ताप्लेजुङमा प्याराग्लाइडिङ

ताप्लेजुङमा प्याराग्लाइडिङ

 फुङलिङ : सञ्चारकर्मी शान्ता आङबुहाङले २०६७ सालमा प्याराग्लाइडिङबाट रेडियोमा गरेको प्रत्यक्ष प्रसारणले देशभर चर्चा पायो। ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडेकी आङबुहाङले मुलुकमै पहिलोपटक प्याराग्लाइडिङबाट पाइलट सानुबाबु सुनुवारको अन्तर्वार्तासहित स्थानीय रेडियोमा ३० मिनेट प्रत्यक्ष प्रसारण गरेकी थिइन्। त्यसबेला पाथीभरा पर्यटन महोत्सवको अवसर पारेर ताप्लेजुङको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ उडाइएको थियो।

महोत्सवकै मौकामा त्यसको दुई वर्षपछि र पछिल्लोपटक गत फागुन १ देखि ३ गतेसम्म प्याराग्लाइडिङ उडाइएको थियो। प्याराग्लाइडिङ हेर्न ठूलो संख्यामा स्थानीयवासी उपस्थित भएका थिए। तर, जिल्लामै व्यावसायिक उडान भने हुन सकेको थिएन। एउटा पहाडबाट अर्को पहाड उड्ने पाइलटले यहाँ व्यावसायिक उडानका धेरै सम्भावना रहेको औंल्याइरहेका छन्।

व्यावसायिक उडानका लागि ताप्लेजुङमा राम्रो सम्भावना रहेको नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र राउतले बताए। राउतले पाथीभरा पर्यटन महोत्सवमा सुकेटारबाट फुङलिङ बजारसम्म प्याराग्लाइडिङ उडाएका थिए। राउतका अनुसार नेपालमा प्याराग्लाइडिङ उडाउन सबैभन्दा बढी चिनियाँहरू आउँछन्। प्याराग्लाइडिङबाट ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट चिनियाँ पर्यटक भिœयाउन सकिने राउतले बताए। ‘ओलाङचुङगोलासम्म सडक जोडिएपछि त चिनियाँहरूलाई यही मार्ग भएर नेपाल ल्याउन सकिन्छ’, राउत भन्छन्, ‘त्यसपछि पूर्वी पहाडमै साहसिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ।’

अहिले तिब्बत जोड्ने तमोर करिडोर निर्माण भइरहेको छ। कञ्चनजंघासहित आठ हजार मिटरभन्दा अग्ला चारवटा हिमाल, पाथीभरा मन्दिरका साथै चीन र भारतसँग जोडिएका जिल्लाको नाताले ताप्लेजुङ सबैभन्दा उत्तम जिल्ला हुने पर्यटन व्यवसायी सुरेश लामा बताउँछन्। अहिले उडानका लागि सुकेटार र अवतरणका लागि तोक्मेडाँडास्थित नेपाली सेना र भानु माविको मैदान प्रयोग गरिँदै आएको छ। व्यावसायिक उडानका लागि भने अर्को मैदान बनाउनुपर्ने प्रशिक्षक तथा पाइलट सुरेन गुरुङले बताए। ‘उडानका लागि समस्या नभए पनि अवतरण गर्न केही समस्या छ’, गुरुङले भने, ‘अवतरणका लागि आसपासमा बिजुलीको प्रसारण लाइन नभएको खाली ठाउँ उपयुक्त हुन्छ।’

ताप्लेजुङको सुकेटार र पाथीभरा मन्दिर तेह्रथुम, संखुवासभा, ताप्लेजुङका संगमस्थल गुफापोखरी क्षेत्र उडानका लागि उपयुक्त रहेको हिमालयन गाइड्स् एक्सपिडिसनका अध्यक्ष ईश्वरी पौडेलले बताए। ती ठाउँबाट उडाएर तमोर दोभानमा अवतरण गर्ने गरी योजना बनाइरहेको पौडेलले बताए। ‘जिल्लामै व्यावसायिक उडान गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ’, यसअघि पोखराबाट आफैं पाइलट ल्याएर उडाएका पौडेलले भने, ‘प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर योजना बनाउँछौं।’ दोभानमा अवतरण गर्ने वातावरण बनाए पर्यटकको चाप बढ्ने र यसले र्‍याफ्टिङको सम्भावनालाई बढाउने पौडेल बताउँछन्।

प्याराग्लाइडिङ एसोसिएसनका अनुसार नेपालमा सन् २००० बाट प्याराग्लाडिङको व्यावसायिक उडान सुरु भएको हो। अझै पनि नेपालमा प्याराग्लाइडिङ गर्ने पाइलटको भने कमी छ। हालसम्म व्यावसायिक रूपमा उडाउने एक सय ७५ जनाले लाइसेन्स लिएको महासचिव राउतले बताए। एकल उडान गर्ने थप एक सय ५० पाइलट छन्। व्यावसायिक पाइलटमा ६ जना महिला छन्। नेपालमा यो खेलप्रति दिनानुदिन सर्वसाधारणको आकर्षण बढ्दै गएकाले पाइलटको अभाव रहेको उनले बताए।

‘पाइलट उत्पादनका लागि स्याङ्जाको स्वरेक र तनहुँको बन्दीपुरमा ट्रेनिङ सेन्टर स्थापना गरी पाइलट कोर्स गराइँदै आएको छ’, उनले भने, ‘प्रदेश १ का लागि सुनसरीको धरानमा पनि चाँडै ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याउँदै छौं।’ १५ दिनमा एकल उडानको आधारभूत कोर्स पूरा हुन्छ। यसका लागि दुई लाख रुपैयाँ लाग्छ भने व्यावसायिक उडानका लागि १८ महिनाको कोर्स गर्नुपर्छ। एसएलसी पास गरेकाले तालिम लिन पाउने उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.