समृद्ध सहरको सपना
सहर कसको के हो ?
साधारण प्रश्न अर्थशास्त्रीहरूलाई
साधारण प्रश्न राजनीतिज्ञहरूलाई
साधारण प्रश्न विश्वविद्यालयका प्रोफेसरहरूलाई
साधारण प्रश्न घरधनी र भाडा खानेहरूलाई
साधारण प्रश्न कविहरूलाई !
जर्मन कवि हान्च उल्रिख त्राइखेलले ‘यो सहर कसको हो’ शीर्षकको कवितामार्फत प्रश्न गरेझैं ‘सहर’माथि अनेक विमर्श भएका छन्। शब्दशिल्पीहरूले ‘सहर’माथि आ–आफ्नै बुझाइ र भोगाइ लेखेका छन्। विकासविद् अनि समाजशास्त्रीहरूले ‘सहर’माथि विभिन्न शोध गरेका छन्। सात हजार वर्षभन्दा पुरानो प्राचीन सहर सिरियाको दमास्कसदेखि अहिले ‘स्मार्ट सिटी’को युगमा समाज बढिरहँदा सहर–संस्कृति र सहरीकरणको अभ्यास बहसको महत्वपूर्ण विषय बन्दै आएको छ। समृद्धिको एकसूत्रीय नारा अँगालिरहेको वर्तमान नेपालका लागि त सहर–संस्कृतिमाथिको बहस अझ सान्दर्भिक र लाभदायी हुनेछ। यस्तै सोचेर अन्नपूर्ण पोस्ट्ले १६औं वर्षगाँठ मनाइरहँदा सहर–संस्कृति र सहरीकरणको अभ्यासका अनेक पाटा विशेष संस्करणमार्फत उधिन्ने प्रयत्न गरेको छ।
के हो सहर ? विश्वकोष विकिपिडियाका अनुसार, धेरै मानिस बसोबास गर्ने ठाउँ। बाटो, खानेपानी, टेलिफोन, बिजुली सबै सुविधासम्पन्न धेरै मानिस बस्ने ठाउँ। आमबुझाइ पनि त्यही हो, विकिपिडियाले भनेजस्तै, जनसाधारणका आधारभूत सेवा र आवश्यकताको सहज र सुगम उपलब्धता भएको ठाउँ हो— सहर।
यत्तिमै सहरको बुझाइले पूर्णता पाउँदैन। सहरलाई विभिन्न कोणबाट पर्गेल्न सकिन्छ। जस्तो, एउटा विकासविद्का दृष्टिमा सहर अर्थतन्त्रको परिवर्तनले सामाजिक संरचनामा ल्याउने परिवर्तनको भौगोलिक अभिव्यक्ति हो। समाजशास्त्रले चाहिँ सडक, घर, भौतिक संरचनाभन्दा सामाजिक सम्बन्धको चरित्रका आधारमा सहरलाई परिभाषित गर्छ। राजनीतिक दृष्टिले हेर्दा सहर भनेको आधुनिक युगले विकास गरेको उत्पादन प्रणाली र विज्ञान–प्रविधिको विकास सँगसँगै मान्छेको बसोबास प्रक्रियामा आएको परिवर्तनकोे भौतिक अभिव्यक्ति हो, जुन निरन्तर गतिमा परिवर्तन हुँदै जान्छ।
सहरमाथि भएका यस्तै सैद्धान्तिक डिस्कोर्सका आधारमा आदर्श र उन्नत सहर निर्माणका केही आधारभूत मानक स्थापित छन्। सहर बन्न जनसंख्याका दृष्टिले धेरै मानिस बस्ने थलो हुनुपर्छ। नगरपालिका वा महानगरपालिका हुन त्यसैकारण न्यूनतम जनसंख्याको सीमा तोकिएको छ, नेपालमै पनि। सहरमा राज्यले आमनागरिकलाई दिनुपर्ने सेवासुविधा (जस्तो— बाटोघाटो, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, यातायात, खेलकुद, मनोरञ्जन आदि)को उपलब्धता सहजै हुनुपर्छ।
