५२ प्रतिशत कममा ठेक्का

५२ प्रतिशत कममा ठेक्का

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-२ को सडक स्तरोन्नतिका लागि ५२.२१ प्रतिशत कम रकममा ठेक्का लगाइएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले भ्याटसहित एक करोड २९ लाख ४१ हजार आठ सय रुपैयाँ लगत इस्टिमेट तयार गरेको कार्यका लागि एक निर्माण व्यवसायीले भ्याटसहित ६१ लाख ८५ हजार पाँच सय एक रुपैयाँमा ठेक्का पारेको छ।

काठमाडौंको धापासीस्थित ज्यावडन्बा कन्स्ट्रक्सन प्रालिले ठेक्का हात पारेको करिब सात महिनापछि शुक्रबारदेखि काम थालेको छ। सडक हाल ६ मिटर चौडा छ। यसमा चार मिटर कालोपत्रे छ। ठेक्का हातपार्ने निर्माण व्यवसायीले सडकलाई १४ मिटर फराकिलो पार्दै ११ मिटर चौडा ग्राभेल, सडकका दायाँबायाँ डेढ मिटर चौडा फुटपाथ र त्यसमुनि ह्युम पाइप बिछ्याउनुपर्नेछ। हाललाई दुई सय २० मिटर लम्बाइमा उक्त कार्य गर्नुपर्ने डिभिजन सडक कार्यालयकी साइट सवइन्जिनियर शिक्षा श्रेष्ठले जानकारी दिइन्।

ठेक्का रकम के कतिभन्दा पनि ठेक्कामा उल्लेख लगत इस्टिमेटअनुसार काम भए नभएको आफूले अनुगमन गर्ने र सोहीअनुसार काम भएमात्रै निर्माण व्यवसायीले भुक्तानी पाउने उनले बताइन्। ठेक्का हातपर्ने बित्तिकै काम गर्न आउँदा निर्माण व्यवसायीलाई सर्वसाधारणले रोके। सडक ओगटेका संरचना भत्काउन आएका निर्माण व्यवसायी, मजदुर र मेसिन चालकलाई सर्वसाधारणले भगाइ दिए।

एक करोड २९ लाख रुपैयाँको ठेक्का ६१ लाख ८५ हजारमा स्वीकृत भएको छ। आधाभन्दा कम रकममा गुणस्तरीय काम हुने सम्भावना कम छ।

यतिमात्रै होइन मापदण्ड ओगटेर भौतिक संरचना निर्माण गरेका सर्वसाधारणले अदालतमा मुद्दासमेत हाले। यसले गर्दा करिब ६ महिना काम हुन नसक्दा निर्माण व्यवसायी विराज तामाङले काम गर्न नसक्ने भन्दै डिभिजन सडक कार्यालयमा निवेदन नै दिएको बताए। ‘काम गर्छु भनी आधाभन्दा कम रकमले ठेक्का पार्दा पनि निर्वाध रूपमा काम गर्न पाइएन', उनले भने, ‘त्यसैले डिभिजन सडक कार्यालयमा काम गर्न नसकिने भन्दै निवेदन दिएको थिएँ तर पछि जनप्रतिनिधि नै मापदण्डभित्रको संरचना हटाउन अघि सरेपछि अहिले काम सुरु गरेका छौं।'

निर्माण व्यवसायी तामाङले आधाभन्दा बढी कममा ठेक्का हात पारे पनि कामको गुणस्तरमा कुनै कञ्जुस्याईं नगरिने बताए। ‘काम गर्दा कुनैमा नाफा हुन्छ र कुनैमा घाटा', उनले भने, ‘हाम्रो धर्म हात लागेको काम राम्रो गर्ने हो। हामीलाई खबरदारी गर्न सडक कार्यालय, जनप्रतिनिधि, सर्वसाधारण सबै छन्।' अदालतमा हालिएको मुद्दामा समेत स्थानीय हारेपछि शुक्रबारदेखि चाँगुनारायण नपा २ का वडा अध्यक्ष शिवहरि केसी आफै अघि लागेर मापदण्डभित्रका संरचना धमाधम भत्काउन थालिएको छ। उनका अनुसार केही सर्वसाधारणले मापदण्डभित्रका संरचना आफैले भत्काउने भन्दै समय मागेकाले थप एक दुई महिना ढिलाइ हुन पुगेको थियो।

वडा अध्यक्ष केसीले पनि ५२.२१ प्रतिशत कममा ठेक्का परेकाले गुणस्तरीय काम नहुने डरले आफै खटिएको सुनाए। ‘एक करोड २९ लाख रुपैयाँको ठेक्का ६१ लाख ८५ हजारमा स्वीकृत भएको छ', वडा अध्यक्ष केसीले भने, ‘आधाभन्दा कम रकममा गुणस्तरीय काम हुने सम्भावना धेरै कम छ। त्यसैले लगत इस्टिमेटअनुसार गुणस्तरीय काम गराउन हामी रातदिन नभनी खट्छौं।' यो चाँगुनारायण नपाका साविक तीन गाविस दुवाकोट, झौखेल र चाँगुनारायण पुग्ने मुख्य सडक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.