कांग्रेसको निचोड: निर्वाचनमा हारको मुख्य कारण वाम गठबन्धन

कांग्रेसको निचोड: निर्वाचनमा हारको मुख्य कारण वाम गठबन्धन

भारतीय नाकाबन्दीको विरोध नगर्दा अरू दलले मत खोसे 

काठमाडौं: नेपाली कांग्रेसले मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयको प्रमुख कारण कम्युनिस्ट गठबन्धन भएको ठहर गरेको । केन्द्रीय समितिको करिब डेढ महिनासम्म लम्बिएको बैठकले यस्तो निचोड निकालेको हो । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतवार साँझ पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले हारको कारण वाम गठबन्धन र भारतीय नाकाबन्दीको खुलेर विरोध गर्न नसक्नु रहेको उल्लेख गरेका छन् ।

'संघीय संसद र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धन नेपाली कांग्रेस हार्नुको मुख्य कारण बन्न पुग्यो । विपक्षी कम्युनिष्ट गठबन्धनले भारतले लगाएको नाकाबन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो', कांग्रेसले निकालेको विज्ञप्तीमा भनिएको छ, 'यसका साथै पार्टीले उम्मेदवारी चयनलाई प्रयाप्त गृहकार्य गरी समयमा टुंगो लगाउन नसक्नु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निष्क्रियता, असहयोग र अन्तर्घात जस्ता अनुशासनहीन क्रियाकलाप देखिनु पनि हारको कारण बन्यो ।'

कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार निर्वाचनमा बेहोरेको हारको जिम्मा सामुहिक रुपमा लिने सहमति भएको छ । शनिबार अवरूद्ध केन्द्रीय समिति बैठक महासमिति भेला बर्षाको मौसमलाई मध्यनजगर गर्दै पार्टीले मिती तय गर्ने सहमति भएपछि बैठक सुचारु भएको थियो ।

निर्वाचनको हारको जिम्मावारी पार्टी सभापति देउवाले लिनुपर्ने अडान वरिष्ठ नेता रामचन्द्र पौडलले लिएपछि शनिवार विहान ९ बजे बोलाइएको बैठक बस्न सकेको थिएन । तर हारको जिम्मा सामूहिकरूपमा लिने निर्णय कांग्रेसले गरेको छ ।

बैठकले जेठ मसान्तमा जिल्ला सभापतिहरुको भेला गर्ने, भदौभित्र महासमिति बैठक बोलाउने, महासमितिमा पेस गर्ने विधान संशोधनका लागि समिति बनाउने, संसदीय समिति भंग गर्ने, कार्यसम्पादन समिति पुनर्गठन गर्ने र अनुशासन समिति पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले महामन्त्रीको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । बैठकमा बोल्दै पार्टी सभापति देउवाले संविधान बनेपछि भारतको नाकाबन्दीको अरू दलले खुलेर विरोध गर्दा कांग्रेसले बोल्न नसक्नु पनि हारको अर्को कारण भएको उल्लेख गरेका थिए । 

कांग्रेस प्रवक्ता शर्माका अनुसार केन्द्रीय समितिको अर्को बैठक सोमबार बिहान साढे ८ बजे बस्ने भएको छ । त्यो बैठकमा सभापति देउवाले रिक्त रहेका उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि नाम प्रस्ताव गर्ने प्रवक्ता शर्माले जानकारी दिए । 

निर्वाचनको करिब पाँच महिनापछि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । गत ९ चैतदेखि निर्वाचन समीक्षाका लागि सुरु भएको बैठक झण्डै डेढ महिनासम्म चलेको थियो । यो बैठकमा नेताहरूले सभापति देउवा र उनको नेतृत्व शैलीको कडा विरोध गरेका थिए । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय 

२०७४ चैत्र ९-२०७५ वैशाख १६

२०७४ साल चैत्र ९ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको समिक्षा बैठक आज चौधौं दिन एकतावद्ध रुपले सम्पन्न भएको छ । केन्द्रीय सदस्यहरुबाट अत्यन्त महत्वपूर्ण विश्लेषण र सुझाव प्रस्तुत भयो । बैठकमा व्यक्त भएका सुझाव र भावनालाई आधार मान्दै पार्टीलाई थप व्यवस्थित एवं सवलरुपमा क्रियाशील तुल्याउन यो बैठकले निम्न निर्णय गर्दछ ।

