ठूलो परिमाणको लागुआषध र हतियारसहित सात पक्राउ

ठूलो परिमाणको लागुआषध र हतियारसहित सात पक्राउ

 विराटनगर : नेपालमा हतियार र लागुऔषध भित्र्याउने धन्दामा भारतको आपराधिक गिरोह सक्रिय रहेको पाइएको छ। व्यक्ति हत्या, गुण्डागर्दी, लुटपाट, डकैतीजस्ता शृंखलाबद्ध अपराधमा संलग्न भारतीय आपराधिक गिरोहका नाइके बिट्टु सिंह समूहका सदस्यले नेपाललाई हतियार र लागुऔषध कारोबार गर्ने थलोका रूपमा प्रयोग गर्न थालेको खुलेको हो।

हतियार र लागुऔषध ओसारपसार एवं कारोबार गर्न उनीहरूले नेपाल–भारत सीमाको जोगबनी नाका आसपासलाई सुरक्षित स्थलका रूपमा प्रयोग गर्ने गरेको नेपाल प्रहरीले पुष्टि गरेको छ। बिट्टु सिंह ‘ग्रुप’ का सदस्यले भारतबाट हतियार ल्याउँदै नेपालका आपराधिक समूहलाई बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले ठूलो परिमाणको लागुऔषध र हतियारसहित सिंह समूहमा आबद्ध सात भारतीय आपराधीलाई मंगलबार राति विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला पनि छिन्। विराटनगर ४ नोबेल मेडिकल कलेज अगाडिको नहरको बाटोबाट राति साढे आठ बजे उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए। 

पक्राउ पर्नेमा भारत विहारस्थित अररिया जिल्ला वथनाहा ४ का २४ बर्से रोहितकुमार शर्मा, अररिया फारबिसगन्ज २ का ३० बर्से प्रमोद भनिने विनोद यादव, अररिया मिल्की डुमरिया ९ का १८ वर्षीय राजकुमार यादव, २२ बर्से वर्षीया निलमदेवी यादव, अररिया सिमराहाका २६ बर्से प्रकाशकुमार दास, अररिया रानीगन्जका ३३ बर्से रन्जितकुमार शर्मा र अररिया बरारभत नाजा ७ का ४० बर्से सुरजनारायण यादव छन्। निलमदेवी आफ्नी पत्नी भएको बयान बिनोदले प्रहरीलाई दिएका छन्।

पक्राउका क्रममा केहीबेर भागदौडसमेत मच्चिएपछि तनावको स्थिति उत्पन्न भएको थियो। सादा पोसाकका प्रहरीले पक्राउ गर्न सुरु गरेसँगै भागेर केही व्यक्ति नोबेल मेडिकल कलेजभित्र छिरेका थिए। प्रहरीले उनीहरूलाई त्यहीँबाट पक्राउ गरेको हो। पक्राउ परेका केहीलाई भने घटनामा संलग्नता नदेखिएपछि छाडिएको छ।

एसपी बिसीका अनुसार पक्राउपर्ने प्रमोद भनिने बिनोद यादवको साथबाट मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्याग्जिन र ६ राउन्ड गोली पनि बरामद भएको छ। बिनोद बीआर ३८ एफ १२२८ नं को भारतीय मोटरसाइकलमा थिए। यसअघिका अपराधमा बिट्टु सिंहका विश्वास पात्र मानिने उनी हत्या, गुण्डागर्दी, डकैतीजस्ता आपराधिक घटनामा भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन्। बिनोदसँगै पक्राउ परेकी उनकी पत्नी र अन्य व्यक्ति उनका सहयोगी रहेको खुल्न आएको छ।

पक्राउ परेकाहरूले भारतबाट ल्याउँदै गरेको एक हजार सात सय ७५ एम्पुल एभिल, पाँच सय एम्पुल डाईजेल्याब, एक हजार सात सय ७६ चक्की एपास्मोप्रोक्सिभन, सात सय २५ ट्याब्लेट नाइट्रोसन, पाँच सय २५ एम्पुल लुपिजेसिक, एक सय २५ एम्पुल फेनारगन र १३ बोतल डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको जानकारी बिसीले दिए। उनका अनुसार उनीहरूले ब्याग तथा मोरटसाइकलको डिकी र शरीरका विभिन्न भागमा लुकाएर नेपाल भित्र्याउने गरेको पाइएको छ।

पक्राउ परेकाहरूले लागुऔषध र हतियार ओसारपसारमा प्रयोग गर्ने गरेको बीआर ३८ एफ १२२८, बीआर ३८ एच ४०५० र बीआर ३८ डी ५२२६ नं को तीन वटा भारतीय मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। एसपी बिसीका अनुसार पक्राउ परेकाको साथबाट नेपाली ८१ हजार रुपैयाँ नगद पनि बरामद भएको छ।

उनीहरूविरुद्ध लागुऔषध ओसारपसार तथा हातहतियार खरखजाना मुद्धा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। म्याद थप गरिएपछि प्रहरीले उनीहरूलाई सार्वजनिक पनि गरेको छ।

नोबेल मेडिकल कलेज नजिकैबाट लागुऔषध र हतियारसहित उनीहरू पक्राउ परेका कारण प्रहरीले यस घटनालाई लिएर थप अनुसन्धान गर्ने बताएको छ। पक्राउ परेकाहरूले लागुऔषध अस्पताल आसपासका औषधि पसलमा ‘सप्लाई’ गर्ने गरेको आशंकामा अनुसन्धान दायरा फराकिलो पारिएको जानकारी एसपी बिसीले दिए। उनका अनुसार प्रहरी उपस्थिति कम हुने स्थानको पहिचान गर्दै नेपालतर्फ हतियार र लागुऔषध भित्र्याएर पूर्वका विभिन्न सहर र काठमाडौंसम्म ‘सप्लाई’ गर्ने धन्दामा भारतका नामुद आपराधिक गिरोहका सदस्यको संलग्नता रहँदै आएको छ।

‘विभिन्न आपराधिक घटनामा भारतीय प्रहरीले सर्वाधिक खोजी सूचीमा राखेपछि भारतीय प्रहरीबाट जोगिन उनीहरूले नेपाललाई अवैध धन्दा सञ्चालन गर्ने सुरक्षित स्थलका रूपमा प्रयोग गर्न थालेको पाइएको छ’, घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘शंस्कापद समूह लागुऔषध र हतियार लिएर आउँदै छ भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न सकियो।’ सूचना पाएको प्रहरीले उनीहरूलाई पक्राउ गर्न ठाउँ ठाउँमा ‘चेक पोइन्ट’ समेत राखेको थियो।

बिसीले भने, ‘भारतीय ‘काउन्टर पार्टसँग समन्वय गरेर थप बुझ्ने र जानकारी लिने काम भइरहेको छ।’ भारतमा विभिन्न शंखलाबद्ध अपराधमा संलग्न देखिएका कारण नेपालतर्फको कारवाही सकिएपछि उनीहरूलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइने नेपाल प्रहरीले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिक र उनीहरूका साथबाट बरामद भएका लागुऔषध, हतियार, नगदलगायत सामग्री सार्वजनिक गर्दै मोरङ प्रहरी। किशोर बुढाथोकी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.