एन्फामा कर्मा पक्षको क्लिन स्विप

एन्फामा कर्मा पक्षको क्लिन स्विप

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को १६औं निर्वाचित साधारणसभाबाट अध्यक्ष पदमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्। संघका अन्य सबै पदमा शेर्पा पक्षधरले ‘क्लिन स्विप’ गरेको छ।

ललितपुरमा शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार शेर्पाले ६३ मत पाएका थिए। कुल ७७ मतमध्ये ७६ मत खसेकोमा अध्यक्षका अर्का उम्मेदवार मणि कुँवरको पक्षमा १२ मत परेको थियो। अध्यक्ष पदमा एक मत बदर भयो।

कुँवरले भने निर्वाचन विधिसम्मत नभएको भन्दै भाग नलिने निर्णय गरेका थिए। एन्फामा लामो समयदेखि परिवर्तनको मुद्दा उठाउँदै आएका शेर्पा दोस्रो प्रयासमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। डेढ वर्षअघि विश्व फुटबल महासंघ (फिफा)ले तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा १० वर्ष प्रतिबन्ध र २१ लाख रुपैयाँ जरिवानाको कारबाही गरेपछि उक्त पदका लागि भएको निर्वाचनमा शेर्पा नरेन्द्र        श्रेष्ठसँग पराजित भएका थिए। यसैगरी तत्कालीन उपाध्यक्ष ललितकृष्ण  श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उनको स्थानमा भएको निर्वाचनबाट मणि कुँवर उपाध्यक्ष भएका थिए।

चार उपाध्यक्ष र १२ सदस्यमा पनि शेर्पा पक्षकै प्यानलले बाजी मार्‍यो। उपाध्यक्ष पदमा पंकजविक्रम नेम्बाङ ६१ मत, उपेन्द्रमान सिंह ५८ मत, कृष्णबहादुर थापा ५२ मत र वीरबहादुर खड्का ३९ मत ल्याएर विजयी भए। उपाध्यक्षका लागि नौजनाको उम्मेदवारी परेकामा विराटजंग शाहीले ३३, सुनिल राणाले २४, महमद समिउल्लाहले १५ र गणेशबहादुर चन्दले पाँच मत ल्याए। चन्दले पनि शुक्रबार मात्र निर्वाचनमा भाग नलिने बताएका थिए। उनी निर्वाचनमा मत दिनसमेत गएनन्। उपाध्यक्षका अर्का उम्मेदवार किशोर राईको पक्षमा कुनै मत परेन। उपाध्यक्षमा दुई मत बदर भएको थियो।

यसैगरी सदस्यहरूमा दावा लामाले ५६, पूर्णमान चित्रकारले ५५, दिनेश व्यञ्जनकारले ५५, दीर्घबहादुर केसीले ५५, विजय घलेले ५३, निरोज खड्गीले ५२, किरण राईले ५०, मधुसूदन उपाध्याय, प्रदेशसिंह राठौर तथा रत्नकुमार        श्रेष्ठले समान ४८ र रवीन्द्रनाथ श्रेष्ठ ४२ मत ल्याएर विजयी भए। एक महिला सदस्य पदमा यसअघि नै पेमाडोल्मा लामा निर्विरोध निर्वाचित भएकी थिइन्। ११ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको थियो।

निर्वाचनमा ४५ जिल्ला, १४ वटा ‘ए’ डिभिजन, नौवटा ‘बी’ डिभिजन र पाँचवटा ‘सी’ डिभिजन तथा खेलाडी, रेफ्री, प्रशिक्षक र महिला समितिका एक÷एक गरी ७७ मताधिकार कायम थियो। यस निर्वाचनलाई फिफा, एसियाली फुटबल महासंघ (एएफसी), युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को समेत पूर्ण समर्थन रहेको छ। निर्वाचनका क्रममा फिफासहित सबै पक्षका प्रतिनिधि सामेल थिए। एन्फाको इतिहासमा पहिलोपटक सबै पदमा निर्वाचन भएको हो। एन्फामा पछिल्लो दुई दशक एकछत्र रूपमा गणेश थापा निर्विरोध अध्यक्ष बन्दै आएका थिए।