१. २००७ सालको क्रान्तिको नेतृत्व गर्दा जननायक बी.पी. कोइरालाले प्रस्तावित गर्नु भएको राजनीतिक प्रणालीलाई मूर्तरुपमा स्थापित गर्न नेपाली कांग्रेस सफल भएको छ । जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट बनेको संविधानसभाबाट निर्मित संविधानबाट मुलुकको शासन प्रणाली संचालन गर्ने उद्वेश्य प्राप्त भएको छ । 

जनताद्वारा निर्वाचित प्रथम प्रधानमन्त्री श्री वी.पी. कोइरालाको नेतृत्वको सरकारलाई अपदस्थ गरी बलात निर्दलीय पंचायती व्यवस्था लागु गरेपछि आफ्ना नेता तथा पार्टीका साथीहरुलाई बन्दी बनाइएका अवस्थामै संघर्षको पहिलो चरणमा हाम्रा नेता श्री सुवर्ण शंशेरले प्रजातन्त्र पुर्नस्थापनाको बलिदानीपूर्ण संघर्षको नेतृत्व गर्नु भयो । प्रजातन्त्र पुनस्र्थापना गर्ने निर्णायक ऐतिहासिक जनआन्दोलनले सर्वमान्य नेता श्री गणेशमान सिंहको नेतृत्वमा सफलता प्राप्त ग¥यो । प्रजातन्त्र पुनस्र्थापना पश्चातको सरकारका प्रधानमन्त्री सन्त नेता श्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०४७ सालमा छोटो अवधिमै प्रजातान्त्रिक संविधान निर्माण गरी मुलुकमा दोस्रो आम निर्वाचन सम्पन्न भयो । प्रजातान्त्रिक संविधानले प्रदान गरेको खुलापनले नागरिक चेतनालाई व्यापक एवं गहिरो रुपमा विस्तारित भयो । दोस्रो जननिर्वाचित प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक आधुनिकता र आर्थिक विकासको वाटोमा अग्रसर भयो । तर प्रजातान्त्रिक अभ्यासको केहि वर्ष नपुग्दै प्रारम्भ भएको माओवादी शसस्त्र विद्रोहका कारण आर्थिक विकास र प्रजातान्त्रिक संस्थाहरु सुदृढ बनाउने यात्रामा विघ्न खडा भयो । माओवादी शसस्त्र विद्रोहको बहानामा तत्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई अपदस्थ गरी निरंकुश शासन प्रणाली लागु गरे । त्यसपश्चात, एकातर्फ निरंकुश राजतन्त्र, अर्कोतर्फ शसस्त्र विद्रोहको चपेटा दुबैबाट मुलुकलाई मुक्त गर्नु पर्ने चुनौती थियो । राष्ट्रिय राजनीतिमा शिखर पुरुष श्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादी शसस्त्र विद्रोहको शान्तिपूर्ण अवतरण र निरंकुश राजतन्त्रको अन्त्य गर्न हामीहरुले सफलता प्राप्त ग¥र्यौ । २००७ सालको क्रान्तिका मुल भावना अनुरुप शान्ति स्थापना र आम–नागरिकको संविधान निर्माण गर्न संविधानसभाको निर्वाचन सम्पन्न भयो । मुलुकमा गणतन्त्र घोषणा भयो, शान्ति प्रकृयाका कार्य अघि वढे, संघीयता स्थापनाको दिशामा अघि बढ्यौं । संविधान निर्माण नगर्दै पहिलो संविधानसभा विघटन हुन पुग्यो । मुलुकलाई फेरी एक पटक लोकतान्त्रिक विकासका लागि अघि वढाउनु थियो । संविधानसभाको निर्वाचन फेरी गराउनु पर्ने थियो । नेपाली कांग्रेसको अग्रसरतामा यो कार्यभार पुरा भयो । तत्कालिन प्रधानमन्त्री एवं पार्टी सभापति श्री सुशील कोइरालाको नेतृत्वमा सबै नेपालीको चाहना अनुरुप संविधानसभा मार्फत नेपालको संविधान निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सफल भयौं । संविधानका सम्वन्धमा रहेका केही असन्तुष्टिहरुलाई संवोधन गर्नु थियो । हाम्रो अग्रसरतामा संविधानमा दुईवटा संशोधन संसदबाट पारित गरायौं । संविधान कार्यान्वयनका लागि केन्द्र, प्रदेश, स्थानीय तह तिनै तहको निर्वाचन गर्नु थियो । पहिलो दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भई सकेपछि पनि बाँकी रहेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरुलाई सहभागी बनाउने कार्य सहज थिएन । यसका लागि संविधान निर्माण गर्ने वेलामा तत्कालिन प्रधानमन्त्री हाम्रा नेता श्री सुशील कोइरालाले गर्नु भएको प्रतिवद्धता अनुरुप संविधान संशोधनको प्रस्ताव संसदको प्रकृया अघि वढायौ, तर त्यो प्रयास सफल हुन सकेन । तथापि नेपाली कांग्रेस पार्टी र यसका सभापति तथा तत्कालिन प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सत्प्रयासबाट सबै राजनीतिक दलहरुको सहभागिता सहित प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन सम्पन्न भयो । संघीय संसद र प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । संविधानले व्यवस्था गरे अनुरुप तिनै तहमा निर्वाचित राजनीतिक नेतृत्व स्थापित भएको छ । संघीय, लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कोशे ढुङ्गा पार गरेका छौं । अब आम नेपाली नागरिकको समृद्धिको चाहना अनुरुप अघि बढ्न एउटा मजवुत राजनीतिक जग निर्माण भएको छ ।

