अझै टेकोको भर

अझै टेकोको भर

ढुंगामाटोले जोडेको कच्ची घर। थर्थर हल्लिने तेस्रो तलामा देवीदेवताका तस्बिर र मूर्ति एक कुनामा छरपस्ट छन्। अर्को कुनामा एउटा खाट छ। बीचमा अनेकथरी सामानको रास। कोठामा पस्ने साँघुरो ढोका छ। छेउमा अप्ठ्यारो भर्‍याङ छ, जसबाट माथिल्लो तलामा पुग्न सकिन्छ। छेवैको अर्को कोठा उदांगो छ। ढोकाबाट चियाउँदा ह्वाङ परेको भित्ता देखिन्छ।

भक्तपुर सूर्यविनायककी शोभा चौगुठी त्यही उदांगो भित्ताको एक छेउदेखि अर्को छेउमा डोरी बाँधेर बच्चाका विद्यालय पोसाक, सिरकका खोल र आफ्नो कुर्ता-सुरुवाल सुकाउँदै छिन्। आफ्नै घरको उदांगो भित्तालाई कपडा सुकाउने खुला ठाउँ बनाउँदा उनलाई राम्रो त पटक्कै लागेको छैन। तीन वर्षअगाडि आएको विनाशकारी भूकम्पले उनको घरको एक पाखो भत्काइदियो। भत्केको घरमा बस्ने मन कसलाई हुन्छ र ? तर यही भत्केको घरमा रातको आकाश हेर्दै निदाउन थालेको तीन वर्ष भइसक्यो।

हरेक रात भयभीत हुँदै सुत्ने परिवारको दशा देखेर उनका बुबा प्रेम चौगुठी दिक्क छन्। तीन वर्षमा एक रात पनि उनको परिवार भयमुक्त हुन सकेको छैन। घर त हावाहुरी, पानी र सिरेठोबाट जोगाउन पो बनाइन्छ। ती सबै खप्दै बस्ने पनि घर हुन्छ र ? भूकम्पले आधा खाइदिएको घरमा ११ जनाको परिवार सम्हालेर बस्नुको पीडा भोग्नेले अनुमान गर्न सक्छ। त्यसमा छोरी, बुहारी र नानातिना पनि।

भत्केको घरमा बस्नु उनको बाध्यता थियो। भूकम्पको ६ महिनासम्म त उनको परिवार टहरामै बस्यो। ठूलो परिवार टहरामा बसेर साध्य पनि थिएन। टहराको वासभन्दा एक पाखो भत्केको घर नै उपयुक्त लाग्यो। त्यस दिनदेखि अहिलेसम्म चौगुठी परिवार त्यो घर भत्काएर नयाँ बनाई बस्ने सपना देखिरहेको छ तर सपना आजसम्म विपना भएको छैन।

आर्थिक अवस्था कमजोर भएका, बसाइँ सरी जान नसकेका र मापदण्ड पूरा गरी घर बनाउन नसकेका भक्तपुरका भूकम्पपीडित अझै पनि भत्किएको घरको भित्तामा बोरा र प्लास्टिक टाँगेर बस्न बाध्य छन्।

५६ वर्षीय चौगुठीलाई घर बनाउने मन नभएको कहाँ हो र ? घर बनाउनकै लागि कहाँ मात्र धाएनन् उनी ? तर हात लाग्यो शून्य। पैसा नभई घर बन्दैन। भक्तपुरमा घर जस्तोतस्तो बनाएर पनि भएन। सरकारले भूकम्पप्रतिरोधात्मक घरको परिकल्पना गरेको छ। त्यसका लागि औसतभन्दा बढी खर्च लाग्छ। नगरपालिकाका सरसफाइ मजदुर चौगुठीसँग त्यति धेरै पैसा छैन। सरकारले अनुदान दिने भनेको छ। उनले भने सरकारले दिने भनेको अनुदानको पहिलो किस्ताबापतको ५० हजार पनि लिन सकेका छैनन्। कारण हो, उनको पारिवारिक संरचना।

यो घर उनका पिताको नाममा छ, जो बितिसकृ। अहिले भने उनीसहितका उनका तीन भाइको परिवार यही घरलाई तीन भाग लगाएर बसेका छन्। हरेक तलामा बेग्लाबेग्लै चुलो छ। सरकारले अनुदान भने घरमूलीलाई दिने भनेको छ। घरमूली घरधनी हो भन्ठान्छ ऊ। जसको नाममा घर छ, उनी बितिसके। जो बसेका छन् उनीहरूको नाममा घर छैन। यही नै समस्या बनेको छ। चौगुठीका तीन भाइबीच अनुदानबापत आउने पैसा कसरी बाँड्ने भन्ने कुरा मिलेकै छैन।

