बाँदरबाट मकै जोगाउन टहरामा पहरा

बाँदरबाट मकै जोगाउन टहरामा पहरा
धनकुटा नगरपालिका–९ बेलहरामा बाँदर धपाउन टहरा बनाएर बसेकी ७० वर्षीया नरमाया  श्रेष्ठ र ६५ वर्षीय पूर्णबहादुर  विश्वकर्मा। तस्बिर : हरिबहादुर लम्जेल
सुन्नुहोस्

धनकुटा : संसद्मा बाँदर व्यवस्थापनबारे बहस चलिरहँदा धनकुटा–९ बेलहराकी ७०  वर्षीया नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य छिन्। बाँदर धपाउनकै लागि मकैबारीको डिलमा  टिनको छानोसहित बाँसको सानो टहरा बनाएकी छिन्।

टहरानजिकैको बारीमा  मकैमा घोगा लागेको छ। मकैको टुसा पलाउन थालेको छ। यही बेला बाँदरले  मकैमा ठूलो क्षति पु¥याउने भएकाले नरमाया केही दिनयता दिनभर बारीमै बस्न  थालेकी हुन्। 

‘यसो नगरे बाली जोगिँदैन’ उनले भनिन्, ‘दिनभर यतै टहरामा  बसेर पहरा दिनुपर्छ।’ नरमायाको बारीभन्दा केही पर अर्को डिलमा ६५  वर्षीय पूर्णबहादुर विश्वकर्मा पनि मकैबारी जोगाउन दिनभर बाँदर रुगिरहेका  भेटिन्छन्। उनको दैनिकी पनि पछिल्ला दिनमा यस्तै बनेको छ। ‘मकै घरमा  नभिœयाउँदासम्म यसरी नै रुग्नैपर्छ’ उनले भने, ‘बिहान ५ बजेदेखि बेलुका ६  बजेसम्म बारीमै बस्नुपर्छ।’ नरमाया र पूर्णबहादुरमात्र होइन, बेलहराका  मकैखेती गर्ने अधिकांश घरपरिवार यस्तै बाध्यतामा छन्। नरमायाका अनुसार गाउँका  करिब २०–२५ घरपरिवारले बारीको डिलमा टहरा बनाएर पालैपालो बाँदर रुग्ने  गर्छन्। 

यहाँका बासिन्दाको मुख्य खाद्यान्न बाली नै मकै हो। मकै फल्ने  समयमा बाँदरको उपद्रो बढ्ने भएकाले किसानहरूले बाली जोगाउन निकै सास्ती  बेहोर्नुपर्छ। पछिल्ला समय बाँदरले मकैलाई मात्र होइन नगदे बालीलाई समेत  दुःख दिने गरेका छन्। नरमाया भन्छिन् ‘के गर्नु, मकै नरोपौैं भने बारी  बाँझै हुन्छ।’ बेलहरा आसपास मुलाबारी, साँवाबारी र भैसाखा गरी  तीनवटा सामुदायिक वन छन्। यी वन स्थानीयको बारीसम्म जोडिएका छन्।  सामुदायिक वन क्षेत्र बाँदरको वासस्थान भएकाले नजिकका बस्तीमा बाँदरको उपद्रो  बढ्दै गएको स्थानीयको भनाइ छ। 

वन बाँदरको मुख्य बासस्थान मानिन्छ।  राति जंगलमा बस्ने बाँदरहरू दिनभर स्थानीयले लगाएको मकैबारीमा आएर मकै खाने  गर्छन्।  नरमाया बिहानै टहरामा पुग्छिन्। भोक लागेपछि उनी त्यहीँ चुलो  बालेर खाना पकाएर खान्छिन्। बाँसको टहरा नजिकै खाना पकाउन चुल्हो बनाएकी  छिन्। बाँदर बारीमा आउँदा स्थानीयहरू थाल ठटाउँदै, ढुंगा हानेर र  कुकुर लगाएर लखेटने गर्छन्। तर बाँदरको ठूलै हुल आए भने धपाउन निकै कठिन  हुने गरेको किसानहरू बताउँछन्। ‘हुलै बाँधेर आउँछन्’ उनले भनिन्,  ‘बाँदरको संख्या गनिनसक्नु धेरै हुन्छ। झुक्याएर मकै खाइदिन्छ,’ उनले  दुःखेसो पोखिन्। 
किसानहरू भने दिनभर बारीमा बस्दा मोबाइल हेर्दै र  रेडियोमा गीत सुनेर समय बिताउने गर्छन्। तर गीत सुन्दै गर्दा पनि आँखाचाहिँ  बारीमै रहने उनीहरू बताउँछन्। पूर्णबहादुर विश्वकर्मा भन्छन्, ‘ढुंगा  हान्छौं, कुकुर बोलाउँछौं, मान्छे नै गएर खेदाउँछौं। मकै नभाँचिउन्जेल  यसरी नै रुग्नैपर्छ। घरका जवान मानिस कमाउन बाहिर गएका छन्। महिलाहरू र  केटाकेटीलाई बाँदरले टेर्दैनन्, त्यसैले हामी वृद्धवृद्धा नै बारीमा बस्नुपरेको छ ।’

नरमायाले असार लागेदेखि बाँदर रुग्न थालेकी हुन्। ‘भदौसम्म यसरी  रुग्नुपर्छ,’ उनले भनिन्, ‘भर्खर मकै सेताम्मे हुँदैछ।’ धनकुटा– ९ का वडाध्यक्ष  टंकप्रसाद रोइलाका अनुसार बाँदरको समस्या बेलहरामा मात्र सीमित छैन। ‘यो  अहिले राष्ट्रिय समस्या बनिसकेको छ,’ उनले भने, ‘मकैमात्रै होइन, स्थानीयका  नगदे बाली र घरमा राखिएका अन्नपातलाई समेत बाँदरले नोक्सान पु¥याइरहेका छन् ।’ 

बाली जोगाउन दिनभर बारीमा बस्नुपर्ने अवस्था किसानका लागि शारीरिक  रूपमा कष्टकरमात्र होइन, मानसिक रूपमा पनि तनावपूर्ण बनेको छ। सुरक्षित र  प्रभावकारी बाँदर व्यवस्थापनको उपाय खोज्न ढिलाइ भए यस्ता ग्रामीण बस्तीका  किसानको खेतीपातीमाथिको संकट अझ गहिरिने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.