बहुलवादमा आधारित लोकतान्त्रिक संसदीय शासन प्रणाली एवं समावेशी, संघीय, गणतन्त्रात्मक राज्य संरचना संस्थागत गर्दै समृद्धिको अभियानमा अघि वढ्न सबल आधार प्रदान गर्ने नेपालको संविधान निर्माण तथा यसको कार्यान्वयन नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न गर्न सकिएकोमा हामी गौरव महशुश गर्दछौं । यस ऐतिहासिक क्षणमा भएको केन्द्रीय कार्यसमितिको यो बैठक आफ्ना पथ प्रर्दशक नेता बी.पी. कोइराला, सुवर्ण शंशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत दिवंगत नेताहरु तथा लामो समय वलिदानीपूर्ण संघर्षमा सहादात प्राप्त गर्ने महान शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन सम्पन्न गर्न सफल भएकोमा नेपाली कांग्रेसका सभापति तथा तात्कालीन प्रधानमन्त्री श्री शेरबहादुर देउवा र उहाँको नेतृत्वको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

२. हालै सम्पन्न संघीय संसद र प्रदेश सभाको निर्वाचनमा हामीले पराजय वेहर्नु परेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी, लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले निर्माण गरेको कम्युनिष्ट गठवन्धनले गर्दा समग्रमा तथा मधेश केन्द्रीत दलहरु, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठवन्धनले गर्दा प्रदेश नं. २ को निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न सहज थिएन । नेपाली कांग्रेसले २०७० सालमा प्राप्त गरेको मत प्रतिशतमा वढोत्तरीका वावजुद विपक्षी पार्टीहरुको पहिलो पटक भएको उल्लेखित गठवन्धन नेपाली कांग्रेस हार्नुको मुख्य कारण वन्न पुग्यो । विपक्षी कम्युनिष्ट गठवन्धनले भारतले लगाएको नाकावन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो । यसका अतिरिक्त निम्न लिखित कारणले गर्दा पनि निर्वाचन परिणाममा पार्टीले क्षति वेहोर्नु प¥यो । पार्टीले उम्मेदवारी चयन प्रकृयालाई प्रयाप्त गृहकार्य गरी समयमा टुंगो लगाउन नसक्नु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निस्कृयता, असहयोग र अन्तर्घात जस्ता अनुशासनहिन क्रियाकलाप देखिनु, पार्टीको संरचनालाई पूर्णता दिई पार्टीको संगठनात्मक गतिविधिलाई तिव्रता दिन आवश्यक आन्तरिक व्यवस्थापनमा कमजोरी देखिनु, निर्वाचनमा जनमत सृजना गर्न सामाजिक संजाल र संचार माध्यमको प्रभावकारी ढंगबाट प्रयोग गर्न नसक्नु, अनेकन वाधा र अवरोधको वावजुद मुलुकको राजनैतिक, आर्थिक र सामाजिक विकासमा नेपाली कांग्रेसको सरकारका उपलव्धी वारे जनताकाबीच प्रभावकारी प्रचार प्रसार गर्न नसक्नु लगायतका विषयहरु पनि प्रतिकुल परिणाम आउनुका कारण रहे । पार्टीको पराजय सम्वन्धमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रममा प्रकट गर्नु भएका विविध विषयमा विमर्श हुदै जानेछ ।