डेढ वर्ष नरेन्द्रले उनको स्थान लिएपछि आगामी चार वर्षका लागि शेर्पाको सिंगो प्यानल एन्फाको नेतृत्वमा पुगेको हो। यस निर्वाचनलाई गणेश थापा पक्षधर र एन्फाको परिवर्तन पक्षधरको लडाइँका रूपमा समेत हेरिएको थियो। एन्फाको विधानअनुसार अब निर्वाचित कार्यसमितिको बैठकले एक महासचिव र एकजना कोषाध्यक्ष नियुक्त गर्नेछ। त्यसका लागि पनि कर्मा पक्षको सहमति भइसकेको बताइएको छ। महासचिवमा एन्फाका पूर्व प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिने बताइएको छ। जोशी अघिल्लो कार्यसमितिमा सहायक कोषाध्यक्ष थिए। एन्फाको नवनिर्वाचित कार्यसमितिको बैठक सोमबार बस्नेछ।

 हारजित ९० मिनेटको खेल

जितपछि शेर्पाले आफूहरूले उठाएको एन्फाको परिवर्तनका पक्षमा मतदान भएकोमा खुसी व्यक्त गरे। ‘यो निर्वाचन होला वा नहोला भन्नेमा सबैमा कौतूहल थियो। निर्वाचन गराउन र फुटबललाई निकास दिन वर्तमान अध्यक्ष नरेन्द्र   श्रेष्ठ र महासचिव धीरेन्द्र प्रधानले ठूलो सहयोग गर्नुभयो। फिफा, एएफसी, युवा तथा खेलकुद मन्त्रालय र राखेपबाट फुटबलको पक्षमा सहयोग भयो। यसका लागि सबै पक्ष धन्यवादका पात्र छन्’, शेर्पाले भने।

निकै संयमित देखिएका शेर्पाले एन्फाको सोमबार बस्ने कार्यसमिति बैठकले दीर्घकालीन रणानीति तय गर्ने पनि स्पष्ट पारे। ‘नेपाली फुटबलको विकासका लागि हामीले धेरै कुरा उठाएका छौं। फुटबलको अवस्था निकै कमजोर छ। निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया हो। हारेका साथीलाई पनि सँगै लिएर अगाडि जानेछु। यसलाई मैले फुटबलमा ९० मिनेटको खेलजस्तै लिएको छु। सबै मिलेर फुटबलाई अगाडि लैजाने हो। अब पछि हट्ने काम छैन’, शेर्पाले भने।

उनले सबै पदाधिकारीले तीन महिना घरको काम बिर्सेर फुटबलको वास्तविक खाका तय गर्ने, तत्काल ‘ए’ डिभिजन लिग घोषणा गर्ने; एन्फाको आर्थिक, कर्मचारी र खेलाडी नियमावली तय गर्ने, राष्ट्रिय खेलाडी र प्रशिक्षकको अवस्था बलियो बनाउने, ४५ वटै जिल्लामा ग्रासरुट फुटबलको विकास गर्ने लगायतका योजना पनि सुनाए। फुटबललाई भविष्यसँग जोड्दै शेर्पाले रातदिन फुटबलका लागि खट्ने र नेपाली फुटबलको शिर झुक्ने खालका कुनै पनि काम नगर्ने प्रतिबद्धतासमेत जनाए।

 अध्यक्ष शेर्पाको बाटो

चार वर्ष अघिसम्म एन्फामा गणेश थापाको एकल निर्णय सर्वेसर्वा हुन्थ्यो। कार्यसमितिभित्र रहेका पदाधिकारी निर्णय पुस्तिकामा हस्ताक्षर गरेर बाहिरिनुबाहेक केही थिएन। विस्तारै तत्कालीन कार्यसमितिका उपाध्यक्षसमेत रहेका शेर्पाले थापाको एकलौटी निर्णयमा विरोध जनाउन थाले। उनलाई समितिभित्रका पंकज नेम्बाङलगायत सदस्यले सहयोग गर्न थाले। बाहिरबाट विभिन्न ‘ए’ डिभिजन क्लबका पदाधिकारीले क्लब समन्वय समिति खडा गरी थापाविरुद्ध कडा कदम चाल्न थाले।

हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका शेर्पालाई क्लब समन्वय समिति बनाएर मुख्य सहयोग गर्नेमा सरस्वती युथ क्लबका अध्यक्ष शिक्षित पराजुली लगायतको भूमिका ठूलो थियो। थापाविरुद्ध आन्दोलन थालेको क्लब समन्वय समितिको लडाइँले त्यति बेला ‘ए’ डिभजन लिगमा समेत असर पार्‍यो। कतिपय पुराना क्लबले लिगमा भाग लिएनन्। शेर्पाको फुटबल परिवर्तनको नारालाई फिफा, एएफसी, जिल्ला संघका पदाधिकारी, राखेप लगायतको समर्थन रह्यो। अन्ततः शेर्पालाई चर्चित खेल फुटबलको कार्यकारी पदमा पुर्‍याई छाड्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.