'हारको जिम्मा सभापतिले लिनपर्छ'

'हारको जिम्मा सभापतिले लिनपर्छ'

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा भएको हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने जिकिर गरेका छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा देउवा पक्षधर नेताहरूले गलत संस्कार देखाएको भन्दै पौडेलको आलोचना गरेपछि पौडेलले आफ्नो बचाउ गर्दै देउवालाई हारको जिम्मेवारी लिन दबाब दिएका हुन् । ‘कांग्रेस हारेकै हो, नेतृत्वले जिम्मा लिनुपर्छ’, पौडेलले शुक्रबार बैठकमा भनेका थिए, ‘मेरो भागमा परेको जिम्मा म लिन्छु ।’

देउवा पक्षधर नेताहरूले हारको जिम्मा वरिष्ठ नेता पौडेलले पनि लिनुपर्ने भन्दै देउवाको बचाउ गरेका थिए । तर, पौडेलले मूल नेतृत्व देउवाको भएकाले नैतिक रूपमा देउवाले नै जिम्मा लिनुपर्ने तर्क गरेका थिए । ‘कम्युनिस्ट गठबन्धनका कारण मात्र हामीले चुनाव हारेका होइनौं’, पौडेलले भने, ‘हाम्रो कार्यशैलीका कारण हार बेहोरेका हौं ।’

संविधानसभाबाट संविधान बनाउने बेला कांग्रेस रक्षात्मक हुनुले पनि चुनावमा कांग्रेस समर्थकहरू खुल्न नसकेको पौडेलको तर्क थियो । प्रधानमन्त्री बन्दैमा मात्र जनताले कसैलाई पनि स्वीकार नगर्ने तर्क पौडेलको थियो । ‘गणेशमानजी एक पटक पनि प्रधानमन्त्री बन्नु भएन, तर तपाईं (शेरबहादुर) कति पटक प्रधानमन्त्री बनुभयो’, पौडेलले भनेका थिए, ‘आज जनताले तपाईंलाई पुज्छन् कि गणेशमानजीलाई ? ’ सत्तामा रहँदा पार्टी नेतृत्वले लोकप्रिय काम गर्न नसकेको र विधानअनुरूप सरकार सञ्चालन हुन नसकेको पौडेलको आरोप थियो ।

विगतमा पार्टी सभापति देउवाले नै एक व्यक्ति एक पदको कुरा गरे पनि आफू नेतृत्वमा आएपछि त्यसलाई ठाडै कुल्चेको पौडेलको आरोप थियो । त्यस्तै बैठकमा पार्टी एकीकरणको बेला आफूसँग भएको सहमतिलाई लागु गर्न नेता विजय गच्छदारले माग गरेका थिए ।

चुनावअघि कांग्रेससँग पार्टी एकता गरेका गच्छदारले आफूलाई उपसभापति पद र फोरम लोकतान्त्रिकका १५ देखि २० जनासम्मलाई केन्द्रीय कार्यसमितिमा ल्याउनुपर्ने माग गरेका थिए । ३० असोजमा कांग्रेसमा फर्केका गच्छदारलाई सभापति देउवाले संसदीय दलको उपनेता बनाएका छन् भने पार्टीको बैठकमा उनलाई विशेष आमन्त्रित सदस्यको रूपमा सहभागी गराइँदै आएको छ ।

९ चैतदेखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार सकिँदै छ । चैत १६ मा कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित बैठक ९ वैशाखदेखि पुनः सुरु भएको थियो । आइतबारदेखि सुरु भएको बैठकमा शुक्रबार नेताहरू विजय गच्छदार र वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेपछि शनिबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

शनिबार बस्ने बैठकमा महामन्त्री शशांक कोइरालाले आफ्नो धारणा राख्दै निर्णयहरू पेस गर्ने कार्यतालिका बनाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति देउवाले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै बैठक सकिनेछ । सभापतिको तर्फबाट बैठकमा महामन्त्री कोइरालाले पेस गर्ने निर्णयमा असन्तुष्टि नआओस् भन्नका लागि सभापति देउवाले पौडेल पक्षलाई समेत त्यसमा समेटेका छन् ।

निर्णय माइन्युट गर्न सभापति देउवातर्फबाट प्रवक्ता शर्मा र वरिष्ठ नेता पौडेलको तर्फबाट नेता नवीन्द्रराज जोशीलाई सदस्यमा राखिएको छ ।

महासमिति भेलाको मिति, जिल्ला सभापतिको भेला, विधान मस्यौदा समिति र पार्टीले निर्वाचनमा बेहोरेको हारको सम्बन्धमा जारी बैठकको निर्णयका रूपमा ल्याउने कांग्रेसको तयारी छ ।

देउवा पक्ष साउन १५ भित्र महासमिति भेलाको मिति तय गर्ने मनस्थितिमा छ भने पौडेल पक्षले वैशाखभित्र जिल्ला सभापतिको भेला गरेर जेठभित्रै महासमिति भेला गर्ने पक्षमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.