सबै राजनीतिक दलहरुलाई सहभागी वनाई निर्वाचन गराउनु पर्ने राष्ट्रिय कार्यभार पुरा गर्न मुख्य रुपमा केन्द्रीत रहनु पर्दा हाम्रो चुनावी विजय अभियानका लागि पर्याप्त तयारी गर्न सकिएन । आर्थिक विकास तथा सामाजिक परिवर्तनको दिशामा भएका महत्वपूर्ण उपलव्धी र सफलतालाई मन जित्ने ढंगले पूँजीकृत गर्दै थप मतदातालाई आकर्षित गर्न सकिएन । संघीय संसद र प्रदेश सभाहरुमा हाम्रो उपस्थिति पातलो छ । तर नेपाली कांग्रेस अहिले पनि जनताको प्रिय लोकतान्त्रिक राजनीतिक पार्टी हो । सम्पन्न निर्वाचनमा आम नेपाली जनताको सबैभन्दा बढी मत एवं विश्वास प्राप्त गर्न नेपाली कांग्रेस सफल भयो । राज्य संचालनमा जनतालाई सर्वोपरी रुपमा स्थापित गर्ने तथा हिमाल, पहाड, तराई–मधेशलाई एकतावद्ध वनाई राष्ट्रियतालाई अझ सदृढ वनाउने हाम्रो लामो संघर्षको राजनीतिक उद्देश्य प्राप्त गर्न हामी सफल भयौ ।

नेपाली कांग्रेसका आदर्श, उद्देश्य र सिद्धान्त जनताको मन मस्तिष्क गहिरो रुपमा स्थापित भएका छन् । जनताको आशा र भरोशा अनुरुप पार्टीलाई शसक्तरुपमा संगठीत एवं क्रियाशील तुल्याउन आवश्यक जनसमर्थन प्राप्त छ । जनताको पक्षमा काम गर्ने, गरिबी र पछौटेपन अन्त्य गर्ने, मर्यादित रोजगारीका अवसर श्रृजना गर्ने, विकास निर्माणको सपना पुरा गर्ने; समग्रमा भन्नुपर्दा, समृद्धिको यात्रामा मुलुकलाई अघि वढाउनु छ । यसका लागि नेपाली कांग्रेसको सबै तहका नेता तथा कार्यकर्ता साथीहरुलाई थप उत्साह, जाँगर र उर्जाका साथ अघि बढ्न सक्नु पर्दछ । 

माथि उल्लेखित निर्वाचन समिक्षालाई मध्यनजर गर्दै जे जस्ता कारणहरुले निर्वाचन परिणाम प्रतिकुल भयो नेपाली कांग्रेस केन्द्रीय समितिले त्यसको जिम्मेवारी लिदै यो बैठक निम्न लिखित निर्णय गर्दछ:–

