जेठको पहिलो सातादेखि यार्सा संकलन सुरु हुने

जेठको पहिलो सातादेखि यार्सा संकलन सुरु हुने

रुकुम (पूर्व) : रुकुम पूर्वको बुकी पाटनमा पाइने दुर्लभ जडिवुटी यार्सागुम्बा यस वर्ष आगामी जेठको पहिलो सातादेखि टिप्न सुरु हुने भएको छ । यार्सा सिजन व्यवस्थापन समितिले जेठ पहिलो सातादेखि बुकी खोल्ने निर्णय गरेको हो । गते र दिन एकिन नगरिएको भएपनि जेठ पहिलो साताबाटै यार्सा पाइने बुकी खुला गर्नेे तयारीमा आफहरु रहेको समितिका अध्यक्ष अमरधन पुनले जानकारी दिए ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका वडा नं. १ र २ को पानीढल, फूलबारी अरविजा, जंगला, पूपाल, पूर्वाङ, भित्रिवन, उङला, निम्कु, लगायतका ठाउँमा यार्सागुम्बा पाइन्छ । यार्सा टिप्ने तयारी स्वरुप यार्साको चोरी रोक्न यार्सा पाइने बुकी तथा पाटनहरुमा सुरक्षाको टोली समेत खटाई सकिएको छ ।

गत बैशाख ५ गतेदेखि नै बुकीको यार्साको सुरक्षाको लागि भन्दै पाँच सय जना स्थानीय युवा बुकी पाटनमा सुरक्षा स्वयमसेवकको रुपमा पुगिसकेका छन् । प्रहरीसहितको युवाहरुको उक्त टोलीले बुकी नखोल्दै यार्सा चोरी निकासी हुनबाट रोक्ने छ । उम्री सकेको यार्सा कतैबाट चोरी नहोस् भन्ने उद्देश्यले युवाहरुलाई पाटनमा पठाइएको अध्यक्ष पुनको भनाइ छ । यार्सा टिप्नको लागि सर्वसाधारण पाटनमा नपुगेसम्मको सम्पूर्ण सुरक्षाको जिम्मा तिनै स्वयमसेवकको हुन्छ । 

त्यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मूख्य स्रोतका रुपमा रहेको यार्सागुम्बाको एक सिजनबाट स्थानीयले वर्षभरीको आवश्यक घर खर्च, पढाई लगायत थप आम्दनी पनि गर्छन् । एक महिना सम्म बुकीमै बिताउने उनीहरुले प्रति परिवार यार्सा टिपेर मात्रै न्युनतम ३० हजारदेखि पाँच लाख बढी आम्दानी गर्ने स्थानीय कल्याण पुनले बताए ।

यस क्षेत्रमा यार्सा संकलन गरि कमाउनका लागि जिल्लाबासीका साथै देशकै बिभिन्न जिल्लाबाट समेत सर्बसाधारण पुग्ने गरेका छन् । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्सा टिप्न जान्छन् भने पुथा उत्तरगंगा र सिस्नेको भू–भाग सहित डोल्पासम्म उनीहरु यार्सा खोज्दै पुग्ने गरेका छन् । 

यस वर्षको सिजनमा यार्सा टिप्ने एक व्यक्तिले प्रतिव्यक्ति एक हजार ५ सयका दरले कर तिर्नुपर्ने नियम बनाइएको छ । यार्सा सिजन व्यवस्थापन समितिले लिने उक्त रकम समितिले सिजनभर भैपरी आउने खर्च व्यवस्थापन र स्थानीय विकासको काममा लगाउने गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका १ र २ नम्वर वडाबासीलाई भने बुकीमा प्रबेश गर्न कुनै शुल्क लाग्दैन ।

सर्वसाधारणले आफूले भेटाएको यार्सा बुकीमै बिक्री गरेर अम्दनी गर्ने गर्छन् । एक किलो यार्सा खरिद गर्ने व्यापारीले जिल्ला वन कार्यालयमा प्रतिकिलोको २५ हजार रुपैयँ राजश्व तिर्नुपर्छ भने सिजन व्यवस्थापन समितिलाई पनि छुट्टै रकम तिर्नुपर्छ ।

तर व्यवस्थापन समितिले स्थानीय बाहेक अन्य बाहिरबाट आउने ठेकेदारको शुल्क भने निर्धारण गरिसकेको छैन । सबै यार्सागुम्बा संकलन गर्ने ठेकेदाहरु बुकीमै पुगेपछि मात्रै यसबारेको निर्णय हुने समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.