भूकम्प नआउँदासम्म यो समस्या थिएन। एउटै घरलाई भाइहरूबीच भागबन्डा गर्ने चलन नेवारहरूमा नयाँ पनि होइन। वर्षौं पुरानो चलनअनुसार भाग लगाएर बस्दै आएका थिए। आआफ्नो परिवारसँग सबै खुसी नै थिए। भूकम्प आइदियो। घर भत्काइदियो। अनि समस्या सुरु भयो। समस्याको कारण एउटै हो, सरकारले एउटै घरमा तीन परिवार बस्छन् भन्ने सोच्दै सोच्दैन।

सरकारले समस्याको चुरो बुझिदेला भनेर चौगुठीले थुप्रै जोर जुत्ता फटाए। स्थानीय, प्रदेश र संघीय सभाका तीनवटै चुनावमा भोट खसाले। चुनावभन्दा अगाडि भोट माग्दै घरसम्म आएका स्थानीय उम्मेदवारसँग हात जोड्दै आफ्नो दुःख पनि सुनाए। सबैले आश्वासन दिँदा चुनावपछि केही त होला भन्ने उनलाई लागेको थियो। चुनाव सकियो। हार्नेहरू त आउने कुरै भएन। जित्नेहरू पनि फर्केर आएनन्। उनको घर अहिले पनि भूकम्पको निसानी बनिबसेको छ।

यो व्यथा प्रेम चौगुठीको एक्लो कथा होइन। देख्दा फरक समस्या तर उस्तै कारणले भूकम्पले भत्काएका घर बनाउन नसक्नेहरूको कथा साझा हो। सोही वडाकी राजमाया चौगुठीको पनि त्यस्तै कथा छ।

भूकम्पले घर भत्किएपछि जस्तापाताले छाएको टहरामा बसेकी छन् उनी। श्रीमान् आठ वर्षअघि नै बितेका थिए। एउटा छोरा सन्देश चौगुठी पनि घर बनाउने पैसा जोहो गर्न कतार गए। अहिले उनी एक्लै छिन्। भग्नावशेष घर हेर्छिन्, टोलाउँछिन्। घर बनाएर नयाँ घरमा सर्ने उनको पनि रहर छ। तर उनले आफ्नो ठोनेको भित्तामा जोडिएको घरको हक लाग्ने दाबी गरेपछि उनले घर बनाउन पाएकी छैनन्। अनुदानबापतको पहिलो किस्ता त लिइन्, तर घर बनाउने मेलोमेसो अघि सर्नै सकेन। एउटा भित्ताको स्वामित्व विवादले सिंगो घर अलपत्र छ।

सूर्यविनायक मंगलाछें वडा- ४ (साविकको १४) मा यस्तैयस्तै विवादले बन्न नसकेका घर प्रशस्त छन्। सो वडाका वडाध्यक्ष कुमार चवालका अनुसार उक्त वडामा दुई सय ८० भूकम्प प्रभावितले अनुदानबापतको पहिलो किस्ता पनि बुझेका छैनन्। पहिलो किस्ता बुझेकामध्ये पनि अधिकांशले घर निर्माण सुरु गर्न सकेका छैनन्। ‘एउटै घर बहुस्वामित्वमा हुँदा पुनर्निर्माणमा समस्या आएको छ’, चवाल भन्छन्।

टेको लगाएर उभिएका घर सहरको शोभा पक्कै होइनन्। तर भूकम्पको तीन वर्ष बित्दा पनि टेकोको आडमा अडिन विवस छन् घरहरू। गर्नु के ? पैसा र जग्गा भएकाले त नयाँ पक्की घर बनाइहाले। आर्थिक अवस्था कमजोर भएका, बसाइँ सरी जान नसकेका र मापदण्ड पूरा गरी घर बनाउन नसकेका भूकम्पपीडित भने अझै पनि भत्किएको भित्तामा बोरा र प्लास्टिक टाँगेर बस्न बाध्य छन्।

यसको मुख्य कारण हो, सम्बन्धित निकायले समाजको बनोट नै बुझेका छैनन्। नेवार समुदायमा लस्करै जोडेर घर बनाउने चलन छ। त्यसमाथि एकै घरमा परिवार अंशबन्डा गरेर बसेको हुन्छ। त्यही सामाजिक संरचना नबुझ्दा भूकम्पको घाउ बल्झिएको छ, यसै भन्छन् समाजशास्त्री डा. टीकाराम गौतम। ‘सरकारले अनुदान रकम वितरण गर्ने काम मात्र गर्‍यो, तर लाभग्राहीको हातसम्म अनुदान रकम किन पुग्न सकेन भनी खोजेन। अर्थात् सामाजिक जटिलताको अध्ययन नै भएन’, गौतम भन्छन्।