क) संघीय संसदमा र प्रदेश सभामा शसक्त एवं रचनात्मक प्रतिपक्षको भूमिका पुरा गर्न, एकीकृत वार्षिक कार्यक्रमका आधारमा स्थानीय तहसम्म प्रशिक्षणको कार्यक्रम संचालन गर्न, सबै पहिचानका समुदाय, महिला र नयाँ पुस्ताकाबीच पार्टीलाई थप प्रभावकारी वनाउन, पार्टीको सबै तहको संरचना तथा भातृ र शुभेच्छुक संस्थाका गतिविधिलाई “एकिकृत राष्ट्रिय जागरण अभियान” अन्तर्गत संचालन गर्न आवश्यक कार्ययोजना तथा कार्यक्रम निर्धारण गरिनेछ ।

ख) नेपाली कांग्रेस जिल्ला सभापति भेला २०७५ जेष्ठ महिनाको अन्तिम सातामा आयोजना गर्ने ।

ग) जिल्ला सभापति भेला एवं ग्राम र नगरपालिका तहसम्मको पार्टीको सांगठनीक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरु मार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधन लगायत कार्यको तयारी गरी २०७५ भाद्र महिनामा नेपाली कांग्रेस महासमितिको बैठक आयोजना गर्ने ।

. स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुर्नसंरचना मुताविक पार्टीको पुर्नसंरचना गर्न पार्टीको विधानमा समयानुकल परिमार्जनका लागि विधान संशोधन समिति वनाउने ।

४. निर्वाचनको क्रममा पार्टीको अनुशासन उल्लघंन तथा अन्तर्घात भएको कुरा विभिन्न जिल्ला अन्तरगतका निकायहरु, पार्टी कार्यकर्ता र नेताहरु तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख भएको कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित वनाउन छानवीन गरी आवश्यक प्रकृया अघि बढाउन केन्द्रीय कार्यसमितिको यो बैठक अनुशासन समितिलाई निर्देश गर्दछ ।

५. वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुले सार्वजनिकरुपमा नेपालको संविधानको प्रतिकुल हुने गरी व्यक्त गर्नु भएको धारणाप्रति हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ । स्वतन्त्र न्यायपालीका तथा अन्य संवैधानिक अंगहरुको अधिकार माथि अतिक्रमण गर्ने कार्य नेपाली कांग्रेसलाई मान्य हुने छैन । साथै, खुला लोकतान्त्रिक राजनीतिक अभ्यासमा प्रत्यक्ष वा परोक्ष कुनै पनि वाधा श्रृजना नगर्न सरकारलाई हामी सचेत गर्दछौं । संविधानले निर्धारण गरेको सिमाभित्र वसेर सरकारले गर्ने काममा हाम्रो रचनात्मक प्रतिपक्षको रुपमा सहयोग रहनेछ । कुनै पनि बाहनामा संविधानको मर्म, भावना र व्यवस्था विपरित राज्यका अंग र निकायको अधिकार केन्द्रीकृत गर्ने सरकारको कार्य नेपाली कांग्रेसलाई स्वकार्य हुनेछैन । तीनै तहका सरकारले संविधान प्रदत्त अधिकार बमोजिम जनताको सेवामा सहजरुपमा कार्य संचालन गर्न सक्ने, संवैधानिक सर्वोच्चता तथा स्वतन्त्र न्यायपालिका र वाक तथा प्रेश स्वतन्त्रता पूर्णरुपमा प्रत्याभुत हुने वातावरण सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिको यो बैठक सरकारको ध्यान आकृष्ट गर्दछ ।

६. २०७४ असोज २९ गते श्री विजयकुमार गच्छदारले नेतृत्व गर्नु भएको तात्कालिन नेपाल लोकतान्त्रिक फोरमसंग एकता गर्दा भएको सहमती अनुरुप तात्कालिन नेपाल लोकतान्त्रिक फोरमका सक्रिय सदस्यहरुलाई नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने र समायोजनका वाँकी कार्यलाई एकमहिना भित्र पूरा गरिनेछ । 

७. निर्वाचनको वेला अन्य पार्टीको क्रियाशील सदस्यता परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने व्यक्तिहरु नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिनेछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

मिति: २०७५ वैशाख १६


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.