चित्रमार्फत शान्ति खोज्दै 'निहारिका'

चित्रमार्फत शान्ति खोज्दै 'निहारिका'

नागपोखरीस्थित एक क्याफे। क्याफेको ग्यालरीमा झुन्डिएका चित्रकला। चित्र हेर्ने जोसुकैले ती कुनै व्यावसायिक कलाकारका हुन् भनेर पत्याउन गाह्रै पथ्र्यो। यस्ता सुन्दर र परिपक्व देखिने चित्रका सर्जक हुन्, कलाकार निहारिका पन्त। आफ्नो जन्मदिनको उपलक्ष्यमा गत मंगलबारबाट सुरु भएको निहारिकाको दोस्रो एकल चित्रकला प्रदर्शनी शनिबार सकिएको छ। पाँच वर्षपहिले उनले पहिलो एकल प्रदर्शनी गरेकी थिइन्।

चञ्चले स्वभावकी निहारिका सानैदेखि कलम लिएर कापीमा कोर्ने गर्थिन्। आफूलाई जे मन लाग्यो त्यही आकृति बनाउँदै जाँदा कलाकारितामा उनको झुकाव पनि बढ्दै गयो। पहिले उनी आफ्नो सिर्जना राम्रो बनाउन निकै सोचविचार गरेर चित्र बनाउँथिन्। तर, अहिले आफ्नो मनमा जे आयो त्यही बनाउन रमाइलो मान्ने निहारिका भन्छिन्, ‘पहिले पर्फेक्ट बनाउन खोज्थेँ तर अहिले मन लागेको बनाउँदा त्यो इम्पर्फेक्ट भए पनि मजा आउँछ।’

एनिरभान नाम दिइएको उनको प्रदर्शनीमा राखिएका जम्मा २१ वटा चित्रले नेपाली धर्म र संस्कृतिको मात्रै नभई प्रकृतिको पनि झल्को दिइरहेको थियो। उनका चित्रहरूमा देखिएका बुद्धका विभिन्न मुद्राले निहारिकाको बुद्ध धर्म र शान्तिप्रतिको झुकावलाई झल्काउँथ्यो। त्यसैगरी उनले माने, घन्टी लगायतका वस्तुलाई पनि आफ्नो चित्रमा उतारेकी छन्। घन्टी बजाएर सबैको ध्यानाकर्षण गरी शान्तितर्फ लैजाने उनको चित्रको आशय रहेको बताउँछिन् साहित्यकार गीता केशरी। चित्रमा रहेको उनको विषयवस्तु, प्रस्तुति र मेहनतले निहारिका शान्तिप्रिय हुन् भन्ने प्रस्ट पार्ने केशरीको बुझाइ छ। उनका चित्रका अर्को आकर्षक पाटो भनेका सुन्दर सुनगाभाहरू हुन्। 

आफ्नी आमा डा. विजया पन्तको विज्ञताको विषय सुनगाभामा निहारिकाको पनि रुचि बसेको उनका चित्रले देखाउँछन्। उनले सिम्बिडियम डेभोनियनम, डेन्ड्रोबियम एमोनमलगायतका सुनगाभाको सौन्दर्यलाई आफ्ना चित्रमार्फत अझै बढाएकी छन्। आफ्नै घरको बगैंचामा फुलेका सुनगाभालाई चित्रमा उतारेको उनी बताउँछिन्। उनको घरको बगैंचामा अर्को एउटा सानो घरजस्तै गजिबो छ। त्यहीँ बसेर चित्र बनाउँदा आफ्नो सिर्जना अझै फुर्ने उनको अनुभव छ। दिउँसोभन्दा बिहानबेलुकी अलि शान्ति हुने भएकाले उनी प्रायः राति सुत्नुअगाडि वा बिहानै उठेर चित्र कोर्न रुचाउँछिन्। प्रायः आफ्ना चित्रमा एक्रेलिक रङ प्रयोग गर्ने निहारिकाले यस प्रदर्शनीमा राखिएका पोखरा लेकसाइडको डुंगा बनाउन भने पानी रङ प्रयोग गरेकी छन्।

 हरियो रङ मन पराउने निहारिकाका चित्रका ब्याकग्राउन्ड प्रायः हरियै देखिन्छ। निहारिकालाई नजिकबाट नियालेका उनका बाबु वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्त आफ्नो छोरीको उमेरसँगै उनको कलाकारितामा पनि परिपक्वता आएको बताउँछन्। निहारिकाको पहिलो प्रदर्शनीमा पनि बुद्धका चित्र धेरै थिए र अहिले पनि त्यस्तै भएकाले शान्तिकै सेरोफेरोमा उनको विचार घुमेजस्तो लाग्छ डा.पन्तलाई। निहारिकाको प्रदर्शनी उद्घाटन गर्दै हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि उनको कलाकृतिको प्रशंसा गरे। कलाकार आचार्यले उनको रगतमै प्रतिभा मिसिएको र पन्त परिवार नै प्रदर्शनी गर्नलायक रहेको प्रतिक्रिया दिए। ‘चित्र हेर्दै व्यावसायिकले बनाएजस्तो देखिने हुनाले भविष्य उज्ज्वल छ’, निहारिकालाई हौस्याउँदै उनले भने, ‘आर्ट गर्दै जानु र नेपालको नाम राख्नु।’

रातो बंगला स्कुलमा पढ्ने निहारिका विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्न चाहन्छिन्। आफ्नो जन्मदिनमा केही राम्रो गरौं भनेर उनले प्रदर्शनीबाट उठेको रकममध्ये ५० प्रतिशत आदर्श माविका विद्यार्थीलाई दिने घोषणा पनि गरिन्। फुर्सदमा चित्र कोर्न, लेख्न र बास्केटबल खेल्न मन पराउने उनी किताब पनि धेरै पढ्छिन्। हाल उनी पउलो क्वेल्होका किताब पढ्दैछिन्। निकै राम्रा चित्र बनाउने निहारिका कलाकारितालाई आफ्नो करिअर भने बनाउन चाहन्नन्। समाजशास्त्र, जीवविज्ञान वा वातावरण व्यवस्थापनमा आफ्नो पढाइ अगाडि बढाउने उनको इच्छा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.