सहरहरू समृद्धिका परिचायक हुन्। यी आर्थिक रूपमा सम्पन्न र सबल हुुनुपर्छ। सहर आर्थिक रूपमा मात्रै समृद्ध भएर पुग्दैन, त्यहाँका कलाकौशल, सभ्यता र संस्कृति पनि धनी हुुनुपर्छ। आममानिसको जीवनशैलीदेखि समृद्ध सोच भएका मानिसका बस्ती बन्न सक्यो भने मात्रै त्यो ‘सहर’ कहलिन्छ।
के यी मानक छन्, हाम्रा सहरमा ? हाम्रा सहरमा यी मानक भेटिन्नन्। यातायात सेवा त छ तर त्यो सिन्डिकेटको जञ्जालमा यसरी फसेको छ, नागरिकजन दिनहुँ ठेलमठेल यात्रा गर्न बाध्य छन्। राजधानी सहरको यो हविगतभन्दा फरक अवस्था छैन, देशका अरू सहरमा पनि। विद्यालय र स्वास्थ्य संस्थाहरू छन्, भरपर्दा र विश्वासिला छैनन्। यी अत्यावश्यक सेवामा राज्यले लिएका द्वैध नीतिका कारण वर्गीय विभेद बढ्दो छ। सडक केही चौडा पारिएको छ तर सवारीसाधनको व्यवस्थापन छैन, सहरभित्रै पार्किङको समस्या, ट्राफिक अव्यवस्थापन छ। धुवाँ, धुलोका कारण पर्यावरणीय अवस्था टिठलाग्दो छ।
पूर्वाधार विकास मात्रै सहर निर्माणको ध्येय बन्नु हुँदैन। समृद्ध सहर र समृद्ध समाज निर्माण त्यतिखेर सम्भव छ; जब कला, संस्कृति र सोचमा पनि हामी धनी हुन्छौं।
प्राचीन कला–संस्कृतिको धनी उपत्यका र त्यस वरपरका सहरलाई ‘स्मार्ट सिटी’ बनाइने भनिए पनि ऐतिहासिक सम्पदाकै गतिलोसँग संरक्षण हुन सकेको छैन। २०७२ मा गएको विनाशकारी भूकम्पपछि सम्पदा पुनर्निर्माणमा जुन उदासीनता र ढिलाइ भइरहेको छ, प्राचीन र सम्पदाको सहरको परिचय संकटमा पर्ने जोखिम छ। उसै त कंक्रिटको जंगलको उपमा पाएको काठमाडौं थप अव्यवस्थित हुँदै छ। तीव्र गतिमा बढेको आर्थिक विभेदले सहरी गरिबको संख्या बढाउँदै छ। यस्ता अनेक तस्बिरहरूले उपत्यकाका सहरको समृद्धि दर्शाउँदैन।
सहर मानव जीवनलाई संगठित र समृद्ध बनाउने माध्यम बन्नुपर्ने हो। त्यसैले सहरलाई विकासविद्हरूले आर्थिक समृद्धि र विकासका इन्जिन मानेका छन्। तर, हाम्रा सहरहरू जुन ढंगले विकास गरिएका छन्, सहरहरूमा जस्तो अव्यवस्थापन छ, द्वन्द्व र वर्गहरू जन्माउँदै गएको छ, यसले राष्ट्रिय समृद्धिमा योगदान गर्न सक्ला ? संघीयताको अभ्याससँगै देशैभर सहरहरू निर्माणको प्रक्रियामा मुलुक बढ्दै गर्दा प्रश्न निकै सान्दर्भिक भएको छ।
कुनै बखत नेपाल गाउँ नै गाउँको देश भनेर चिनिन्थ्यो। अब विस्तारै नेपालको त्यो परिचय परिवर्तन हुँदैछ। नेपालमा अब जुन रफ्तारमा सहरहरू थपिँदैछन्, अब यो गाउँ नै गाउँले भरिएको देश रहनेछैन। उत्पादन र सेवाका केन्द्र सहरहरू हुन थालेपछि आकर्षण स्वाभाविक हिसाबले सहरतर्फ बढेको छ।
