पहिरोपीडितले पाए लालपुर्जा

पहिरोपीडितले पाए लालपुर्जा

फुङलिङ : पहिरोका कारण २०५९ सालमा विस्थापित पीडितले १६ वर्षपछि आफ्नो नाममा घर र जग्गा पाएका छन् ।

नेपाल रेडक्रस ताप्लेजुङ शाखाले फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाका १२ परिवारलाई घरजग्गाको लालपुर्जा उपलब्ध गराएको हो । फुङलिङ–९ हाङदेवाका ७ र फक्ताङलुङ–३ लिमखिमका ५ परिवारलाई लालपुर्जा प्रदान गरिएको रेडक्रसका जिल्ला सभापति इन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार हाङदेवाका भीमबहादुर लिम्बू, नरबहादुर लिम्बू, धनबहादुर लिम्बू, मनसिरी लिम्बू, वीरबहादुर लिम्बू, लीलाबहादुर निरौला र केशरबहादुर विश्वकर्माले घरजग्गा पाएका हुन् ।

रेडक्रसका नाममा रहेको ४ रोपनी क्षेत्रफल जग्गा सात परिवारका नाममा पास गरी लालपुर्जा उपलब्ध गराइएको पूर्वसभापति गणेश अधिकारीले जानकारी दिए । टीकाराम गौतम स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले पीडितलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका थिए ।

लिमखिमका सञ्जबहादुर लिम्बू, आइतबहादुर लिम्बू, बुधबहादुर लिम्बू, धनबहादुर लिम्बू र सानबहादुर लिम्बूको परिवारलाई रेडक्रसले यसअघि नै जग्गा उपलब्ध गराएको थियो । केही दाताले उपलब्ध गराएको र रेडक्रससँग भएको २ रोपनी १५ आना क्षेत्रफलको जग्गा लिमखिमका पीडितले पाएका हुन् ।

पहिरो गएको एक वर्षपछि रेडक्रसले उनीहरूलाई आफ्नो जग्गामा घर बनाएर राखेको थियो । ‘उति बेलै घर बनाएर हामीले आ श्रय दिएका थियौं’, पूर्वसभापति अधिकारीले भने, ‘हालसम्म पनि उहाँहरू छुट्टै व्यवस्था गरेर अन्य स्थानमा जान नसकेपछि लालपुर्जा नै प्रदान गरेका हौं ।’

रेडक्रसको तथ्यांकअनुसार २०५९ साल साउन २२ गते पहिरो जाँदा साबिकका हाङदेवा, फुरुम्बु, लिमखिम र सावादिन गाविसमा ठूलो जनधनको क्षति भएको थियो । पहिरोमा परी साबिक चारवटै गाविसमा गरी २३ जनाको मृत्यु भएको थियो । सयौं पशुचौपाया बगेका थिए । त्यस्तै, पहिरोले हजारौं रोपनी क्षेत्रफलको खेतीयोग्य जमिन बगाएको थियो । तीन सयभन्दा बढी परिवार विस्थापित भएका थिए, जसमध्ये ४२ परिवार भने पूर्णरूपमा विस्थापित भएका रेडक्रसको तथ्यांक छ ।

जग्गा उपलब्ध गराइएकाबाहेक अन्य ३० परिवारलाई जस्तापातालगायत सामग्री उपलब्ध गराएर घर बनाउन रेडक्रसले सहयोग गरेको थियो । बाढीपहिरोले ताप्लेजुङमा जनधनको क्षति पु¥याउँदै आएको छ । तीन वर्षअघि २०७२ सालमा पनि पहिरोले ठूलो मानवीय क्षति पु¥याएको थियो । त्यस बेला पश्चिमी गाउँहरू थिङलाबु, लिबाङ, खोक्लिङ, लिङतेप सान्थाक्रामा ५९ जनाको मृत्यु भएको थियो । कतिपय विस्थापित अहिलेसम्म पनि पुनःस्थापित हुन नसकी कष्टमय जीवन बिताउँदै आएका छन् । जमिन पहिरोले बगाएपछि समस्यामा समाधानमा कसैले चासो नदेखाएको लिवाङका अर्जुन तिवारीले बताए । ‘यतिका दिनसम्म अर्काकै शरणमा बसिरहेका छौं’, उनले भने ।

०००

हाङदेवाका पहिरोपीडितलाई लालपुर्जा हस्तान्तरण गर्दै फुङलिङका मेयर छत्रपति प्याकुरेल । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.