‘कुनै पनि बेला आकस्मिक बाढीको जोखिम’
काठमाडौं : अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले नेपालमा कुनै पनि बेला आकस्मिक बाढीको जोखिम रहेको बताएका छन्। सन् २०२६ को मनसुन सिजनमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिए पनि आकस्मिक बाढीको खतरा जतिबेला पनि रहन सक्ने भन्दै उनीहरूले सचेत गराएका हुन्।
वैज्ञानिकहरूले हालै पाकिस्तानको बाल्टिस्तान र भारतको अरुणाचल प्रदेशमा बादल फुटेर भएको भारी वर्षा र त्यसपछिको विपद्लाई औंल्याउँदै नेपालमा पनि जुनसुकै बेला यस्तै संकट आउन सक्ने चेतावनी दिएका छन्। यस वर्ष नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा बादल फुट्ने र अन्य घातक मौसमी परिघटनाहरू भइरहेको उनीहरूको भनाइ छ। वैज्ञानिकहरूका अनुसार यस क्षेत्रले आगामी दिनमा अझ खतरनाक मौसमी चक्रको सामना गर्नुपर्ने हुन सक्छ। यस्तो मौसमी चक्रका कारण लामो समय खडेरी पर्ने र बीच–बीचमा अचानक मुसलधारे वर्षा हुने गर्दछ। यसले आकस्मिक बाढी, पहिरो र हिमनदीजन्य विस्फोटनको जोखिम निम्त्याउने खतरा रहन्छ।
इसिमोडका विपद् जोखिम न्यूनीकरण विज्ञ शाश्वत सन्यालले मौसम पूर्वानुमानले औसत अवस्थालाई देखाए पनि कुन स्थानमा कुन बेला के हुन्छ भन्ने निश्चित नहुने बताउँछन्। ‘एल निनो’ का कारण लामो समय खडेरी परेर अचानक विनाशकारी बाढी–पहिरो आउन सक्छ। उनी भन्छन्, ‘कम वर्षा हुनुको अर्थ बाढीको जोखिम कम हुनु होइन।’
यस वर्ष एल निनोकै प्रभावका कारण दक्षिण एसियामा नै कम वर्षा हुने अनुमान गरिएको छ। तर, कुनै निश्चित क्षेत्रमा अत्यधिक वर्षा भई यसले ठुलो विनाश निम्त्याउन सक्छ। मनसुनको अनुमान गर्न झन् झन् गाह्रो हुँदै गएको र यो असमान बन्दै गएको वैज्ञानिकहरूको ठहर छ। यसले गर्दा खाद्य सुरक्षा र जलप्रवाहमा पर्ने खतरा यथावत् छ।
इसिमोडमा कार्यरत हाइड्रोलोजिस्ट मनिष श्रेष्ठका अनुसार सरदरभन्दा कम वर्षा हुँदा तापक्रम बढ्ने र हिमनदी एवं हिउँ पग्लने क्रम तीव्र हुन्छ। जसका कारण हिमनदीबाट बहने नदीहरूमा अचानक हुने अत्यधिक वर्षाले ठुलो बाढी निम्त्याउन सक्छ। त्यसैले यस्ता घटनाहरूबाट जोगिन पूर्वसूचना प्रणालीमा विशेष ध्यान दिनुपर्छ।
इसिमोडकै जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानले भनिन्, ‘हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले लामो समयदेखि वैज्ञानिक पूर्वानुमान र स्थानीय ज्ञानको उपयोग गर्दै आएका छन्। वर्षाको प्रकृति झन्–झन् तीव्र र अनपेक्षित बन्दै गएकाले यी दुवै ज्ञानको संयोजन अझ बढी महत्वपूर्ण भएको छ।’ स्थानीय समुदायको परम्परागत ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्ने बहस अन्तर्राष्ट्रिय रूपमा पनि हुँदै आएको र यसले विपद् न्यूनीकरणमा सकारात्मक परिणाम दिने उनको तर्क छ।
वैज्ञानिकहरूले यस वर्षको मनसुनमा एकैसाथ खडेरी र अत्यधिक गर्मीको चुनौतीका साथै आकस्मिक बाढी, पहिरो र हिमनदीजन्य जोखिम पनि उत्तिकै रहेको औंल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !