सहलेस फूलबारीः जहाँ निःसन्तानले भाकल गर्छन् (फोटो फिचर)

लहान: ऐतिहासिक सलहेस फूलबारीमा अघिल्ला वर्षझैं यो वर्ष पनि भब्य मेला लागेको छ । मेला भर्न हजारौँ मानिस आएका छन् । सिरहाको परोसी सप्तरी, धनुषा, महोत्तरी, सुनसरी, मोरङलगायतका जिल्ला र भारत विहारका टाढा टाढाबाट श्रद्धालु आएका छन् ।
१४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वैशाख १ गते परम्परागत मेला आयोजना हुन्छ ।
लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको छ–सलहेस फूलबारी । फूलबारीको मध्यभागमा हारमको रुखमा अन्य वर्ष जस्तै यो वर्षको अन्तिम दिन माला आकारमा फूल फुलेको छ ।
भोलिपल्टै ओइलिन्छ
आश्चर्य त के छ भने मेलाको भोलिपल्ट अर्थात् वैशाख २ गते दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ । यही अनौठो फूल हेर्न पनि आज टाढा टाढाबाट श्रद्धालु आइपुगेका छन् ।
फूलबारीमा राजा सलहेस र मालिनीको छुट्टा–छुट्टै गहबर (मन्दिर) छ । पूजारी नागेश्वर सिंह धामी भन्छन्, ‘मन्दिर पछाडि इनार र बालीगंगा नदी बग्ने गरेको छ । बालीगंगा नदी कहिल्यै सुक्दैन । आजको दिन यस नदीमा हजारौं श्रद्धालु स्नान गर्छन् ।’
भाकल गर्छन् भक्तालु
पुजारी सिंहका अनुसार सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे । राजा सलहेसले मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने र सिलहट अखाडामा कुस्ती खेलेपछि कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको पीरमार्का सुन्ने गरेका थिए ।
मेला भर्न आउनेहरु सलहेस गहबरमा पूजापाठ गरेर भाकल गर्दा मनोकामना पुरा हुने गरेको पूजारी सिंह बताउँछन् । उनी भन्छन्, ‘मनोकमना पुरा हुने गरेकै कारण टाढा टाढाबाट मानिसहरुले भाकल गर्न यहाँ आउँछन् । भारतका पटनाबाट पनि हजारौं महिला र पुरुष एक दिन अगावै आइपुग्छन् ।’ सलहेश गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरुले सन्तान समेत पाउने गरेको उनको भनाई छ ।
यस्तो छ किम्बदन्ती
राजा सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरे । सलहेशलाई थुनामा राखेको खबर प्राप्त हुँदा सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।
सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष ‘तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखा पर्ने’ भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्ष माला आकारमा फूल बनेर मालिनी देखापर्ने गरेको किम्वदन्ती छ ।
प्रतिक्रिया दिनुहोस !
