सहर र पर्यावरण

सहर र पर्यावरण

मान्छेहरू सहरमा बस्न थाले भन्नुको अर्थ उनीहरू वनजंगल, कृषि, वनस्पति वा अन्य जीवजन्तुबाट टाढिए भन्ने बुझ्नुपर्छ। सहरमा बस्नेहरू बढेसँगै सहरी क्षेत्रको पर्यावरणमाथि पनि चर्चा गर्नु आवश्यक छ।

सर्वप्रथम मान्छे बाँच्नका लागि स्वस्थ पर्यावरण जरुरी पर्छ। हावा र पानी मानिसलाई नभई नहुने कुरा हुन्। स्वस्थ वायु र स्वस्थ पानी मानव जीवनका लागि आवश्यक तत्व हुन्। त्यसैले सहरका मानिसले मुख्य रूपमा ध्यान दिनुपर्ने कुरा पनि यिनै दुई हुन्। यी दुईबाहेक अर्का एउटा महत्वपूर्ण चिज पनि छ, हरियाली। हरियाली भएन भने मान्छेलाई शान्तिको अनुभूति नै हुँदैन। पानी, हावा र हरियाली तीनवटा कुरामा हरेक सहरका मानिसले सोच्नुपर्छ। के हाम्रा सहरमा यी तीनै चिज भेट्न सक्छौं ?

जब सहरमा जनसंख्या बढ्दै जान्छ तब हावा, पानी र हरियाली तीनवटै चिजमा ह्रास आउन थाल्छ। सहरी क्षेत्रमा जनसंख्याको चाप बढेसँगै त्यहाँको पानीले पुग्दैन। त्यस्तै, भएकै पानीको पनि शुद्धता घट्दै जान्छ। त्यसैले पानीको 'क्यारिङ क्यापासिटी' अनुसार सहर बसाउनुपर्छ। हावाको हकमा पनि त्यही हो।

कतिसम्मको जनसंख्या बसोवास गर्दा सहरको हावा शुद्ध रहिरहन्छ भन्ने कुरा ध्यान दिनुपर्छ। अर्कातिर, हरियाली। जनसंख्या बढ्दै जानु भनेको हरियाली घट्दै जानु हो। त्यसैले सहरको क्यारिङ क्यापासिटी एकदमै महत्वपूर्ण कुरा हो। यसबारेमा राज्य र जनाता दुवैले सोच्नुपर्छ। अहिले काठमाडौंलाई नै हेर्‍यौं भने सहरमा स्वस्थ भएर बाँच्नका लागि आवश्यक पर्ने तीनवटै कुरा भेट्न मुस्किल छ।

सहरमा बस्ने मान्छेहरूले पर्यावरणका बारेमा एकदमै ध्यान दिन जरुरी छ। कस्तो पर्यावरणमा हाम्रो जिन्दगी बिताउने भन्ने कुरामा हामी सबैले ध्यान दिनुपर्छ। मुख्यत: हाम्रो सहरबाट सबै जलचर थलचर जनावर बाहिर गए भने हाम्रो जीवन सम्भव छ कि छैन भनेर सोच्नुपर्छ। यही काठमाडौंमा पहिला कति धेरै चराचुरुंगी थिए ? अहिले चराको चिरबिर सुन्न पनि मुस्किल पर्छ। यो किन भयो त ? किनकि यहाँको पर्यावरण ध्वस्त हुँदै गयो।

अब काठमाडौं कृषि प्रधान भ्याली रहेन। यहाँ मार्सीधान फल्थ्यो। तरकारी फल्थ्यो। फलफूल फल्थ्यो। चराचुरुंगीको चिरिबिरी सुनिन्थ्यो। यी सबै हराए यो सहरबाट। न अहिले यहाँ चराचुरुंगी बस्नका लागि उपयुक्त ठाउँ छ, न अरू जनावर बस्न सक्छन्।

पर्यावरण बिग्रियो भने मानिसले भोग्नुपर्ने मुख्य समस्या भनेको स्वास्थ्यको हो, शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य। हामी सहरमा जीवन त गुजारिरहेका छौं तर यहाँको पर्यावरणले हामीलाई के असर गरिरहेको छ भनेर ध्यान दिइरहेका छैनौं। शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सहरबीचको सम्बन्धमा हामीले चनाखो हुनुपर्छ। जस्तो, काठमाडौंजस्तो सहरले अहिले मानिसको मानसिक स्वास्थ्यमा असर गरिरहेको छ।

काठमाडौं मात्र होइन नेपालका प्रायः सहर जुन रूपले विकास भइरहेका छन् त्यो हानिकारक छ। यसमा सहरमा बसोवास गर्ने मानिस र राज्यले बेलैमा ध्यान दिनुपर्छ। मुख्य रूपमा जनसंख्यालाई ध्यान दिनुपर्छ। हरेक सहरको क्यारिङ क्यापिसिटी कति हो भनेर बुझ्नुपर्छ। एकै ठाउँमा असीमित मान्छे बस्न थाले भने त्यहाँ समस्या उब्जिनु सामान्य हो।

मान्छे धेरै हुनेबित्तिकै प्रदूषण बढ्न थाल्छ। जस्तो, अहिले सहरी क्षेत्रमा अत्यधिक प्लास्टिकको प्रयोग गरिएको छ। अथवा, सहरी क्षेत्रमा यस्ता सामग्री प्रयोग गरिन्छ कि त्यो प्रकृतिमा 'रिसाइकल' नै हुन सक्दैन। कुहिएर प्रकृतिसँग मिल्न पाउँदैन। त्यसैले काठमाडौंलगायतका सहरी क्षेत्रमा प्रदूषण बढ्दो छ।

हाम्रा सहर हामीले गरेको प्रदूषण थेग्न नसक्ने अवस्थामा पुगिसकेका छन्। काठमाडौं पनि म बालक हुँदासम्म राम्रै थियो। मैले कहिल्यै पनि सोचेको थिइनँ कि काठमाडौंको हालत यो हदसम्म पुग्ला भनेर। मैले कहिल्यै सोचिनँ कि यो सहरबाट हरियाली हराइजाला, पानी किनेर खानुपर्ला र यस्तो प्रदूषणमा बस्नुपर्ला। तर, देख्नुपर्‍यो, भोग्नुपर्‍यो।

काठमाडौंको पर्यावरण जोगाउन एकदमै हतार भइसक्यो। यहाँ न हरियाली छ न स्वस्थ हावा खाँदै हिँड्न पाइन्छ। पुग्दो पानी छैन। वरिपरि कंक्रिट छन्। कुनै दिन काठमाडौंमा महामारी चल्यो भने नियन्त्रण गर्न पनि गाह्रो हुन्छ। कुनैबेला यो सहरमा स्वस्थ हावा, पुग्दो पानी र हरियाली तीनवटै चिज थिए। त्यो रहेन अहिले। जब यहाँ मानछे बढ्दै गए तब बस्नका लागि उपयुक्त रहेको यहाँको वातावरण खस्किँदै गयो। हामीले हाम्रै वातावरणलाई बिगार्दै लग्यौं।

पर्यावरणीय हिसाबले नेपालकै सबैभन्दा प्रदूषित सहर काठमाडौं होला। पर्यावरण बिग्रिएको 'इन्डिकेटर' त बागमतीलाई नै लिँदा हुन्छ। काठमाडौं सहर विकास हुँदै गर्दा यो सहरले पर्यावरणीय रूपमा धेरै कुरा गुमायो। आफ्नो संस्कृति गुमायो। पहिला पहिला मच्छिन्द्रनाथको रथमा मच्छिन्द्रनाथ राखिँदैछ भन्ने कुरा पहिले नै थाहा हुन्थ्यो। हिजोआज पत्रिका हेर्नुपर्छ। संस्कृतिसँगको हाम्रो लिंकेज नै कमजोर भयो।

