शौचालय गर्न निस्किएकी बालिकाको हत्या
भैरहवा : शौचालय गर्न घरबाट निस्किएकी एक बालिकाको हत्या भएको छ। सोमबार राति शौचालयका लागि घरबाट निस्किएकी रुपन्देही ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
मृतक बालिकाको मुख र खुट्टामा चोट लागेको छ। राति ९ बजे शौचालयका लागि घरबाहिर गएकी हरिजन नफर्किएपछि परिवारले प्रहरीमा खबर गरेको थियो।
हरिजनको खोजतलास गर्दै जादाँ घरबाट डेढ किलोमिटर टाढा खेतमा बालिकाको शव भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
मृतका हरिजनको गुप्तांगबाट रगत निस्किएको छ। तर, बलात्कार भएको हो वा होइन भन्ने रिपोर्ट आइसकेको छैन। हत्याको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बालिकाको घाँटीमा डोरीले बाँधिएको प्रहरीले जनाएको छ।
बालिकाको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पुर्याइएको छ।