सरकार देशैभरि सहर निर्माणको अभियानमा छ। दुई सय ९३ नगरपालिका छन्। नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि आवश्यक न्यूतनम सेवासुविधा नहुँदै सरकारले सहरीकरणलाई अघि बढाएको छ। सरकारको योजनामा नगरपालिका हुँदै स्मार्ट सिटीसम्म बनाउने लक्ष्य छ, जहाँ एक लाखभन्दा बढी मानिस बस्छन् र योजनाबद्ध रूपमा सबै आवश्यक सेवासुविधासहितको व्यवस्थित बस्ती विकास गरिएको हुन्छ। यी कागजी योजनाको बलियो कार्यान्वयनसँग मुलुकको एकसूत्रीय सपना— आर्थिक समृद्धिको सीधा सरोकार छ।
सहर सभ्यताको आधुनिक यात्रामा हामी अग्रसर हुँदै गर्दा हाम्रा बुझाइहरू प्रस्ट हुनु अनिवार्य छ। अहिलेसम्म भएका सहरीकरणका अभ्यास र त्यसमा भएका त्रुटिबाट के सिक्ने ? हाम्रो अबको यात्रा कति सन्तुलित, पर्यावरणमैत्री, सहभागितामूलक र सांस्कृतिक चेतले भरिएको हुन्छ, त्यसमा नयाँ सहरहरूको भविष्य र मुलुकको समृद्धि–सपनाको अन्तर्य लुकेको छ। के अब हामी उन्नत र समृद्ध सहरका मानकहरू स्थापित गर्दै यात्रा अघि बढाउन सक्दैनौं ?
सक्नुपर्छ। र, त्यसका लागि हामीले चाहेजस्तो सहर निर्माणमा अग्रसर हुनुपर्छ। त्यस्तो सहर बन्नुपर्छ, जहाँ हाम्रा केटाकेटी निसंकोच पखेटा फैलाएर खेल्न पाऊन्, जहाँ चौडा सडक र पूर्वाधारसँगै सांस्कृतिक वैभव पनि होस्। सडक त छन् तर पैदल यात्रुका लागि हिँड्ने ठाउँ छैन। त्यस्तो अगतिलो पूर्वाधार भएको सहर अब हाम्रो चाहना होइन। पैदलयात्रुदेखि प्राडो चढ्ने वर्ग सबैलाई केन्द्रमा राखेर बनाइने सहर हुनुपर्छ, सरकारको प्राथमिकतामा। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका शब्दमा मृत सहर बन्ने जोखिम रहेका सहरलाई खुला र हरियाली बनाउने प्रमुख प्राथमिकता हुनुपर्छ। जनसाधारणका सबै आवश्यक र आधारभूत सेवासँगको पहँुच सुलभ र व्यवस्थित अनिवार्य सर्त नै भइहाले।
पूर्वाधार विकास मात्रै सहर निर्माणको ध्येय बन्नु हुँदैन। समृद्ध सहर र समृद्ध समाज निर्माण त्यतिखेर सम्भव छ; जब कला, संस्कृति र सोचमा पनि हामी धनी हुन्छौं। त्यसकारण सहरहरू सभ्यता र संस्कृतिका द्योतक हुन् भन्नेतर्फ पनि योजनाविद्हरूको हेक्का रहनुपर्छ। सहरहरू इतिहास, कला, संस्कृति, सामाजिक मूल्यहरूको अनुसन्धान र खोजका केन्द्र हुन सक्छन्। आज पनि विश्वका कयौं प्राचीन सहरहरूमा पर्यटकहरूको भीड लाग्छ, त्यही प्राचीन सभ्यता र संस्कृति बुझ्न। हामीले पनि हाम्रा सहरलाई वास्तुकला, कलात्मकता, संस्कृति, धार्मिक दृष्टिले संरक्षण गर्न सक्नुपर्छ।
यी र यस्तै निचोडहरू वार्षिकोत्सवमा तयार गरिएको यो विशेष परिशिष्टांकले निकालेको छ। मुलुकको समृद्धि–सपना त्यतिखेर पूरा हुन्छ, जब सहरहरू समृद्ध हुन्छन्। त्यसकारण सहर–संस्कृति र सहरीकरणको अभ्यासमाथि हामीले विमर्श छेडेका हौं। समृद्ध देश बनाउने यात्रामा यो परिशिष्टांक रचनात्मक विमर्र्श अघि बढाउन सहयोगी साबित हुने हाम्रो विश्वास छ।