हाम्रा यी जात्राहरू सबै मौसमअनुसार थाहा पाउँथ्यौँ। अर्थात्, 'मौसम क्यालेन्डर' अनुसार सबै जात्रा 'फिट' भएका हुन्थे। हिजोआज मौसममा गढबढी आयो। संस्कृति मात्र होइन 'एग्रिकल्चर' पनि यसैगरी मौसमसँग जोडिएको हुन्थ्यो। अब काठमाडौं कृषि प्रधान भ्याली रहेन। यहाँ मार्सी धान फल्थ्यो। तरकारी फल्थ्यो। फलफूल फल्थ्यो। चराचुरुंगीको चिरिबिरी सुनिन्थ्यो। यी सबै हराए यो सहरबाट। न अहिले चराचुरुंगी बस्नका लागि उपयुक्त ठाउँ छ यो न अरू जनावर बस्न सक्छन् यहाँ।

कुनैबेला यो सहरमा स्वस्थ हावा, पुग्दो पानी र हरियाली तीनवटै चिज थिए। त्यो रहेन अहिले। जब यहाँ मानछे बढ्दै गए तब बस्नका लागि उपयुक्त रहेको यहाँको वातावरण खस्किँदै गयो। हामीले हाम्रै वातावरणलाई बिगार्दै लग्यौं।

एक सय वर्षअघिसम्म विभिन्न प्रजातिका चरा बसाइँ सरेर आउँदा के रोप्ने, चराहरू बसाइँ सेरर जाँदा के रोप्ने भन्ने थाहा हुन्थ्यो यहाँका मान्छेलाई। अहिले त खोइ ? 'कर्‍याङकुरुङ आयो, काँक्राफर्सी रोप' भन्ने त उखान नै थियो पहिले। यो सम्बन्ध टुट्यो। त्यस्तै, काठमाडौंको पानीमा पनि समस्या आयो। यहाँ प्रशस्त 'वाटर रिसोर्स' थियो। काठमाडौंले गुमाएको अर्को चिज हो यो।

काठमाडौंमा बस्नेहरूलाई काठमाडौंको पानीले धान्न सकेन र मेलम्ची ल्याउनुपर्ने भयो। कुनै दिन मेलम्चीले पनि काठमाडौंलाई धान्न सक्दैन र गोसाइकुण्ड ल्याउनुपर्ने स्थिति आउनबेर छैन। काठमाडौंको हावामा शुद्धता पाइन छोड्यो। यो सहर बटुको जस्तो छ। यहाँको हावा बहेर अन्त जाँदैन। यहीँभित्र गुम्सिएर बस्छ। जनसंख्याको तीव्र वृद्धिले यहाँको हावाको शुद्धता गुम्दै गयो।

हिजोआज बानेश्वर, रत्नपार्कतिर पुग्दा छक्क पर्छु। म यही जन्ममा त छु भने सोच्न बाध्य हुन्छु। म त फेरि असनतिरै जन्मिएको मान्छे। महाबौद्धमा घर थियो। टँडिखेलबाट सेतो हिमाल देखिन्थ्यो। मंसिर, पुस, माघ, फागुन चैतसम्म हिमाल टल्किरहेको हुन्थ्यो। चैत लागेपछि हुस्सु लाग्थ्यो। त्यसपछि मात्र हिमाल छोपिन्थ्यो। हिजोआज त हिमाल देख्न पनि मुस्किल छ।

काठमाडौंको पर्यावरण किन बिग्रिँदै गयो त ? यसका केही कारण छन्। काठमाडौं जुन 'कोर' सहर थियो, समयसँगसँगै वरिपरि अरू पनि सहरी भाग थपिँदै गए। योजनाबिना नै सहरी भाग थपिए। काठमाडौंको विगत अलि फरक थियो। सानो भागमा काठमाडौं सहर थियो। त्योभन्दा बाहिर अलि ठूलो भोगमा काँठ क्षेत्र थियो। र, त्योभन्दा बाहिर जलाधार क्षेत्र थियो जुन एकदमै ठूलो थियो। सहर, काँठ र प्राकृतिक स्रोतको सन्तुलन थियो। त्यसैले काठमाडौंलाई हरियाली बनाएको थियो। स्वस्थ हावा दिएको थियो। शान्ति दिएको थियो। अहिले सहरी भाग बढ्यो। काँठको भाग घट्यो। यहाँको पर्यावरणीय ब्यालेन्स ध्वस्त हुँदै गयो।

