अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप

बेनी : म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा पर्यटकको चाप बढ्दै गएको छ। आरोहणका लागि सहज मानिएको अन्नपूर्ण प्रथम जोड्ने गरी नारच्याङ आधारशिविर पदमार्ग खुलेपछि आरोहीका साथै अरू पर्यटकको संख्या बढ्दै गएको हो। संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय गरी ६५ लाख रुपैयाँको लागतमा ५ दिने पदमार्ग गत वर्षदेखि सञ्चालनमा ल्याइएको थियो। पदमार्ग खुलेपछि पैदलसँगै हेलिकोप्टरबाट आधारशिविर पुग्ने पर्यटकको संख्या बढेको पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए।

‘नीलगिरि खोलाको किनारै किनार खोलेको पदमार्गमा आरोहीहरू निरन्तर गइरहेका छन्। आरोहीसँगै उनका सहयोगी र आधारशिविरको सुन्दरता हेर्न अन्य पर्यटक पनि पुग्ने गरेका छन्’, उनले भने। विश्वको उत्कृष्ट गन्तव्यभित्र पर्ने अन्नपूर्ण पदयात्रामा आउने पर्यटकले प्रयोग गर्न पदमार्ग सडकले विस्थापित भएपछि नयाँ पदमार्गको आवश्यकतालाई मध्यनजर गरी आधारशिविर जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको थियो।

यो सिजनमा पहिलोपटक अपांगता भएका कोरियाली आरोही, पथप्रर्दशक र भरिया गरी २१ जनाको टोली शिविरमा पुगेको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। ‘गत वर्ष केही समूहहरू गएका थिए, यो सिजनमा पहिलोपटक कोरियाली टोली त्यहाँ पुगेको छ’, उनले भने, ‘आधारशिविर वरपर सुन्दर ताल र नजिकै हिमाल देखिने भएकाले आरोहीका अतिरिक्त अन्य पर्यटकहरू पनि त्यहाँ पुग्छन्।’

पदमार्गको अभावमा स्वदेशी तथा विदेशी आरोही र उनका सहयोगीहरू महँगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरी आधारशिविर झर्नुपर्ने बाध्यता थियो। मुस्ताङको कुञ्जो गाविस हुँदै आरोही दलका केही समूह आधार शिविर निस्के पनि कठिन भूगोल, घुमाउरो बाटो, व्यवस्थित पदमार्ग र पानीको अभावमा उक्त ‘रुट’ दीर्घकालीन बन्न सकेन। ‘अझै दैनिक रूपमा हेलिकोप्टरबाट आउने आरोही धेरै छन्, यो सिजनमा ३÷४ समूह यसरी नै हेलीमा आए’, उनले भने, ‘पदमार्गबारे प्रचारप्रसार गर्नुपर्ने देखिएको छ।’

अहिले पदमार्गको पहिलो दिन कालोखोला, दोस्रो दिन फूलबारी, तेस्रो दिन आधारशिविर आसपासमा बास बसेर चौथो दिन आधारशिविरमा पुगिन्छ। त्यस्तै फर्कने बेलामा भरिया र पथप्रदर्शक साढे २ दिनमै नारच्याङ आउन सकिन्छ। पदमार्गका विभिन्न स्थानमा होटल तथा लज नहुँदा आन्तरिक पर्यटकलाई अहिले पनि भ्रमणमा समस्या हुने गरेको छ।

कोरियाली टोलीमा संलग्न सोलुखुम्बु जिल्लाका तेन्जी शेर्पाका अनुसार अग्ला पहाड हुँदै झर्ने झरना, जंगली जनावर, चराचुरुंगी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण भएको बताए। ‘अन्नपूर्ण हिमालमा समथर फाँट निलो तलाउ, तलाउ नजिकै आँखामै ठोकिने अग्ला हिमालमा रमाउन पनि पर्यटकहरू त्यहाँ पुग्छन्’, उनले भने। बर्सेनि ५ सयभन्दा बढी आरोही अन्नपूर्ण हिमाल आउने अनुमान गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.