गोदावरीमा एकीकृत शैक्षिक क्यालेन्डर लागू
ललितपुर : गोदावरी नगरपालिकाले विद्यालय तहमा एकीकृत शैक्षिक क्यालेन्डर लागू गरेको छ। नगर प्रमुख गजेन्द्र महर्जनले एकीकृत शैक्षिक क्यालेन्डर लागू भएको घोषणा गरेका हुन्। एकीकृत शैक्षिक कार्यक्रमसहितको क्यालेन्डर नगर भित्रका सामुदायिक तथा निजी दुबै विद्यालयमा एक साथ कार्यान्वयनमा हुनेछ।
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक भाष्कर थापाको संयोजकत्वमा गठित क्यालेन्डर निर्माण समितिको अगुवाईमा शैक्षिक क्यालेन्डर निर्माण गरिएको हो। समितिले निर्माण गरेको क्यालेन्डर नगरप्रमुख महर्जनले बुधबार सार्वजनिक गर्दै लागू भएको घोषणा गरेका थिए।
शैक्षिक क्यालेन्डर सार्वजनिक गर्दै गोदावरी नगरपालिकाका प्रमुख महर्जनले नगरलाई उत्कृष्ठ शैक्षिक क्षेत्रको रुपमा विकास गर्न तयार पारिएको शिक्षा नियमावली यसै महिना भित्र कार्यान्वयनमा ल्याउने जानकारी दिए। २०७५ चैत्र भित्र गोदावरीलाई बालमैत्री नगर घोषणा गर्न समेत उक्त क्यालेन्डर सहयोगी हुने नवज्योति माविका प्रधानाध्यापक एवं नगरस्तरीय बाल संरक्षण तथा सम्बर्धन समितिका सचिव हरिहर लामिछानेले विश्वास व्यक्त गरे।
नगर शिक्षा अधिकारी देवीलाल बिष्टले क्यालेन्डर लागू भएपछि गोदावरी नगरपालिका भित्रका विद्यालयमा बिदा, परीक्षा, अतिरिक्त क्रियाकलापमा एकरुपता आउने विश्वास व्यक्त गरे। गोदाबरी नगरपालिकाका सामाजिक विकास समिति संयोजक थापाले नगरलाई ५ वर्ष भित्र उत्कृष्ठ शैक्षिक क्षेत्रमा विकास गर्न नगर शिक्षा परिषद्बाट छिट्टै योजना निर्माण र नीति कार्यान्वयनमा ल्याउने बताए।
प्रतिक्रिया दिनुहोस !