अनलिमिटेड ग्रोथको परिणाम क्यान्सर हो। ग्रोथलाई थेग्न सकिएन भने क्यान्सर हुन्छ। सहरको मामलामा पनि त्यही हो। त्यसैले, सहरको विकास गर्दा ग्रोथलाई ध्यान दिन जरुरी छ। सहर भनेको आफैमा पृथक् इकाइ होइन। कोर सहर, काँठ (बफर) र प्रकृति तीनवटै कुरालाई सन्तुलनमा राखियो भने सहर राम्रो र सुन्दर बनाउन सकिन्छ।

यो सहरले थेग्न सक्ने जति मात्रै मान्छेलाई बसोवास गराउनुपर्छ। 'जोन' हरू छुट्याउनुपर्छ। अस्पताल, कलेज, व्यापारिक जोनहरू बनाउनुपर्छ।

पहिलो कुरा त सहर विकास गर्दा त्यो के के चिजमा आश्रित छ भनेर थाहा पाउनुपर्छ। पानीको मुहान कहाँकहाँसम्म छन्, कहाँबाट त्यो सहरमा हावा आउँछ भन्नेजस्ता विषयबारे सोच्नुपर्छ। र, अर्को महत्वपूर्ण पक्ष भनेको जनसंख्या हो। सहरको साधनस्रोतले थेग्न सक्ने जति मात्रै जनसंख्या राख्नुपर्छ।

हामीले सहरको पर्यावरण जोगाउने भनेको यहाँको हावा, पानी, हरियाली जोगाउने हो। यति भयो भने पर्यावरणीय रूपले एउटा सहर स्वस्थ हुन्छ। सहरको विकास गर्दा पर्यावरणको दोहन नै हुँदैन भन्ने चाहिँ हाइन। जंगल मासिन्छ। खेतीयोग्य जमिन मासिन्छ। तर, मानिसको स्वास्थ्यलाई ठीक हुने ढंगले सहरको पर्यावरणलाई जोगाउन पनि सकिन्छ।

सहरको विकास गर्दा त्यहाँको भूगोल र पर्यावरणलाई विशेष ध्यान दिनुपर्छ। ठाउँअनुसार सहर निर्माण फरकफरक रूपमा गर्नुपर्छ। जस्तो: कञ्चनपुरको सहर र कञ्चनजंघाको सहर फरक हुन्छ। ताप्लेजुङमा बसाउने सहर र कञ्चनपुरमा बसाउने सहर पनि फरक प्रकारले बनाउनुपर्ने हुन सक्छ। किनकि यहाँका पर्यावरण भिन्नभिन्न छन्। सहर बसाउन लाग्दा त्यहाँको प्राकृतिक स्वरूप, प्राकृतिक हावापानीलाई ध्यान दिनुपर्छ।

काठमाडौंजस्ता सहरहरूमा चाहिँ पर्यावरण जोगाउन सर्वप्रथम यहाँका मान्छे प्रतिबद्ध हुनपर्छ। मुखले एउटा भन्ने हातले अर्को गर्ने गर्नु हुँदैन। काठमाडौंलाई प्लान गरेर अघि बढ्नुपर्छ अब। यो सहरले थेग्न सक्ने जति मात्रै मान्छेलाई बसोवास गराउनुपर्छ। 'जोन' हरू छुट्याउनुपर्छ। अस्पताल, कलेज, व्यापारिक जोनहरू बनाउनुपर्छ। सबै एकै ठाउँमा अव्यवस्थित रूपले निर्माण गरियो भने पनि पर्यावरणमा असर पुग्छ।

बाहिरी देशतिर सहरसँगसँगै पर्यावरणलाई पनि जोगाउँदै लैजान्छन्। पहिलापहिला छिमेकी देशहरूले हामीबाट सिक्थे। अब छिमेकीबाट हामीले सिक्नुपर्छ। सहरी क्षेत्रको पर्यावरण जोगाउन भुटान, श्रीलंकाजस्ता देशबाट हामीले सिक्नुपर्ने धेरै कुरा छन्। जस्तो, श्रीलकांबाट हामीले ग्रिनरी सहर कसरी बनाउने भनेर सिक्न सक्छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.