कार्यालय सहयोगी नै हाकिम

कार्यालय सहयोगी नै हाकिम

लोमान्थाङ : लोमान्थाङमा रहेको इलाका प्रशासन कार्यालय कार्यालय सहयोगीको भरमा चलेको छ। राज्यको उपस्थिति देखाउन स्थानीय जनतालाई सेवा पुर्‍याउने लक्ष्यसहित कार्यालय स्थापना भए पनि यहाँ माथिल्लो तहका कर्मचारी भने शून्य छन्।लोमान्थाङ गाउँपालिका–५ का कार्यालय सहयोगी आङ्गेल गुरुङ एक वर्षयता कार्यालय खोल्ने र बन्द गर्ने भूमिकामा छन्। जरुरी काम पर्‍यो भने मात्र माथिका हाकिमलाई डाक्छन्, नत्र भइपरी आउने सानातिना काम सबै आफैंले समाधान गर्छन्।

‘म आफैंले कार्यालय खोल्छु, सानातिना काम छन् भने गर्छु र समय सकिएपछि बन्द गरेर हिँड्छु’, गुरुङले भने। शाखा अधिकृत, नायव सुब्बा, लेखापाल, खरिदार गरी सात जना कर्मचारीको दरबन्दी रहे पनि महिनौँदेखि शून्य उपस्थिति छ। उनीहरू मुस्ताङ पुगे पनि अधिकांश समय जोमसोममै बिताउँछन्। लोमान्थाङमा भने कर्मचारी अभावमा प्रशासनिक सेवा लिन समस्या झेल्नुपरेको स्थानीयको गनासो छ।

नागरिकता, प्रतिलिपि, सिफारिसदेखि राहदानी सिफारिसलगायतका काम इलाका प्रशासन कार्यालयले गर्नुपर्ने भए पनि सेवा नपाइएको स्थानीय टासी गुरुङको गुनासो छ। ‘कार्यालय मात्र स्थापना भयो। तर राज्यले खटाएका कर्मचारी ठाउँमा पठाउन सकेन’, उनले भने।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने तत्काल कर्मचारी व्यवस्थापनमा पहल थाल्ने बताएका छन्। कोरला नाका विस्तारका क्रममा रहेकाले विभिन्न गतिविधि बढ्दै गएको स्थानीयको भनाइ छ। प्रशासन व्यवस्थित गर्न राज्यले बेवास्ता गर्दै जाने हो भने नाका सञ्चालन पनि प्रभावकारी नहुने भएकाले तत्काल कर्मचारी नियमित बनाउन लोमान्थांक गाउँपालिका–५ का अध्यक्ष रिन्जिङ दोर्जे विष्टले बताए। उपल्लो मुस्ताङको छुसाङभन्दा माथिका क्षेत्र घिलिङ, चराङ, यारा, धारा, लोमान्थाङ, सुखिङ, नेचुङ, चइले, समर भेना, स्याङ्बोचे, घामी, घिलिङ, छोसेर, छोनुपवासीले इलाका प्रशासन कार्यालयबाट सेवा लिँदै आएका छन्।

म आफैंले कार्यालय खोल्छु। सानातिना काम छन् भने गर्छु र समय सकिएपछि बन्द गरेर हिँड्छु।
-आङ्गेल गुरुङ, कार्यालय सहयोगी

सन् १४४० मा स्वतन्त्र राज्य स्थापना भएदेखि मुस्ताङका प्रथम राजा आनेपाल देखि २४औँ मुस्ताङ राजा जिग्मे पर्वल विष्टसम्म यस क्षेत्रमा राजाबाट शासन चल्ने गरेको थियो। त्यो समय प्रशासनको खाँचो नपरे पनि हाल स्थानीय निकाय लोमान्थाङ गाउँपालिकाले समेत इलाका प्रशासन कार्यालयको उपस्थिति नहुँदा प्रशासनसँग समन्वय गर्न समस्या भएको विष्टले बताए। उपल्लो मुस्ताङमा बैंकिङदेखि अन्य दैनिक कामकाजमा प्रशासनको सहयोग आवश्यक पर्ने उनको भनाइ छ।

राज्यको सुरक्षा कमजोर हुँदा यस क्षेत्रका ऐतिहासिक पर्खाल, दरबार, गुम्बा र प्राचीनकला लोप हुने खतरासमेत बढ्दै गएको छ। जोमसोमदेखि करिब ८८ किलोमिटर टाढा रहेको लोमान्थाङमा अहिले पर्यटकको संख्या ह्वात्तै बढेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.