भक्तपुर नगरपालिकामा एकलौटी हात पारेको र समाजको तल्लो तहसम्म भूमिका खेल्ने नेपाल मजदुर किसान पार्टी भने पुनर्निर्माण प्राधिकरणलाई दोषी देख्छ। नेमकिपाका युवा नेता निरज लवजु जनस्तरमा पुनर्निर्माणसम्बन्धी जानकारी प्रभावकारी बनाउन आवश्यक रहेको ठान्छन्। पुनर्निर्माण प्राधिकरण आफैं राजनीतिक भागबन्डामा अल्झिँदा आवास पुनर्निर्माण प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको उनको आरोप छ। ‘प्राधिकरण दूरदर्शी हुन सकेन। अनुदान किस्ता वितरणमा मात्र सीमित भयो’, लवजु भन्छन्।

पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरे भने समाजको जटिलता बुझेर समन्वय गर्ने काम जनप्रतिनिधिको भएकाले आफ्नो जिम्मेवारी कम हुने दाबी गर्छन्। ‘हाम्रो काम अनुदान वितरण गर्ने हो बाँकी समन्वय गर्ने कार्य जनप्रतिनिधिले गर्छन्’, घिमिरे भन्छन्। उनले पहिलो किस्ताबापतको रकम अधिंकाशले लिइसकेको बताउँछन्। दोस्रो किस्ताको रकम प्राधिकरणले वितरण गरे पनि अधिकांश लाभग्राही आफैं रकम बुझ्न अग्रसर नभएको उनको आरोप छ।

१. यस्तो छ अनुदान वितरण विवरण

आवास पुनर्निर्माण अनुदार वितरण प्रगति विवरणअनुसार भक्तपुर चाँगुनारायण, मध्यपुर थिमी र सूर्यविनायक गरी चार नगरपालिकामा पहिचानमा आएका र गुनासोपछि थपिएका गरी २७ हजार ६ सय ४४ ले अनुदान लिएका छन्, जसमा २३ हजार तीन सय ७४ जनासँग अनुदान सम्झौता भइसकेको छ भने २३ हजार एक सय १८ जनाले पहिलो किस्ताको रकम पाएका छन्। तर दोस्रो किस्ताको अनुदान रकम भने दुई हजार पाँच सय ६० जनाले मात्र पाएका छन्। पहिलो किस्ताको रकम पाएर घरको जग हालेपछि मात्र दोस्रो किस्ताको रकम पाइन्छ। विभिन्न कारणवश अधिकांश परिवारले जग हाल्न सकेका छैनन्। झन् तेस्रो किस्ताको रकम पाउने त एक हजार सात सय ४८ मात्रै छन्। प्रबलीकरण प्रथम किस्ता भने जम्मा ३४ जनाले प्राप्त गरेका छन्।

भक्तपुरमा मात्र होइन, काठमाडौं र ललितपुरको अवस्था पनि यस्तै छ। प्रथम किस्ता अधिकांशको हातमा परे पनि दोस्रो किस्तामा आएर अनुदान वितरणले गति लिन सकेको छैन। पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७४ अनुसार भूकम्प प्रभावितले आफ्नो गाउँपालिका र नगरपालिकास्तरीय गुनासो व्यवस्थापन समितिमार्फत गुनासो दर्ता गराउन सक्छन्। तर यो व्यवस्थाले सामाजिक जटिलता चिर्न सकेको देखिँदैन। पुनर्निर्माण प्राधिकरण र स्थानीय निकायबीच यस विषयमा समन्वय खासै हुन सकेको छैन।

पुनर्निर्माण प्राधिकरण तथ्यांक सार्वजनिक गर्नमै व्यस्त देखिएको छ भने स्थानीय निकाय प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। पुनर्निर्माण प्राधिकरणले निर्धारण गरेको तालिकाअनुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माणसम्बन्धी सम्पूर्ण अनुदान लिइसक्नुपर्नेछ।

पारिवारिक समस्या समाधानका लागि नगरपालिकामार्फत उपमेयरले मुद्दा हेर्ने व्यवस्था गरिए पनि यो सुविधाबारे आम जनता जानकार छैनन्। स्थानीय उम्मेदवारले पनि आफ्नो क्षेत्रका यस्ता संवेदनशील विषय सुल्झाउन पहल नगर्दा अनुदानको कार्य पनि प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.