डुबान समस्या सम्बोधन गर्न गण्डकपीडितको माग

डुबान समस्या सम्बोधन गर्न गण्डकपीडितको माग

 त्रिवेणी (नवलपरासी) : गण्डक बाँधका कारण बर्सेनि हुँदै आएको डुबान र कटान समस्यालाई सम्बोधन गर्न नवलपरासीका गण्डक पीडितले नेपाल सरकारमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको दुईदिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा गण्डक पीडितले बेलाटारीमा भेला आयोजना गरी गण्डक बाँधबाट हुने डुबान र कटानको समस्या समाधान र सहमतिअनुसार पाउनुपर्ने क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन माग गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ गतेबाट नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन् ।

गण्डक पीडितले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा समेत समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका थिए । तर, अहिलेसम्म समस्या समाधानका लागि पहल नभएको भन्दै नेपाल सरकारमार्फत पुनः भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । जिल्ला प्रशासन र जिल्लाबाट निर्वाचित सांसदमार्फत पनि समस्या समाधान गर्न माग गरिएको गण्डक नदी नियन्त्रण संघर्ष समितिका सल्लाहकार प्रेमचन्द्र गुप्ताले बताए ।

समस्या समाधान गर्न नेपाल सरकारमार्फत भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भन्दै पीडितको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेसहितको प्राविधिक टोलीले गण्डक कमान्ड क्षेत्रको निरीक्षण गरेको गुप्ताले जानकारी दिए । निरीक्षणमा पीडितले जेसीकेजीपीको सातौं र आठौं बैठकले कमान्ड क्षेत्रमा गर्नुपर्ने कामको प्रतिवेदन तयार गर्न समिति बनाएको र उक्त समितिले प्रतिवेदन बुझाएको अवगत गराएको थियो ।

प्रतिवेदन बुझाएपछि सोअनुरूपका प्रमुख काम अझै सुरु नभएको भन्दै यथाशीघ्र सञ्चालन गर्न प्रजिअमार्फत माग गरेका छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार काम नहुँदा डुबान र कटान नरोकिएको उनीहरूको गुनासो छ । डुबान र कटानको अस्थायी समाधान गर्न विभिन्न स्थानका साइफन मर्मत र केही स्थानमा नयाँ निर्माण हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलको काम अझै सुरु नभएको भन्दै तत्काल सुरु गर्न प्रजिअमार्फत माग गरे ।

गण्डक बाँधका कारण ०५० सालदेखि ०६४ सालमा आएको बाढीले गण्डक कमाण्ड क्षेत्रका साविक १३ गाविस प्रभावित भएका थिए । पुराना बाँध जीर्ण भएको र समयमा साइफन सफा नगर्दा अहिले पनि उक्त क्षेत्र डुबान र कटानमा पर्दै आएको छ । बाँधका कारण पु¥याएको क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउने सहमति भए पनि अहिलेसम्म पीडितले रकम नपाएको गुप्ताले बताए । गण्डक सम्झौताअनुसार गण्डकले पु¥याउने सबै क्षति भारतले उपलब्ध गराउनु पर्नेछ ।

बाँधले साविकका त्रिवेणी सुस्ता, रुपौलिया, प्रतापपुर, नर्सही, कुडिया, पक्लिहवा, गुठिसूर्यपुरा, गुठिप्रसौनी, बैदौली, जमुनिया, सोमनी, भूजहवा र ठूलो खैरटवाका ८ हजार ४ सय ६४ घरधुरीको कुल दुई अर्ब ९३ करोड ६० लाख रुपैयाँ भारतले क्षतिपूर्तिबापत रकम उपलब्ध गराउन बाँकी रहेको सल्लाहकार गुप्ताले जानकारी दिए । क्षतिपूर्ति नपाएपछि ०६५ सालमा संघर्ष समितिले गण्डक मुख्य पश्चिमी नहरको पानी बन्द गरी ३१ दिन आन्दोलन गरेका थिए । भारतीय पक्षले क्षतिपूर्ति दिने सहमति गरेपछि आन्दोलन स्थगन भएको थियो । त्यसपछि पटक–पटक भारतीय पक्षसँग क्षतिपूर्तिका लागि अनुरोध गरिए पनि सुनुवाइ नभएकाले नेपाल भ्रमण क्रममा समस्या सम्बोधन गर्न भारतीय प्रधानमन्त्रीसमक्ष गण्डक पीडितले आग्रह गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.