घुम्ती शिविरबाट सेवा : ‘गाउँमै सरकार आएको महसुस’

घुम्ती शिविरबाट सेवा : ‘गाउँमै सरकार आएको महसुस’

फुङलिङ : बिहे गरेर सात वर्षअघि ताप्लेजुङ आएकी भारत सिक्किमकी कल्पना गुरुङ लिम्बू बुधबार सहजै नागरिकता पाउँदा खुसी देखिन्थिन् । नेपाली नागरिक हुन पाएकोमा गौरव महसुस गरेको उनले बताइन् ।

‘मैले सहज रूपमै वैवाहिक अंगीकृत नागरिकता पाएँ’, फक्ताङलुङ–५ तापेथोकका दीपककुमार लिम्बूसँग विवाह गरेकी उनले भनिन्, ‘नागरिकता बनाउन धेरै झन्झट हुन्छ भन्थे तर होइन रहेछ ।’ अहिलेसम्म ‘विभिन्न भ्रम’का कारण नागरिकता बनाउन सदरमुकाम नगएको उनले बताइन् । गाउँपालिका केन्द्र तापेथोक पुगेको एकीकृत घुम्ती शिविरमा बुधबार प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले उनलाई नागरिकता प्रदान गरेका थिए ।

२०५५ सालदेखि ‘सोजोफ्रोनिया’का कारण अपांगता जीवन बाँचिरहेका लेलेपका डिकवीर लिम्बू पनि घुम्ती शिविरका कारण हर्षित थिए । फरक क्षमता भएको २० वर्षपछि लिम्बूले गाउँमै आएका चिकित्सकसँग रोग प्रमाणित गरी अपांगता परिचयपत्र लिए ।

लेलेपकै किपा शेर्पाले पनि भिडियो एक्स–रे गरेर पेटमा रहेको बच्चाको अवस्थाबारे जानकारी लिइन् । अघिल्लो बच्चा हुने बेला २ दिन लगाएर जिल्ला अस्पताल पुग्दा पनि भिडियो एक्स–रे नभएर जिल्लाबाहिर गएकी उनले यसपटक गाउँमै परीक्षण गराउन पाउँदा सिंहदरबार गाउँमै आएको महसुस भएको बताइन् ।

‘जिल्ला (सदरमुकाम) पुग्न २ दिन लाग्छ’, ५ घण्टा हिँडेर शिविरमा आएकी उनले भनिन्, ‘जाँदा–आउँदा १० हजारभन्दा बढी खर्च हुन्थ्यो, यसरी घरछेउमै सरकार आएर सेवा दिँदा ठूलै राहत मिल्यो ।’

इखाबुका हर्कहाङ लाबुङले ४ वटा कार्यालयको सेवा एकै ठाउँबाट लिए । टाउको दुख्ने समस्या भएका उनले आयुर्वेद कार्यालयमा परीक्षण गराई जडीबुटीबाट बनेको औषधि मात्र लिएनन्, तरकारीको बीउसमेत लिएर फर्किए ।

गाउँपालिकाका अध्यक्ष सरोज लिम्बू बेफुर्सदिला देखिन्थे । आफू निर्वाचित भएपछि स्थानीयलाई पहिलो पटक सरल र सहज ढंगले गाउँपालिकाबाट सेवा दिन बिहानदेखि खटिएका उनी सेवाग्राहीको भीड व्यवस्थापन गर्न आफैं लागिपरेका थिए । वडाध्यक्षहरू नागरिकता प्रमाणपत्र सिफारिस, विवाह, जन्मदर्ता प्रमाणीकरण गर्न व्यस्त थिए ।

तापेथोकमा सेवा लिन आएका सेवाग्राही ५ घण्टासम्म हिँडेर आएका थिए । साबिकका लिमखिम, साँवादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोला गाविस मिलेर बनेको गाउँपालिकामा स्थानीय निर्वाचनपछि पहिलो पटक घुम्ती शिविर सञ्चालन भएको हो ।

‘मुलुक संघीय संरचनामा गएपछि स्थानीयलाई सिंहदरबारको अधिकार गाउँमै आएको अनुभूति दिलाउन शिविर सञ्चालन गरेका हौं’, गाउँपालिका अध्यक्ष लिम्बूले अन्नपूर्णसँग भने । जिल्ला प्रशासन कार्यालयको संयोजन र फक्ताङलुङ गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरबाट ३ सय जनाले विभिन्न प्रकारका सेवा लिएको जिल्ला प्रशासन कार्यालयका नायबसुब्बा रमेह सिग्देलले बताए ।

जिल्ला प्रशासन, प्रहरी, महिला तथा बालबालिका, पशु, कृषि, स्वास्थ्य, आयुर्वेद कार्यालयले सेवा दिएका थिए । प्रमुख जिल्ला अधिकारी जीसीले विगतजस्तो सेवाप्रदायक शासक र सेवाग्राही शोषित कुनुपर्ने अवस्था अहिले नरहेको उल्लेख गर्दै कर्मचारीलाई जिम्मेवार बनाउन नागरिकको भूमिका रहनुपर्ने बताए । शिविरमा स्थानीयको उपस्थितिले केन्द्रको सेवा गाउँमा आएको आभास दिलाउन शिविर सफल भएको उनको भनाइ छ । ‘स्थानीय तह सञ्चालनका लागि आवश्यक कानुन नबनुन्जेल र विकासे कार्यालय गाउँ नपुगेसम्म यस्ता शिविर चलाइरहन्छौं’, उनले भने ।

याङ्मा, गोला, ग्याब्ला, घुन्साजस्ता हिमाली बस्ती रहेको यो ठाउँले चीन र भारत दुवैलाई छुन्छ । भौगोलिक विकटताका कारण यो ठाउँ पूर्वाधार विकास र सहज सरकारी सेवा प्रवाहको पहुँचबाट अझै टाढा छ । ‘सहज रुपमा एकै ठाउँबाट सबै सेवा पाउने यस्तो शिविर फेरि सञ्चालन गरिनुपर्छ,’ ७ नम्बरका वडाध्यक्ष छेतेन शेर्पाले भने ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.