ‘उजुरीको प्रकृतिले त्यही देखाउँछ।’ स्थानीय तहको निर्वाचनलगत्तै बसेको पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले अन्तर्घात गर्नेमाथि कारबाही गर्ने वक्तव्य जारी गरेका थिए। त्यसलगत्तै उनले रमेश रिजाल नेतृत्वमा अनुशासन समिति गठन गरेका थिए।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचनमा पार्टीको अधिकारिक उम्मेदवारदेखि वडा तहका अगुवा कार्यकर्ता यस्ता उजुरीका ‘सिकार’ भएका छन्। कहलिएका केन्द्रीय नेतासमेत यसमा मुछिएका छन्। नुवाकोटमा पूर्वअर्थमन्त्री रामशरण महतदेखि धनुषामा विमलेन्द्र निधिविरुद्ध यस्ता उजुरी परेको देखिन्छ। भक्तपुरमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि उजुरी छ। उजुरीहरू वडा तहबाट परेका छन्। पर्सा जिल्ला कांग्रेस सभापति अजय दुवेदी भन्छन्, ‘एउटा वडामा कांग्रेसी उम्मेदवारलाई सघाएका हाम्रा नेता-कार्यकर्ताले अर्को वडामा अर्को पार्टी उम्मेदवारलाई सघाएको बारेसमेत उजुरी छ। पर्सा जिल्लामा मात्रै सयभन्दा बढी यस्ता उजुरी आएका छन्। ती सबै उजुरीलाई पार्टी केन्द्रीय कार्यालयमा जस्ताको त्यस्तै पठाइएको छ।’

पहिलो चरणमा ६० भन्दा बढी जिल्लाबाट अन्तर्घात गरेको भन्दै तीन सयभन्दा बढीलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको छ। तीमध्ये पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा दुई, नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा नौ जना नेतालाई स्पष्टीकरण सोधिएको छ। काठमाडौंमा १०, चितवनमा ७, कैलालीमा ९, भक्तपुरमा ११, नुवाकोटमा १७ जनासँग स्पष्टीकरण सोधिएको समितिले बताएको छ। समिति सभापति रिजालले भने, ‘स्पष्टीकरण सोधिएकाबाट जवाफ आउने क्रम जारी छ। उजुरीको प्रकृतिअनुसार स्पष्टीकरण सोध्ने काम भइरहेको छ।’

‘स्थानीय तहमा अन्तर्घात गर्नेहरू कतिपय प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवार भएको समेत पाइएको छ’, नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले अन्नपूर्णसँग भने, ‘बदमासी गर्र्नेलाई नै पुरस्कृत गर्ने परिपार्टी पार्टीमा मौलाएका कारण कांग्रेसभित्र घात-अन्तर्घातको समस्या बढी देखिएको छ।’ प्रत्येक निर्वाचनपछि अनुशासन समितिले अन्तर्घात गर्नेमाथि छानबिन गरी कारबाहीको सिफारिस गर्दै आएको छ। दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै आमोदप्रसाद उपाध्याय नेतृत्वको समितिले ३ सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको थियो। तर, केन्द्रीय समितिले सबैलाई उन्मुक्ति दिएको थियो।

कहलिएका केन्द्रीय नेतासमेत यसमा मुछिएका छन्। नुवाकोटमा पूर्वअर्थमन्त्री रामशरण महतदेखि धनुषामा विमलेन्द्र निधिविरुद्ध यस्ता उजुरी परेको देखिन्छ। भक्तपुरमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि उजुरी छ।

यसअघि कांग्रेसले जिल्ला समितिलाई चुनावी समीक्षा र सुझाव पठाउन निर्देशन दिएको थियो। जारी केन्द्रीय कार्यसमिति बैठकअगावै जिल्लाको चुनावी समीक्षा र सुझावसहितको प्रतिवेदन केन्द्रमा बुझाउन परिपत्र गरिएको भए पनि ३० जिल्लाले मात्रै केन्द्रलाई प्रतिवेदन बुझाएका छन्। केन्द्रीय कार्यसमितिसमक्ष प्रतिवेदन बुझाएका जिल्लाले पार्टीभित्रको अन्तर्घात र कम्युनिस्ट गठबन्धनका कारण हार व्यहोर्नुपरेको उल्लेख गरेका छन्।

प्रतिवेदन बुझाइसकेका जिल्ला कार्यसमितिले समयमै उम्मेदवार चयन नगर्नु, जनताले विश्वास गर्ने ढंगको घोषणापत्र नहुनु, पार्टीले गरेका जनहितका कामबारे बुझाउन नसक्नु, नाकाबन्दीमा मौन बसिदिनुलाई चुनाव पराजयको कारण उल्लेख गरेका छन्। भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा भन्छन्, ‘नेताहरूको तर्फबाट पनि व्यापक कमीकमजोरी भएका छन्।’ जिल्ला समितिहरूले फितलो व्यवस्थापन, पार्टीका क्रियाशील सदस्यको निष्क्रियता, नेता-कार्यकर्ताबीच भावनात्मक एकताको कमी, प्रभावकारी राजनीतिक मुद्दाको अभाव, प्रधानन्यायाधीशविरुद्धको महाभियोग र आईजीपी प्रकरणलाई चिर्न नसक्नुलाई पनि हारको कारण मानेका छन्।

‘पार्टीले समयमै उम्मेदवार तय गर्न नसक्दा पनि आशा गरेअनुसार परिणाम नआएको कुरा प्रतिवेदनमा समेटेका छौं’, मोरङ कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बू भन्छन्, ‘हाम्रा राजनीतिक मुद्दा पनि प्रभावकारी भएनन्। वाम गठबन्धनको असर त छँदै थियो, कार्यकर्ताबीच भावनात्मक एकताको कमीले गर्दा चुनाव हार्नुपरेको निष्कर्ष हाम्रो रह्यो।’ मधेसमा कांग्रेस मधेसी दलप्रति नरम भएकै कारण कतिपय ठाउँमा कांग्रेसका मतदाता झुक्किएको उल्लेख छ। कांग्रेसको केन्द्रीय तहकै निर्देशनमा फोरम अध्यक्ष उपेन्द्र यादव र राजपाका संयोजक महन्थ ठाकुरविरुद्ध कांग्रेसले उम्मेदवार फिर्ता गरेको थियो।

कांग्रेसले राजपाका महन्थ ठाकुर र संघीय फोरम नेपालका उपेन्द्र यादवलाई निर्वाचनमा सघाउन उम्मेदवारी नै नदिएर पनि गल्ती गरेको कतिपय जिल्लाबाट आएको प्रतिवेदनमा उल्लेख छ। पर्साका कांग्रेस सभापति द्विवेदी भन्छन्, ‘यसबारे हाम्रो केन्द्रले खुला छलफल गर्नै पर्छ।’ पार्टीभित्रको घात-अन्तर्घातबारे अहिले भइरहेको अनुशासन समितिको काम पूर्ण नरहेको तर्क छ नुवाकोट कांग्रेस सभापति केसीको। उनी भन्छन्, ‘यसमा पनि पारदर्शिताको खाँचो देखिन्छ। केन्द्रीय नेताका आसेपासेले स्थानीय तहमा बदमासी गरे पनि कारबाही नहुँदा अन्तर्घातीको मनोबन बढेको हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.