गाउँलेले खने बाटो

गाउँलेले खने बाटो

घराम्दी (बेनी) : चारैतर्फ डाँडाले घेरिएको घराम्दी गाउँमा २ सय घरधुरी मगर समुदायको बसोबास छ। आलुको भण्डार मानिने त्यहाँका किसानलाई बजारसम्म पुर्‍याउन समस्या थियो। ६ किलोमिटर तल बेनी–जोमसोम सडकमा दैनिक सयौं सवारी गुडे पनि उनी हेरेरै चित्त बझाउँथे।

गाउँमुनि रहेको ‘महभीर’ का कारण सरकारी निकाय लगानी गर्न अनिच्छुक थियो। तर, घराम्दीबासीले गाउँदेखि प्रवाससम्म अभियान चलाएर गाउँ नै सडक पुर्‍याएका छन्।

१ करोड १७ लाख ८५ हजार रुपैयाँ लगानीमा १४ किलोमिरट महभीर–घराम्दी–पेरी भारानीसम्म सडक निर्माण गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष दुतबहादुर पुर्जाले जानकारी दिए। ‘एकसय ९८ घरधुरीले चन्दा उठाएर बाटो खन्न सफल भएका छौं। गाउँसम्मै जिप आउने भएपछि यहाँको आलुले राम्रो बजार पाएको छ’, अध्यक्ष पुर्जाले भने, ‘मोटरबाटो विस्तारका क्रममा २ हजारदेखि १० लाख रुपैयाँसम्म सहयोग भएको छ।’

२०७० सालदेखि सुरु उक्त सडक महभीरदेखि घराम्दीसम्म ६ किलोमिटर र घराम्दीदेखि पेरी भारानी तालसम्म ८ किलोमिटर गरी २ खण्डमा निर्माण गरिएको हो। दुवै खण्डको शनिबार उद्घाटन गरिएको छ। ‘गाउँसम्म सडक ल्याएपछि थप आठ किलोमिटर सडक खन्न हामीलाई चारैतर्फ सहयोग मिल्यो। पेरी भारानी ताल जिल्लाकै पर्यटकीय क्षेत्र हो’, अध्यक्ष पुर्जाले भने, ‘गाउँसम्म स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न त्यहाँसम्म सडक पुर्‍याएका हौँ।’

प्रवासमा रहेकाबाट बढी सहयोग प्राप्त भएको छ।

पेरी भारानी तालमा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र घोरेपानी, पुनहिल र मोहरेडाँडाबाट पर्यटक आउने गर्छन्। ‘त्यहाँ आउने पर्यटकलाई गाउँसम्म आकर्षित गरी मगर समुदायको कलासंस्कृति देखाउने योजना छ’, मोटरबाटो निर्माण समितिका सचिव मनकुमार गर्बुजाले भने। सडक निर्माणपछि आलु निर्यातका साथै दैनिक उपभोग्य वस्तु आयातमा समेत सहज भएको उनले बताए। ‘प्रतिघरको हिसाबमा आर्थिक सहयोग भएको छ। पैसा दिन नसक्ने डोजर चालकलाई खाजा नास्ता दिएर पनि सहयोग भएको छ’, उनले भने, ‘अहिले गाउँमै गाडी आउँछ, बिरामी पर्दासमेत अस्पताल पुग्न सहज भएको छ।’

अन्नपूर्ण गाउँपालिका–७ पर्ने घराम्दीमा हरेक घरबाट कम्तीमा एक जना वैदेशिक रोजगारीमा छन्। प्रवासमा रहेकाबाट बढी सहयोग प्राप्त भएको छ। बेलायत, हङकङ, जापान र अमेरिकामा रहेका घराम्दीबासीको सहयोगले १४ किलोमिटर सडक तयार पार्न सफल भएको स्थानीय अगुवा तीर्थबहादुर फगामीले जानकारी दिए। ‘गत वर्ष तयार पारेको सडक जीर्ण बनेको थियो। अहिले गाउँपालिकाबाट पाँच लाख रुपैयाँ प्राप्त भएपछि महभीरबाट पेरी भारानी तालसम्मै मर्मत गरेका छौ’, उनले भने।

सडक निर्माण अभियानमा सबैभन्दा बढी १० लाख रुपैयाँ सहयोग गर्ने स्थानीय होमबहादुर पुर्जालाई उद्घाटन समारोहका सम्मान पनि गरियो। पुर्जा अवकाशप्राप्त बेलायती सेना हुन्। बेलायतमै बसोसास गर्दै आएका उनले भने, ‘हामीले गाउँसम्म सडक ल्यायौँ तर, घुम्ती अझै मिलेको छैन। कतिपय ठाउँ साँघुरो छ। अब यसलाई व्यवस्थित बनाउने जिम्मा स्थानीय सरकारको हो।’

०००

सडक निर्माणमा १० लाख रुपैयाँ सहयोग गर्ने स्थानीय होमबहादुर पुर्जालाई सम्मान गरिँदै। गोपाल छन्त्याल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.